नेपालमा श्रमिकको पारिश्रमिक बढ्यो, साउन १ गतेदेखि मासिक १५ हजार लागू हुने

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२१बैशाख, २०७८, मंगलवार / May 04, 2021 11:41:am


सरकारले नेपालमा साउन १ गतेबाट लागू हुने गरी श्रमिकको पारिश्रमिक मासिक १ हजार ५५० रुपैयाँले वृद्धि गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी आगामी साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको पारिश्रमिक वृद्धि गरेको हो ।

जसअनुसार चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ पुगको छ । यसअघि आधारभूत पारिश्रमिक र महङ्गी भत्ता गरी मासिक पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले साउन १ गतेबाट लागुहुने गरी श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुरयाउने घोषणा गरेका थिए । सोही अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार राजपत्रमा प्रकाशन गरेको हो ।

अब नेपालमा श्रमिकले मासिक ९ हजार ३८५ रुपैयाँ आधारभूत पारिश्रमिक र ५ हजार ५१६ महँगी भत्ता गरी कुल १५ हजार पाउनेछन् ।

मन्त्रालयले दैनिक आधारभूत पारिश्रमिक ३६१ र दैनिक महँगी भत्ता २१६ गरी दैनिक ५७७ रुपैयाँ तथा प्रतिघण्टा आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता २९ गरी प्रतिघण्टा ७७ रुपैयाँ तोकेको छ । यसअघि श्रमिकले दैनिक ५१७ रुपैयाँ र प्रतिघण्टा ६९ रुपैयाँ पारिश्रमिक बुझ्दै आएका थिए ।

मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायत सुविधा समेत रोजगारदाता ( उद्योग–प्रतिष्ठानले) ले प्रदान गर्नुपर्ने जानकारी दिए ।

मन्त्रालयका अनुसार तोकिएकोभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न पाइने छैन ।

यता सरकारले एकपक्षीय रुपमा न्यूनतम पारिश्रमिक बढाएपछि आफुहरुसँग कुनैपनि छलफल नै नगरी श्रमिकको पारिश्रमिक वृद्धि गरेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको छ । श्रम ऐन, २०७४ मा प्रत्येक दुई।दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरवलोकन हुने प्रावधान छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments