कोरोनाको त्रास अनि पठाओमा दर्ता नभएको मोटरसाइकलमा मेरो 'राइड शेयरिङ'

विजया बास्कोटा ।
काठमाण्डौं ।
१५बैशाख, २०७८, बुधबार / Apr 28, 2021 14:55:pm

नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएपछि अहिले अवस्था त्रसित बनिरहेको छ ।

आम सर्वसाधारणको चहलपहलमा सामान्य कमी मात्र आईरहेका बेला देशका विभिन्न जिल्लाहरुमा बिहीबारदेखि लकडाउन जारी हुँदैछ ।

संक्रमण दर बढ्दै गइरहेका बेला सार्वजनिक यातायातका साधनको संख्या न्यून हुनु स्वभाविक नै हो । भीडभाड हुने भएकाले रुची नहुँदा नहुँदै पनि बाध्यताले धेरैले सार्वजनिक सवारी साधनलाई आफ्नो गन्तव्यको सहयात्री बनाइरहेका छन् । यस्तो बेला संक्रमण बढेपछि वैकल्पिक माध्यमका रुपमा राइड शेयरिङ सेवा प्रदायकहरु अधिक प्रचलनमा रहेका छन् । अझ त्यसमा पनि पठाओले ठूलो हिस्सा ओगटेको छ ।

लकडाउन सुरु हुने अघिल्लो दिन अर्थात आज घरबाट बाहिर निस्किएपछि सार्वजनिक यातायातका साधन ज्यदै न्युन भएको देखें । भक्तपुरबाट बानेश्वर आउनु पर्ने म, कोचाकोच गरेर सीमित संख्यामा चलेका सार्वजनिक सवारी साधन देखेर त्रसित मानसिकतामा मोबाइलको स्क्रीन थिच्न थालें ।

पठाओ एपमा राइड शेयरिङका लागि रिक्वेस्ट बटन दबाएर धेरै समय पर्खिँदा पनि राइडरहरु देखा परेनन् । केही समयपछि झण्डै ३ किलोमिटर टाढाबाट एक जनाले रिक्वेस्ट एसेप्ट गरेर फोन गरे, “तपाई कहाँ हुनुहुन्छ ?”

“मेरो लोकेशन देखाएको छैन र ?” प्रश्न सोध्दै मैले आफु उभिएको स्थानको जानकारी दिएँ । झण्डै १५ मिनेटको पर्खाइपछि रातो रङको पल्सर मेटरसाइकलमा एक जना मेरो नजिक आएर मलाई फोन गरे । पठाओको मोबाइल एपमा उल्लेख भएको भन्दा फरक नम्बरको मोटरसाइकलमा आएका ती व्यक्तिलाई हातले इशारा गर्दै आफुतिर बोलाएँ अनि सोधें, “पठाओमा देखाएको मोटरसाइकल होइन त यो ? मैले तपाईसँग कसरी यात्रा गर्न मिल्छ ?”

उनले प्वाक्क जवाफ फर्काए, “मैले राइड रिक्वेष्ट एसेप्ट नगरेको भए तपाई अझै धेरै समय पर्खिएर बस्नुपर्ने थियो ।”

उनको त्यो जवाफले मलाई अवाक बनायो । एकछिन चुप लाग्न बाध्य भएपछि मनमा प्रश्नको चाङ हुँदा हुँदै पनि मैले कुनै प्रतिप्रश्न गरिन ।

चुपचाप उनको मोटरसाइकलको पछाडि बसेँ । विस्तारै मोटरसाइकल हुइँकियो । धेरै आवाज निकालेर मोटरसाइकलको गति बढाउन थालेपछि मैले उनलाई विस्तारै जान भनेँ ।

अघि बढेको केही बेर चुपचाप बसेकी म, शान्त भएर बस्न मनले कहाँ मान्थ्यो र ? सिधै दुर्घटनाको विषय जोडेर प्रश्न तेर्साइहालें, “अहिले मलाई लिएर जाँदै गर्दा तपाईले मोटरसाइकल लडाउनु भयो वा अरु केही भयो भने के हुन्छ ?”

उनले जवाफ दिन खासै जरुरी ठानेनन् वा रुची देखाएनन्, “खै, त्यस्तो भएको छैन” भन्ने सामान्य प्रतिकृयामा जवाफलाई पूर्णता दिन खाजे ।

मैले फेरि सोधें, “अरु कसैले यस्तो प्रश्न सोधेको छ कि छैन ?”

“अर्कै नम्बरको मोटरसाइकल किन ल्याएको भनेर चैं सोध्छन् ।” उनले जवाफ फर्काए ।

मोबाइलको स्क्रीनमा खुलेको पठाओ एप हेर्दै उनको अरु विबरण देखेपछि थाहा भयो अहिलेसम्म उनले १५ हजारभन्दा बढी पटक राइड शेयरिङ गरिसकेका रहेछन् ।

“१५ हजार पटक तपाईले पठाओमा दर्ता नै नभएको अवैध मोटरसाइकलबाट सेवा दिँदा कुनै अफ्टेरो परेन ?” पछाडिबाट टाउको अघिल्तिर तन्काउँदै अलि ठुलो आवाजमा मैले सोधें ।

“यो मोटरसाइकल दर्ता गर्न मिलेन । त्यही भएर अर्को मोटरसाइकललाई पठाओमा दर्ता गरेर यो चलाएको हो । अहिलेसम्म केही अफ्टेरो भएको छैन ।” उनले सहर्ष आफ्नो गल्ती स्वीकार गरे ।

“पठाओले दिएको बीमा सुविधा दाबी गर्ने अवस्था आयो भने के गर्नु हुन्छ ?” उनको कुरो सकिन नपाउँदै मेरो मुखबाट अर्को प्रश्न उछिटिट्यो ।

“खै अहिलेसम्म परेको छैन ।” केही बेरको मौनता पछि उनले सुस्त आवाजमा अघिको जस्तै सामान्य प्रतिकृया दिएर विषय अर्कैतिर मोडिए हुन्थ्यो भन्ने भाव प्रकट गरे ।

“तपाईले अवैध मोटरसाइकलबाट पठाओ सेवा दिएको विषयमा मैले पठाओमा कम्प्लेन गरे भने नि ?”

“असहज बेलामा सेवा दिँदैछु, तपाई धेरै बेर पर्खिएर अफिस जाँदै हुनुहुन्छ । आजको हकमा म तपाईबाट त्यस्तो अपेक्षा गर्दिन । यदि तपाईले त्यस्तो कम्प्लेन गरिदिनु भयो भने मैले पठाओ गर्न पाउँदिन । अरु काम छैन । धेरै भए गाउँ फर्किन पर्ला ।”

मैले शर्त राखें, “तपाईको सबै डिटेल मसँग छ, अरुलाई अनकम्फर्ट हुने किसिमले दिइरहनु भएको सेवामा सुधार गर्नुपर्छ, नत्र म पठाओ मात्र होइन, ट्राफिकमा पनि कम्प्लेन गर्छु ।”

“अब आज मात्र त हो । लकडाउन भरी केही गर्न मिल्दैन । त्यसपछि म यो मोटरसाइकललाई पठाओमा दर्ता गर्छु ।”

“पक्का ?”

“पक्का ।”

     * * * * * * * * * * * * * * * * * * * *

अर्डर रिक्वेष्ट गर्ने समयमा साविकको भन्दा धेरै शुल्क देखाएको याद आयो । मैले फेरि राइडरसँग सोधें, “ए साँच्ची, अस्ति अस्तिको भन्दा धेरै पैसा लाग्ने भएको रहेछ नि, किन हो ?”

“अहिले कोरोनाले गर्दा लकडाउन हुने भएपछि सबैजसो राइडरहरु गाउँ गएका छन् ।”

“राइडर घर जाँदा मूल्य किन धेरै नि ?”

“म अहिले तपाईलाई लिन ३ किलोमिटर टाढाबाट आएको । राइडर नभएकाले तपाईजस्तै अरुलाई लिन टाढा-टाढा जानु पर्छ । सेवा माग्ने धेरै छन्, तर राइडर छैनन् । त्यही भएर कम्पनीले अरु बेलाको भन्दा अलि धेरै पैसा तोकेको हो ।”

“अनि जतिबेला मन लाग्यो उतिबेलै यसरी शुल्क घटाउने बढाउने गर्न पाइन्छ त ?” उनी रोकिन नपाउँदै सोधिहालें ।

“खै त्यो त मलाई थाहा भएन, मूल्य हामीले तोक्ने होइन । एपमा उताबाट नै शुल्क फेरिन्छ ।”

“ल ठिक छ ।” मैले सुस्तरी भने । “१२० को शुल्क १५० रुपैयाँ पुगेपछि तपाईको पनि कमाई राम्रै बढ्ने भयो नि ।”

“जोखिम पनि त मोलेको छु नि ।” मेरो कुरा सकिन नपाउँदै उनले जोसिएर जवाफ दिइहाले ।

समय समयमा पठाओ चालक र ट्याक्सी चलक बिच हुने गरेको झडप मानसपटलमा घुमिरहेको थियो ।

अर्कातिर बानेश्वरस्थित आफ्नो कार्यालय नजिकै रहेको पठाओको कार्यालयमा राइडरहरुले कमिशन, सेवा शुल्क लगायतको विषयलाई लिएर गरेको प्रदर्शन पनि सम्झिएपछि पठाओ राइडरले वास्तवमा कति आम्दानी गर्छन् भन्ने जान्न मन लाग्यो ।

“अनि तपाईले एक दिनमा कति ट्रिप भ्याउनु हुन्छ ? १५ हजार ट्रिप भ्याईसक्नु भएछ ।”

“मैले पठाओ गर्न थालेको ६ महिना भयो । अरु काम गरिँदैन । कम्तीमा २५ देखि ३० ट्रिपसम्म गरिरहेको छु ।”

“ओ हो, भनेपछि भक्तपुरमा जग्गा किन्ने होला नि अब ?” दैनिक कमाइका बारेमा सिधा प्रश्न नगरी उनीबाट जवाफ पाउने अपेक्षा गर्दै व्यंगात्मक शैलीमा सोधें ।

“पठाओ गरेर आजको भोलि कसरी जग्गा किन्न सक्नु नि । तर आम्दानी राम्रो छ । दिनमा कम्तीमा पनि पन्ध्र सय देखि २ हजार रुपैंया बस्छ । कहिले काँही त ४ हजारसम्म पुगेको छ । तर बिहानदेखि रातीसम्म खटिनुपर्छ ।”

“अहिले मैले तिर्ने डेढ सय रुपैंयामा तपाईको भाग कति हो नि ? पठाओलाई कति दिनुहुन्छ ?”

“१२० रुपैयाँ मलाई हुन्छ, ३० रुपैयाँ भोलि बिहान ११ बजेभित्र पठाओलाई बुझाई सक्नुपर्छ । ८० प्रतिशत हामीले राखेर पठाओलाई २० प्रतिशत दिने हो । पेट्रोल इन्टरनेट जस्ता खर्च हामीले नै व्यहोर्न पर्छ ।”

“भोलि त लकडाउन हुन्छ, कसरी बुझाउने ?”

“ए हो त, बेलुका सबै हिसाब निकालेर फोन गरेर जानकारी गराउने हो । अनि मिल्यो भने भोलि हालिदिने हो ।”

“नगदमा उठाएको पैसा पठाओलाई कसरी दिनु हुन्छ नि ?”

“दिनमा एक पटक बैंक पुग्न पर्छ, बिहान । आफ्नो खातामा पैसा जम्मा गर्ने अनि पठाओको खल्ती खातामा पठाइदिने हो । ११ बजेसम्म पैसा पठाइएन भने ७ दिनलाई सस्पेण्ड गर्छन् । म चाँहि अहिलेसम्म परेको छुइन । धेरै ट्रिप गर्नेमा म पनि पर्छु । त्यही भएर होला फोन गरेर समस्या बताएपछि सस्पेन्ड भएको छैन ।”

“पुर्वेली टोनमा बोलिरहनु भएको छ, घर चाँहि कता हो नि तपाईको ?”

“खोटाङ, हलेसी ।”

“छिमेकी परिएछ, मेरो पनि ओखलढुङ्गा हो नि ।” अझै नजिक भएर कुरा गर्न खोजें, “तपाईले पठाओ एपबाट रिक्वेष्ट नआई सिधै पठाओ डिल गरेर ड्रप गर्नु भएको छैन ? यस्तो पनि हुन्छ रे त ।”

“धेरैले त्यस्तो गर्छन भन्ने सुनेको छु । मैले चाँहि अहिलेसम्म गरेको छैन । ट्याक्सीले जसरी चोक चोकमा कुरेर सिधै डिल गर्ने समय पनि हुँदैन । कमाउने अरु बाटो नभएका बेला भएको कमाउने बाटो बिराउनु पनि भएन नि ।”

“पठाओमा दर्ता नै नभएको मोटरसाइकलबाट सेवा दिँदा बाटो बिराइएन त ?” मैले उनको कमजोरीलाई फेरी औंल्याउँदै सोधें ।

“अहिले केही दिनदेखि मात्र हो यो मोटरसाइकलमा काम गरेको । भोलिको लकडाउन सकिए पछि यो मोटरसाइकल नै दर्ता गर्ने हो ।”

“तपाईको यो मोटरसाइकलको कर चुक्ता भएको छैन हो ? ब्लू बुक नबीकरण नगरेको कति भयो ? नत्र त यस्तो गर्नु पर्ने थिएन होला ।” अझै भित्रसम्म गएर सोध्ने आँट गरें ।

उनले कुनै प्रतिकृया दिन चाहेनन् । मौनतालाई जवाफका रुपमा लिन खाजेको आभाष भइरहेको थियो ।

राजधानीको बसाई, भने जस्तो आम्दानीको स्रोत नहुनुले गर्दा उनले अरु कसैको वा आफ्नै मोटरसाइकल पठाओमा दर्ता गरेर त्यो मोटरसाइकलबाट नभई अर्कोेबाट सेवा दिँदै आम्दानी गरिरहेको कुरा उनीसँगको सुरुवाती कुराले बुझाई सकेको थियो ।

“अरुले पनि तपाईले जस्तै अर्कै अर्कै मोटरसाइकलबाट ट्रिप गर्छन् होला नि है ?”

“यस्तो विषयमा कोहीसँग कुरा नै हुँदैन । सुनेको मात्र हो । अरुले गरेको देख्या चैं छैन ।”

मोटरसाइकल दर्ता नभएको विषयमा धेरै भित्र जान खाजेपछि राइडर कम बोल्न थाले । मैले विषय अर्कैतिर लग्दै सोधें, “अनि तपाईको मोटरसाइकलमा राखेको यो मोबाइलमा इन्टरनेट कसरी चलाउनु हुन्छ ?”

“एनसेलको सिमबाट चलाउने हो । सय रुपैयाँले एक हप्ता पुग्छ ।”

कुरा गर्दै आउँदा नयाँ बानेश्वर आईसकिएको थियो । आईप्लेक्स नजिकै मलाई ड्रप गरेर राइडरले आफ्नो मोबाइलमा ट्रिप इण्ड गरे । ट्रिपमा देखाए अनुसार मैले उनलाई १५० रुपैयाँ नगद दिएँ । उक्त नगद समात्न नपाउँदै उनको मोबाइलमा चर्को आवाजमा घण्टी बज्न थाल्यो ।

मैले सोधें, “अनौठो घण्टी ठुलो आवाज बज्यो नि ?”

“कोरोनाले गर्दा राइडर कम छन् अहिले, त्यही भएर फुर्सद नै पाइन्न । तपाईलाई यहाँ छाडियो, अर्को राइड रिक्वेष्ट चाबहिलतिरबाट आयो । अब लिन जानै पर्यो ।”

“ओके जानुस्, तर यो मोटरसाइकल पठाओमा दर्ता गर्नुस है । नत्र कम्प्लेन गर्छु नि ।” मैले हाँस्दै भने ।

“हुन्छ, गर्छु ।”

यति भनेर उनी आफ्नो गन्तव्यतिर हुृईकिए । म कार्यालयतिर लागें ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments