६ महिनामा झण्डै २ खर्ब वैदेशकि सहायता प्राप्त, पछिल्लो ३ महिनामै एक खर्ब बढी

-नोटबजार संवाददाता।
काठमाडौं।
२३माघ, २०७७, शुक्रबार / Feb 05, 2021 15:10:pm

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालले झण्डै पौने २ खर्बको वैदेशिक सहायता भित्र्याएको छ। अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्ममा १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता पाइसकेको जनाएको छ ।

अर्थ मन्त्रायका अनुसार पुस महिनासम्म अनुदान सहायता १८ अर्ब १२ करोड ५२ लाख ५० हजार र ऋण सहायता १ खर्ब ६९ अर्व ३१ करोड १० लाख २० हजार गरी जम्मा १ खर्ब ८७ अर्ब ४३ करोड ६२ लाख ७० हजारको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त भएको छ।

चालू आर्थिक वर्षमा सरकारले ३ खर्ब ६० अर्ब रुपैयाँ वैदेशिक सहायता लिने लक्ष्य राखेको छ। सरकारले ६ महिनाको अवधिमा लक्ष्यको करिब ५२ प्रतिशत अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त गरेको हो।

अर्थ मन्त्रालयका अनुसार कात्तिक, मंसिर र पुस महिना अर्थात् तीन महिनामा मात्रै अनुदान सहायता १० अर्ब ४४ करोड ६३ लाख ४० हजार र ऋण सहायता ९१ अर्ब ५९ करोड ५० लाख १९ हजार गरी जम्मा १ खर्ब २ अर्ब ४ करोड १३ लाख ६० हजारको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त भएको हो ।

यस्तै सरकारले २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा पहिलो चौमासिक अवधिमा ५७ अर्ब उठाइएको र दोस्रो चौमासिक अवधिमा ५६ अर्ब आन्तरिक ऋण उठाउने गरी निष्काशन तालिका स्वीकृत गरिएको पनि मन्त्रालयले जनाएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 


Share on:


Comments