महिलाले जोखिम लिन सक्दैनन् भन्ने दृष्टिकोण गलत हो - सरिता अधिकारी

-नोटबजार संवाददाता।
काठमाडौं।
१९फाल्गुन, २०७७, बुधबार / Mar 03, 2021 18:44:pm

धितोपत्रको दोस्रो बजारमा नयाँ धितोपत्र ब्रोकरको सुरुवाति प्रक्रियादेखि जोडिएकी सरिता अधिकारी (विष्ट) अहिले लिन्च स्टक मार्केटको प्रमुख कार्यकारी अधिकृत छिन् । धितोपत्र दलाल लाइसेन्सको अनुमतिका लागि परीक्षा दिनेदेखि कम्पनी स्थापना र व्यवस्थापन गर्ने जिम्मेवारी निभाउँँदै आएकी अधिकारीले ब्रोकर कम्पनी स्थापना गरेपछि शेयर बजारको दोस्रो ‘बुल’ लाई नजिकबाट हेर्दै छिन् ।

शेयर बजार सूचक घटबढ सामान्य भएपनि लगानीकर्ताले बजार प्रवेश गर्ने समयमा बजारको अवस्थालाई राम्रोसँग अध्ययन गर्न सुझाउने अधिकारी आफुले शेयरमा लगानी नगरेको बताउँछिन् । तर, सार्वजनिक निष्काशन (आईपीओ) मा लगानी गरेको बताउँदै उनले भनिन्, 'दोस्रो बजारबाट खरीद गर्नका लागि धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति लिनुपर्छ ।'

पछिल्लो समयमा धितोपत्रको दोस्रो बजारमा महिला दिदी बहिनीहरुमा सहभागीता उच्च दरमा बढेको छ । आफुले शेयर खरिद बिक्री गराईदिने काम गर्दै गर्दा पनि लगानीकर्ताको रुपमा महिलालाई देख्दा आनन्द आउने अधिकारी बताउँछिन् । धितोपत्रको दोस्रो बजारमा जोडिनु भनेको जोखिम धेरै लिनु हो ।

नेपाल स्टक ब्रोकर्स एशोसिएनको कार्यसमितिमा समेत रहेर काम गरिसकेकी अधिकारी नरेन्द्र सिजापती अध्यक्ष हुँदा महासचिव भएर काम गरिन् भने प्रियराज रेग्मी अध्यक्ष हुँदा उपाध्यक्षको जिम्मेबारीमा थिईन । लिन्चकी संस्थापक अध्यक्ष रहेकी सरीता अहिले प्रमुख जिम्मेवारीको भुमिकामा छन् ।

लिञ्च स्टक दर्तादेखि आजका दिनसम्म प्रत्यक्ष रुपमा सहभागी भएकी सरिताको धितोपत्र दलालको बाटोमा गरिएको यात्रा भने चुनौतिपूर्ण नै रहेको छ । ब्रोकर शब्द जोडिने वित्तिकै नेपाली समाजमा फकर अर्थात नकारात्मक दृष्टिकोणबाट हेरिन्छ । बजार घटेको बेला शेयर प्रवेश गरेकी अधिकारी अहिले बजारमा नयाँ माहोल सिर्जना भएको उनी बताउँछिन् । शेयर बजारलाई जिम्मेवार निकायका व्यक्तिले जुवा भनेपछि यो क्षेत्रमा जोडिएका महिलाका लागि झनै चुनौतिपूर्ण रहेको उनको अनुभव छ ।

यो क्षेत्रमा जोडिँदै गर्दा महिला भएकै कारण भन्दा पनि पारिवारिक जिम्मेवारीले समय व्यवस्थापन गर्न भने उनलाई गाह्रो भएकै हो । धितोपत्र बजार अहिले प्रविधिमैत्री भएको तथा महिलाहरुको लगानीकर्ताको सहभागिता बढेको देख्दा धितोपत्र दलाल बन्ने हिजोको निर्णय ठिक सावित भएको उनको भनाई छ ।

कार्यालयमा शेयर किन्न तथा बिक्री गर्न आउने सबै ग्राहकसँग समान व्यवहारकै कारण सरिता शेयर बजारमा सबैले रुचाइएकी पात्र हुन् । मध्यमवर्गिय परिवारमा हुर्किएकी अधिकारीको बाल्यकाल सहज नै रहेको उनी बताउँछिन् । विसं २०५० मा महेन्द्र भवन गल्स हाइ स्कुलबाट प्रथम श्रेणीमा एसएलसी पास गरेकी उनी व्यवस्थापन अध्ययन गर्न पुगिन् । शंकरदेव क्याम्पसबाट व्यवस्थापन संकायमा स्नाकोत्तर गरेकी अधिकारी करिब ९ वर्ष लगातार शिक्षिकाको रुपमा सेवा गरिन् ।

विसं २०५९ सालमा वैवाहिक जीवनमा बाँधिएकी अधिकारी विसं  २०६४ सालमा ब्रोकर लाइसेनको आवेदन दिन पुगिन् । “ त्यो समयमा धितोपत्र दलालको अनुमति लिनका लागि परिक्षा दिनुपर्ने अवस्था थियो, परीक्षा दिने दिन नजिकै थियो । सोही समयमा श्रीमान अस्पतालमा हुनुहुन्थ्यो,” उनले भनिन्,“ अस्पतालमा कुरुवा बस्नुपर्ने भएकाले परीक्षाको तयारी पनि अस्पतालमा नै गरेको हुँ ।”

अस्पतालमा बसेर गरेको तयारी काम लाग्यो । विसं २०६४ सालमा परीक्षा दिएर आठौं स्थानमा पास भएपनि त्यसको ४ वर्षपछि मात्र काम गर्ने अनुमति पइएको उनी बताउँछिन् । परीक्षा पास गरेर लाइसेन्स माग गर्दा पनि आन्दोलन गर्नु परेको तितो यथार्थ पनि उनले सम्झिइन् । आन्दोलन नै गरेपछि विसं  २०६८ सालमा लाईसेन्स पाएर उनले कारोबार सुरु गरिन् । कारोबार सुरु गरेको एक महिनामा नै बजार सूचक नेप्से २९० बिन्दुमा झर्यो ।

त्यो समयमा ५० लाख भए नयाँ ब्रोकर कम्पनी खोल्न सकिन्थ्यो । तर उनले एउटा समुह बनाएर १ करोड ५१ लाख पूँजी जुटाई कम्पनी स्थापना गरिन् । त्यो भन्दा अगाडि कहिल्यै पनि दोस्रो बजारमा लगानी समेत नगरेकी उनलाई काम गर्न केहि असहज पक्कै थियो ।

धितोपत्र दलालको कामसँगै उनले अझै पनि शिक्षण पेशालाई पनि सँगै अगाडि बढाइरहेकी छिन् । आफुले सक्दासम्म शिक्षण पेशा नछोड्ने बताउँदै उनले भनिन्,“शेयर बजारमा पनि सक्रियता कायम राखिराख्छु ।”

सरिता भन्छिन्,“आफुले जानेका सीपमा काम गर्नुपर्छ र व्यस्त रहनुपर्छ । जसले काम गर्छ, भनिन्छ निजको काम प्रति लगाव हुन्छ त्यो व्यक्ति एक दिन पक्कै सफल हुन्छ ।” लिन्चको ब्रान्च अफिस बुटवलमा पनि छ । अहिले बुटबलको शाखा हाँक्ने सबै महिला कर्मचारी मात्र छन् । सरिताले हाल ३० जनालाई रोजगारी समेत दिएकी छिन् । महिलाले काम गर्न नसक्ने भन्दा पनि जोखिम लिन सक्दैनन् भनेर कमजोर दृष्टिकोण राखिनु गलत रहेको उनको भनाइ छ ।

अन्जना सुवेदीसँगको कुराकानीमा आधारित

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।



Share on:


Comments