अस्पतालले बिरामी लिन छाडे, अक्सिजन अभावमा बिरामीलाई 'फोर्सफुल डिस्चार्ज' गरिँदै

-नोटबजार संवाददाता।
काठमाडौं।
२९बैशाख, २०७८, बुधबार / May 12, 2021 16:25:pm

कोरोना संक्रमणको अवस्था भयावह बन्दै गए पछि अस्पतालहरु बिरामी व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेका छन् । अझ अक्सिजनको अभावका कारण देशका नाम चलेका धेरै अस्पतालहरुले बिरामी भर्ना नगर्ने घोषणा गरेका छन् ।

अर्कातिर अस्पतालमा उपचार गराईरहेका बिरामीलाई पनि अस्पतालहरुले 'फोर्सफुल डिस्चार्ज' दिन थालेका छन् । अक्सिजन अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पतालहरुले सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायलाई जानकारी गराउँदै अस्पतालबाट बिरामी फिर्ता लैजान बिरामीका आफन्त तथा परिवारलाई भन्न थालेका छन् । अधिकांश अस्पतालहरुले विज्ञप्ति जारी गर्दै अक्सिजन अभावमा बिरामी भर्ना बन्द गरिएको बताइरहेका छन् ।

नाम चलेका व्यक्तिहरुको धेरै उपचार गराउँदै आएको नर्भिक इन्टरनेशनल अस्पतालले मात्र बुधबार अवस्था भयावह हुने भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको छ ।


उता ग्राण्डी अस्पतालले पनि आवश्यकता अनुसार अक्सिजनको व्यवस्थापन हुन नसकेको भन्दै थप विरामीको उपचार गर्न नसकिने जनाएको छ । सरकारबाट दैनिक एक सय वटा सिलिण्डर मात्र प्राप्त हुने भन्दै त्यसले थप विरामीको उपचार गर्न नसकिने अस्पतालले जनाएको छ । आवश्यकता अनुसार अक्सिजन प्राप्त भएको खण्डमा मात्र थप विरामीहरू भर्ना गरिने विज्ञप्तिमा उल्लेख छ ।

उता भैरहवाको युनिभर्सल शिक्षण अस्पतालले पनि बुधबार साँझ ४ बजे पछि अक्सिजन दिन नसक्ने भन्दै बुधबार साँझदेखि उपचार गर्न नसक्ने जनाएको छ । बिरामी र आफन्तलाई आफ्नो लागि आफैं अक्सिजन व्यवस्था गर्न भनेको अस्पतालले एक साता अघिदेखि माग अनुसारको अक्सिजन व्यवस्था गर्न विभिन्न उपाय अवलम्बन गर्दै आएपनि जिल्लाका तीन उद्योग र बाहिरबाट पनि आपूर्ति हुन कठीन भएकाले उपचार दिन नसकिने अवस्था आएको विज्ञप्तिमा उल्लेख छ । दैनिक ७०० सिलिण्डर अक्सिजन खपत हुँदै आएकोमा माग अनुसार अक्सिजन उपलब्ध नभएकाले उपचार गर्न नसक्ने अवस्था आएको अस्पतालले जनाएको छ ।

ललितपुरस्थित मेडिसिटी अस्पतालले पनि विज्ञप्ति जारी गर्दै अक्सिजनको चरम अभाव भएकाले बिरामीको उपचार गर्न नसकिने जनाएको छ । दैनिक ४ सय ५० देखि ५ सय सिलिण्डर अक्सिजन आवश्यक पर्नेमा सरकारबाट १ सय सिलिण्डर मात्र प्राप्त हुने भएकाले उपचार असम्भव भएको अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

१ सय २० जना कोभिडका विरामीको उपचार भइरहेको र ४० जना भन्दा बढीको भेन्टिलेटरसहितको सघन उपचार कक्षमा उपचार भएको जनाएको अस्पतालले उनीहरुको थप उपचारमा समेत समस्या हुने बताएको हो ।

जोरपाटीस्थित नेपाल मेडिकल कलेजले मंगलबार नै अक्सिजन सकिएको भन्दै उपचार बन्द गरिसकेको छ । अक्सिजनको अभावमा अस्पतालले उपचार गर्न नसक्ने भन्दै अस्पतालले विरामीको व्यवस्थापन आफैं गर्न परिवार र आफन्तलाई विज्ञप्ति मार्फत आग्रह गरेको थियो । अस्पतालले अक्सिजन आपूर्ति गर्ने कम्पनीको मेसिन बिग्रिएकोले तत्काल अक्सिजन उपलब्ध नहुने भन्दै थप विरामीलाई भर्ना गर्न नसकिने र भएका विरामीलाई पनि अन्यन्त्र व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको थियो ।

उता मेडिकेयर, हेल्पिङ ह्यान्ड्स, भारतमैत्री र दीर्घायू अस्पतालले पनि अक्सिजन अभावका कारण बिरामी भर्ना लिन नसकिने भन्दै संयुक्त विज्ञप्ति जारी गरिसकेका छन् ।

यसका अलावा राजधानीका साथै मुलुकभरका अन्य अस्पतालको पनि अवस्था उस्तै छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल लगायतका कोभिड अस्पतालहरुले पनि अक्सिजन अभावका कारण बिरामीको उपचारमा समस्या भएको बताइसकेका छन् ।

भक्तपुर अस्पतालमा पनि अक्सिजन अभाव भएसँगै बिरामीको उपचारमा समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ । ललितपुरको अलका अस्पतालले यस अघि नै अक्सिजन अभाव भएको भन्दै उपचारमा समस्या आएको बताईसकेको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments