मर्जर तथा एक्विजिशनको पहल नगर्नेमा अधिकांश विदेशी लगानीका बैंक

-सुरेन्द्र थापा
काठमाडौं।
२१बैशाख, २०७८, मंगलवार / May 04, 2021 19:17:pm

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको संख्या घटाउन मर्जर तथा एक्विजिशनको नीति लिएको एक दशक बितिसक्दा पनि विदेशी लगानी रहेका अधिकांश बैंकहरु मौन रहेका छन् ।

यी बैंकहरुले विदेशी लगानीकर्ताको शेयर स्वामित्व घट्ने भएपछि मर्जर तथा एक्विजिशनलाई जोड नदिएका हुन् । विदेशी लगानीकर्ताले शेयर स्वामित्व घट्न सक्ने भएकाले मर्जर तथा एक्विजिशनको नीति अबलम्बन नगरेको देखिन्छ ।

एक दशकको अवधिमा विदेशी लगानी रहेका स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसविआई बैंक, नबिल बैंक, हिमालयन बैंक र नेपाल बंगलादेश बैंकले मर्जर तथा एक्विजिसन मार्फत कुनै पनि संस्था लिएका छैनन् । त्यसैगरी सरकारी लगानी रहेका कृषि विकास बैंक र नेपाल बैंकले पनि हालसम्म कुनै संस्थालाई मर्जर वा खरिद गरेका छैनन् ।

स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबिआई बैंकको सन्दर्भमा माउ संस्थाको होल्डिङ नै धेरै रहेको हुनाले मिक्स कल्चरमा जान नखोजेको हुनसक्ने मर्जर विज्ञ उमेश सिंह भण्डारीले बताए । “अन्य संस्थाको हकमा नेपाली लगानीकर्ता त शेयर स्वामित्व घट्न सक्ने भन्दै मर्जर तथा एक्विजिसनमा जान चाहेको दैखिँदैन,” उनले भने,“२० प्रतिशतको हाराहारी वा सो भन्दा माथि शेयर स्वामित्व रहेका बैंकहरुले आफ्नो स्वामित्व घट्ने भएकाले नै हालसम्म पनि मर्जर तथा एक्विजिसनको नीतिलाई अभ्यासमा नल्याएको हुन सक्छ । ”

सरकारी बैंकहरुको सन्दर्भमा नेपाल बैंक मर्जरमा गए हुने बताउँदै सिंहले कृषि विकास बैंक क्षेत्रगत बैंकको रुपमा विकसित हुन लागेको पनि बताए । सरकारलाई एउटा बैंक चाहिने भएकाले राष्ट्रिय वाणिज्य बैंकलाई कायम राख्नसक्ने उनको भनाई छ । सरकारी लगानी भएकै संस्थाहरुमा जाँदा कल्चर तथा लगानीकर्ताको पनि इन्ट्रेष्ट मिल्ने हुँदा निजी क्षेत्र तर्फका बैंक वित्तीय संस्थाको हकमा कम आकर्षित भएकाले पनि हालसम्म मर्जर तथा एक्विजिशनमा नगएको हुनसक्ने उनको अनुमान छ ।

नेपाल सरकारको लगानी रहेको कृषि विकास बैंक (५१ प्रतिशत) र नेपाल बैंक (४० प्रतिशत) उक्त नीतिलाई आत्मसाथ गरेर संस्था खरिद गर्ने वा मर्जरमा गएका छैनन् । राष्ट्रिय वाणिज्य बैंकले सरकारी लगानी नै रहेको एनआइडीसी डेभलपमेन्ट बैंकलाई खरिद ग¥यो । तर, नेदरल्याण्डको एफएमओ बैंकको लगानी रहेको भएपनि एनएमबी बैंकले आधा दर्जन विकास बैंक तथा फाइनान्स कम्पनी खरिद गरिसकेको छ । बैंकमा विदेशी लगानीकर्ताको शेयर स्वामित्व १५ प्रतिशत भन्दा कम रहेकाले पनि मर्जरको निर्णयमा विदेशी लगानीकर्ताको हस्तक्षेप नभएकाले पनि सहज रुपमा अन्य संस्थाहरु गाभेको हुन सक्ने देखिन्छ ।

एभरेष्ट बैंकमा भारतको पन्जाब नेशनल बैंकको २० प्रतिशत शेयर स्वामित्व रहेको छ भने हिमालयन बैंकमा पाकिस्तानी हबीब बैंकको २० प्रतिशत नै लगानी रहेको छ । त्यसैगरी नबिल बैंकमा आइरिस कम्पनी एनबी इन्टरनेशनलको ५० प्रतिशत लगानी रहेको छ भने नेपाल बंगलादेश बैंकमा बंगलादेशी बैंक आइएफआइसीको ४०.८९ प्रतिशत लगानी रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकको सन्दर्भमा माउ कम्पनीको बाहुल्य होल्डिङ रहेको हुनाले मर्जर तथा एक्विजिशन सम्भावना कम रहेको नेपाल राष्ट्र बैंक प्रवक्ता देव कुमार ढकालले बताए । “एभरेष्ट, हिमालयन तथा नेपाल बंगलादेश बैंकले मर्जरको नीतिलाई चासो दिइ छलफल गरी नै रहेको अवस्था छ,” ढकालले भने, “आगामी दिनमा विदेशी लगानीकर्ता रहेका बैंकहरुले पनि नतिजाउन्मूख मर्जर तथा एक्विजिशनको काम गर्न सक्ने सम्भावना बाँकी नै छ ।” विदेशी बैंक तथा वित्तीय संस्थाको केही अंशमात्र लगानी रहेका बैंकहरुले मर्जरको छलफल तथा अनौपचारिक प्रक्रियाहरु अघि समेत बढाई सकेको उनले बताए ।

पछिल्लो समयमा नबिल बैंकले पहिलो पटक एउटै समूहको लगानी रहेको हुनाले भारतीय मुत्तोट फाइनान्सियल कर्पोरेसनको शेयर स्वामित्व रहेको युनाइटेड फाइनान्सलाई खरिद गर्ने सम्झौता गरेको छ । त्यसैगरी हिमालयन बैंक पनि नेपाल इन्भेष्टमेन्ट बैंकसंग मर्जरमा जाने औपचारिक प्रक्रिया सुरु गर्ने तयारीमा रहेको छ ।

त्यसभन्दा अघि नेपाल बंगलादेश बैंकले पनि एउटै समुहको लगानी रहेका अन्य २ वित्तीय संस्थालाई गाभेको थियो । त्यसपछि फरक लगानीकर्ता र संस्थालाई ल्याउनका लागि यी बैंकहरुले पहल गरेको भने देखिँदैन् । अनौपचारिक छलफल गर्ने र हल्ला फिजाउने काम भने अधिकांश संस्थाका तर्फबाट भएको भएपनि निष्कर्षमा पुग्ने गरेको काम भएको छैन् । तर, सञ्चालनमा रहेका अन्य १९ वाणिज्य बैंकले भने १ देखि १७ वटासम्म संस्थाहरु गाभेका छन् । वाणिज्य बैंकहरुको बीच पहिलो मर्जर तथा एक्विजिशन ग्लोबल आइएमइ बैंक र कमर्ज एण्ड ट्रष्ट बैंक बीच भएको हो । त्यसपछि ग्लोबल आइएमई बैंकले पुनः जनता बैंकलाई २०७६ मंसिरमा खरीद ग¥यो ।

त्यसैगरी २०७० जेठ १३ गते एनआइसी बैंक र बैंक अफ एशिया मर्जर भएर एनआइसी एशिया बैंकको रुपमा सञ्चालनमा आएको छ । यी दुबै बैंक एउटै समुहद्धारा सञ्चालित भएकाले मर्जरमा गएका हुन् । त्यसैगरी किष्ट बैंक, प्रभु विकास बैंक, ग्राण्ड लागयतका केही वित्तीय संस्थाको संयुक्त रुपमा प्रभु बैंकमा गाभिए ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ तोकेपछि बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जर भई बैंक अफ काठमाण्डू भएको छ ।

नेपाल राष्ट्र बैंकले मर्जर विनियमावली लागू गर्दै गर्दा विसं २०६८ सालमा वाणिज्य बैंक संख्या ३२, विकास बैंक ८८, फाइनान्स कम्पनी ७९ र करिब २ दर्जनको हाराहारीमा लघुवित्त सञ्चालनमा थिए । २०७७ फागुनसम्ममा २१३ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा गएका छन् । यी मध्ये १६१ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएको राष्ट्र बैंकले जनाएको छ । हाल २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

वि.सं २०७६ चैतसम्ममा ९० पुगेका लघुवित्तीय संस्थाको संख्या पनि ७६ मा झरेको छ । यी मध्ये पनि धेरैले मर्जर तथा प्राप्तिको सम्झौता गरेर प्रक्रिया अघि बढाइरहेको अवस्था छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments