कुल ग्राहस्थ उत्पादनका आधारमा शेयर बजार ‘फेयर भ्यालू’ को अवस्थामा

✍️ सुरेन्द्र थापा
काठमाण्डौं।
९माघ, २०७७, शुक्रबार / Jan 22, 2021 17:33:pm

कुल ग्राहस्थ उत्पादनको आधारमा धितोपत्रको दोस्रो बजारको अवस्था फेयर भ्यालूमा रहेको छ । पछिल्लो समयमा आएको सुधारले धितोपत्र बजारको आकार सही अवस्था पुगेको हो ।

गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भएको अन्तिम दिन बिहीबार शेयर बजार कुल बजार पूँजीकरण ३१ अर्ब ९८ अर्ब ९५ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

यो बजार पूँजीकरण देशको कुल ग्राहस्थ उत्पादनको ८४.९५ प्रतिशत हो । अहिले देशको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रहेको छ ।

कुल ग्राहस्थ उत्पादनको कुल बजार पूँजीकरण ७५ देखि ९० प्रतिशतमा हुनु भनेको धितोपत्र बजार सन्तुलित अवस्थामा रहेको बुझिन्छ ।

त्यसैगरी धितोपत्र बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ५० देखि ७५ प्रतिशतसम्म रहेको भने समान्यतया धितोपत्र बजार ‘अण्डर भ्यालुड’ रहेको बुझिन्छ । साथै कुल ग्राहस्थ उत्पादनको तुलनामा धितोपत्र बजार १०० देखि ११५ प्रतिशतसम्म छ भने त्यो ओभर भ्यालुड भएको मानिन्छ ।

आर्थिक गतिविधिमा आएको सुस्तताले अर्थतन्त्रको वृद्धिदरमा कमी आएपनि शेयर बजारलाई भने खासै असर गरेन । पछिल्लो सयममा प्रविधिमा आधारित शेयर कारोबारले पूँजी बजारलाई झनै सकारात्मक बनाएको छ ।

अर्थतन्त्रको विपरित गतिमा भएपनि निरन्तर बढिरहेको धितोपत्र बजार हालसम्मकै ठूलो भएको छ । सार्वजनिक निष्काशनमा धितोपत्र बोर्डको १० कित्ता बाँडफाँड नीतिले शेयर बजारको विस्तार तथा जनचेतना अभिवृद्धि गरेको छ । त्यसले गर्दा पनि बजारको आकार बढ्नमा थप मद्दत गरेको छ । हाल धितोपत्र बजारको आकार ३१ खर्ब ९८ अर्ब रुपैयाँ बढी पुगेको छ ।

धितोपत्र बजारको कुल बजार पूँजीकरण बढ्नु लगानीकर्ताका लागि पनि सकारात्मक हो । नेप्से परिसूचक बढेपछि बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयरमूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तिको आकार हो ।

नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ । यो साता मात्र नेप्सेको कुल बजार पूँजीकरण ३.८५ प्रतिशतले बढेको हो ।

  • कुल बजार पूँजीकरणमा टेलिकम पहिलो नै रहँदा नबिल बैंक चौंथोमा झर्यो

शेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्ता रहेको नेपाल टेलिकम बजार पूँजीकरणमा पनि आफ्नो पहिलोे स्थान सुरक्षित राख्न सफल रहँदा यसअघि दोस्रो ठूलो बजार पूँजीकरण रहँदै आएको नबिल बैंक चौथौमा झरेको छ । नबिललाई नेपाल लाइफ र पुनर्बीमा कम्पनीले उछिनेका हुन् ।

नेप्सेमा यो साता धेरै बजार पूँजीकरण हुने १० कम्पनीमा नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स, नबिल बैंक, नागरिक लगानी कोष, एनआइसी एसिया बै.क, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमइ बैंक, एभरेष्ट बैंक र शिवम् सिमेन्ट रहेका छन् ।

यी शीर्ष दश कम्पनीको बजार पूँजीकरण नेप्सेको कुल बजार पूँजीकरणको ३६.२५ प्रतिशत हो । यो साताभर नेप्से परिसूचक ८८.०९ अंकले बढेको छ । यो साताको पहिलो आइतबार कारोबार सुरु हुँदा २२८६.५५ अंकमा रहेको नेप्से सूचक बिहीबार बन्द हुँदा २३७४.६४ अंकमा पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments