बैंकहरुले ब्याजदर बढाउन थाले, ट्रेजरी र अन्तर बैंकदर यो आवकै उच्च

-नोटबजार संवाददाता।
काठमाडौं।
१बैशाख, २०७८, बुधबार / Apr 14, 2021 13:57:pm

बैंकिङ प्राणालीमा ट्रेजरी बिल र अन्तर बैंक दर यो आर्थिक वर्षकै उच्च विन्दु्ु्मा पुगेको छ । बैंकहरुमा तरलता संकुचन भएपछि नियामकीय पालनाका लागि बढीदरमा सापट लिने तथा सरकारी ऋणपत्रमा उच्च प्रतिफल माग गर्दै आवेदन दिन थालेपछि यी दरहरु बढेका हुन् ।

बैंकहरुले तरलताको अवस्था व्यवस्थापन गर्नका लागि अन्तर बैंक सापटि तथा नेपाल राष्ट्र बैंकबाट ओभरनाईट रिपो प्रयोग गर्छन् । त्यसैगरी तरलतामा रहेको अधिक रकम सरकारी ऋणपत्रमा लगानी गर्ने गर्छन् । त्यती मात्र नभई नेपाल राष्ट्र बैंकले तरलताका लागि तोकेको रकम पनि सरकारी ऋणपत्रमा लगानी गर्छन् । बैंकिङ प्रणालीको तरलताको अवस्था ट्रेजरी बिलको रेट तथा अन्तर बैंक दरले स्पष्ट देखाउने गर्छ ।

वित्तीय प्रणालीमा अधिक तरलता हुँदा सरकारी ऋणपत्रमा अधिक माग हुने तथा ब्याजदर पनि न्यून हुने गर्छ । त्यसैगरी अन्तर बैंक सापटीको दर न्यून भएको खण्डमा अधिक तरलता र उच्च भएको खण्डमा तरलता संकुचन भन्ने बुझिन्छ । तर, चैत महिनाको पछिल्लो साता अन्तर बैंक दर र ट्रेजरी बिलको रेट यो वर्षकै उच्च भएको अवस्था छ ।

सोमबार अन्तर बैंक दर ४.३४ प्रतिशत रहेको छ भने मंगलबार निष्काशन भएको ९१ दिने र १८२ दिने ट्रेजरी बिलको औसत रेट क्रमशः ३.३७ र ३.६१ प्रतिशत कायम भएको छ । यो दर चालु आर्थिक वर्षको हालसम्मकै उच्च हो ।

पछिल्ला दिनहरुमा बैंकहरुमा तरलता मात्र नभई कर्जा लगानी योग्य रकमको अवस्था समेत कसिलो रहेको छ । बैंकहरुले नयाँ निक्षेपका लागि ब्याजदर समेत बढाउन थालेका छन् । तरलता संकुचन भएपछि अन्तर बैंक र ट्रेजरी बिलको दर उच्च गतिमा बढेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देबकुमार ढकालले बताए ।

अन्तर बैंक र ट्रेजरी बिलको दरमा आएको सुधारले बैंकिङ प्रणालीको ब्याजदर बढ्ने ढकालको भनाई छ । “केही बैंकहरुले बैंशाख देखि लागु हुने गरी ब्याजदर बढाइसकेको अवस्था छ,” ढकालले भने, “तरलता कसिलो अवस्थामा रहेका बैंकहरुले ब्याजदर बढाई नै सकेको अवस्था छ ।” अन्तर बैंक ब्याजदर ४ प्रतिशत भन्दा माथि जानु र ट्रेजरी बिलको रेट यो वर्षकै उच्च हुनुले पनि ब्याजदर बढ्न थलिसकेको उनको भनाई छ ।

सोमबार अन्तर बैंक दर ४।३४ प्रतिशत रहेको बताउदै ढकालले भने, “अहिले पुनरकर्जाको रकम र केन्द्रीय बैंकले घटाएको नगद सञ्चिती अनुपात९सीआरआर०का कारण केही समय सहज देखिएको मात्र हो । नत्र भने तरलता संकचुन कै अवस्थामा छ ।” बैंकहरुले चालु आर्थिक वर्षको सुरुसुरुको चरणमा आक्रमक भएर अनुत्पादक क्षेत्रमा लगानी गरेको अवस्था थियो । चालु आवको मंसिर–पुससम्ममा अन्य क्षेत्रमा कर्जाको माग नभएपछि अनुत्पादक क्षेत्रमा सोचे भन्दा धेरै कर्जा गएको उनी बताउँछन् ।

चालु आवको दोस्रो त्रैमासपछि भने अन्य क्षेत्रमा पनि कर्जा गएको ढकालले बताए । कोरोनाका कारण रोकिएको आयात अहिले आएर बढ्न थालेपछि पनि आयातका लागि कर्जा धेरै गएको देखिन्छ । “केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाले प्रबाह गर्ने क्षेत्रगत कर्जालाइ गम्भिर रुपमा हेरिरहेको छ,” ढकालले भने,“उद्देश्य भन्दा बाहिर गएको कर्जालाई मोनिटर नै गर्नुपर्ने स्थिती देखिन्छ,” । पछिल्ला दिनमा तरलता संकुचन हुनुको कारण आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा भएको अनुत्पादक क्षेत्रको उच्च लगानी पनि एक रहेको उनी बताउँछन ।

अहिले बैंकहरुले कर्जा दिनका लागि नयाँ निक्षेप लिनुपर्ने अवस्था छ । धेरैजसो बैंकहरुको पूँजी, कर्जा तथा निक्षेप पनि ८५ प्रतिशतको हाराहारीमा पुगेको छ । यसले गर्दा पनि कर्जा लगानी योग्य रकम पनि अभाव छ । बैंकहरुले नयाँ कर्जा दिन नयाँ निक्षेप लिनु पर्नेछ । नयाँ निक्षेपका लागि हालको ब्याजदरलाइ बढाउनु पर्छ ।

बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढ्नु सकारात्मक रहेको बताए । “राष्ट्र बैंकको चाहाना पनि बचतकर्तालाई न्याय होस भन्ने हो,”उनले भने, “अहिले बचतकर्तालाई दिइएको ब्याजदर अति नै न्यून थियो ।” बचतकर्तालाई न्याय गर्ने उद्देश्यले राष्ट्र बैंकले बचत र मुद्दती निक्षेपको ब्याजदर अन्तर ५ प्रतिशत हुनु पर्ने व्यवस्था ग¥यो । तर, त्यसमा बैंकहरुले चलाखिका साथ मुद्दतीको ब्याजदर समेत घटाएर बचतको ब्याजदर एक प्रतिशतमा झारे । अब बैंकहरुको त्यो चलाखिले काम नगर्ने बताउदै उनले भने,“बचत र मुद्दती निक्षेपको ब्याजदर अन्तर ५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्थाले अब काम गर्छ ।”

आगामी दिनमा बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्तालाई राहत मिल्ने अवस्था देखिएको छ । राष्ट्र बैंकले नीतिगत हस्तक्षेप गर्दा समेत बैंकहरुले चलाखी अपनाएर बचतकर्तालाई उपेक्षा गर्दै आएको भएपनि वित्तीय प्रणालमिा तरलता संकुचनको अवस्थाले बचतको ब्याजदर बढ्ने भएको छ । कर्जाको माग उच्च हुने र बैंक वित्तीय संस्थामा कर्जा लगानी योग्य रकम खुम्चिने संकेत देखिन थालेपछि निक्षेपकर्ताको अनुहारमा केही चमक देखिन थालेको छ ।

सोमबार वित्तीय प्रणालीमा ३४ अर्ब रुपैयाँ तरलता रहेकोमा मंगलबार ५१ अर्ब छ । बैंकहरुले नेपाल राष्ट्र बैंकवाट ओभरनाइट रिपो वा एसएलएफ लिएको अवस्थामा पनि तरलता बढ्ने बताउदै ढकालले भने,“बैंक वित्तीय संस्थाले अफुसंग भएको डलर केन्द्रीय बैंकलाई बिक्री गरे भने पनि तरलता बढ्छ । साथै नेपाल सरकारले जारी गरेका नागरिक बचत पत्र, विकास ऋणपत्र त्यसको परिपक्क हुने समयमा पनि तरलता बढ्न जान्छ ।”

अन्तर बैंक दुइ दिनको अन्तरमा दर २.७७ वाट एकैपट ४.३४ प्रतिशत पुगेको छ भने टी बिल दर पनि एकैपटक माथि गएको छ । सीआरआर मेन्टेन गर्नका लागि छोटो अवधिको पैसा बजारमा आउँदा तरलताले बढेको बताउदै ढकालले भने, “यस्तो रकम कर्जा प्रबाह गर्नका लागि प्रयोग हँुदैन । कर्जा लगानी योग्य रकमका अभाव बढ्दो क्रममा नै देखिएको छ ।”

गत आर्थिक वर्षको तेस्रो त्रैमासपछि कोरोनाका कारण बैंक वित्तीय संस्थामा कर्जाको माग शुन्य रहेपनि निक्षेप भने दैनिक रुपमा थपिँदै गयो । वित्तीय प्रणालीमा अधिक निक्षेप थपिएपछि बैंकहरुले ब्याजदर घटाई बचतमा एक प्रतिशतसम्म झारेका छन् । पछिल्ला दिनहरुमा यसमा केही सुधार आउने क्रम सुरु भएको छ ।

सस्तो ब्याजदरका कारण बैंकिङ प्रणालीमा रहेको पैसा पनि बाहिरिन थाल्यो भने बैंकले पनि लगानी विस्तारका लागि आक्रमक हुँदा अनुत्पादक क्षेत्रमा पनि लगानी उल्लेख्य बढाए । त्यसले लगानी योग्य रकम अभाव, तरलता संकुचन समस्या ल्यायो । यो अवस्थामा बैंकहरुले नियामकीय परिपालना तथा व्यवसाय विस्तारका लागि ब्याजदर बढाई नयाँ निक्षेप तान्नुको विकल्प छैन ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments