विशिष्टिकृत लगानी कोष व्यवस्थापनका लागि पुर्वाधार बनाउन पाँच संस्थालाई बोर्डको अनुमति

Note Bazar १९बैशाख, २०७८, आईतवार / May 02, 2021 19:00:pm

विशिष्टिकृत लगानी कोष स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा काम गर्ने पुर्वाधार तयार गर्नका लागि नेपाल धितोपत्र बोर्डले पाँच वटा संगठित संस्थालाई अनुमति दिएको छ ।

विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम विशिष्टीकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा अनुमतिपत्र प्राप्त गर्न नौ संगठित संस्थाले निवेदन दिएकोमा बोर्डले ५ वटालाई पुर्वाधार तयार गर्ने अनुमति दिएको हो ।

नियमावली बमोजिमको आवश्यक कागजात तथा विवरण पेश गर्ने ग्लोवल इक्विटी फण्ड प्रा. लि., लक्ष्मी क्यापिटल मार्केट लि., एनआइविएल एस क्यापिटल लि., एनआइसी एशिया क्यापिटल लि. र एनएमबी क्यापिटल लि.लाई कोष व्यवस्थापकको रुपमा अनुमति प्रदान गर्न आवश्यक पूर्वाधार तयार गर्न स्वीकृति दिएको हो ।

नेपालमा पहिलो पटक विशिष्टिकृत लगानी कोषको स्थापना तथा संचालन गर्नका लागि यस्ता कोष व्यवस्थापकलाई अनुमति प्रदान गर्न लागिएको बोर्डले जनाएको छ । नेपालको पूँजी बजारमा हाल शेयर, डिवेञ्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै पूँजी परिचालनको नयाँ बैकल्पिक उपकरणको विकास हुने अपेक्षा गरिएको छ ।

यसबाट स्टार्ट अप व्यवसायमा पूँजी परिचालन हुने, निजी क्षेत्रको श्रोत परिचलान हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा बृद्धि भई धितोपत्र बजारमार्फत् अर्थतन्त्रमा थप टेवा पुग्ने बोर्डले विश्वास लिएको छ ।

धितोपत्र बजारको विकास र विस्तारको लागि विभिन्न वित्तीय उपकरणहरुको विकास गरी संचालन गर्ने क्रममा नयाँ वित्तीय उपकरणको रुपमा अन्तर्राष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र संचालनका लागि बोर्डबाट विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू भएको थियो ।

प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल जस्ता कोषहरुमार्फत् पूँजी परिचालन भई नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा वौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई संचालन गर्न र नयाँ व्यवसाय, उद्यमहरुलाई शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गरी लगानीको नयाँ अवसरहरु प्रदान गर्न ढाकाहरु खेल्छन् ।

यस किसिमको कोषको स्थापना र संचालनले पूँजी बजारको दायरा फराकिलो हुने, पूँजी बजारमा नयाँ एंव आधुनिक वित्तीय उपकरणको प्रयोग हुने, नवीनतम उद्यम व्यवसाय संचालनका लागि स्वदेशी तथा विदेशी पूँजी जुटाउन सहयोग पुग्ने र लगानीकर्ताहरुलाई नयाँ लगानीको अवसर प्राप्त भई देशको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments