सिटिजन्स बैंकका ग्राहकले घरै बसीबसी २ लाख सम्मको कर्जा पाउने “पेडे लोन” सार्वजनिक

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२०जेष्ठ, २०७८, बिहीबार / Jun 03, 2021 16:12:pm

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफ वान सफ्ट इन्टरनेशनल प्रालिसँग सहकार्य गरेर आफ्ना ग्राहकहरुको सुविधाका लागि “पेडे लोन” नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ ।

जेठ २० गते बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक भर्चुअल कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कम्प्यूटरमा क्लिक गरी “पेडे लोन” योजना सार्वजनिक गरेका हुन् ।

बैंकमा तलब खाता सञ्चालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम २ लाखसम्म मोबाइल बैकिङ्गबाट “पेडे लोन” सुविधा सहजै प्राप्त गर्न सक्नेछन् भने कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरी रहनु पर्ने छैन ।

ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न “पेडे लोन” सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ ।

बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो लोकप्रिय हुने विश्वास बैंकले लिएको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले “पेडे लोन” योजना सञ्चालनमा ल्याएको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६८ वटा शाखा, १११ वटा ए.टि.एम. र १०९ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पूँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्यूनीकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments