राष्ट्र बैंकले एक अर्ब ७८ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२४जेष्ठ, २०७८, सोमबार / Jun 07, 2021 08:32:am

नेपाल राष्ट्र बैंकले १ अर्ब ७८ करोड बराबरको रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ।

बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ ।

बैंकले एक सूचना प्रकाशित गर्दै तोकिएको सीमाभित्र रही सिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ । बैंकले २०७८ असार १ गतेदेखि २०७९ असार १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न चाहेको हो ।

केन्द्रीय बैंकका अनुसार ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई ८ करोड ९० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २६ करोड ७० लाख र ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ४२ करोड ४० लाख लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरेको छ ।

बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई जेठ २५ गते दिउँसो ५ बजेभित्र पेश गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भएके, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको जस्ता शर्त तोकेको छ । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत वा सञ्चालक कारवाहीमा परेको हुन नहुने तथा सर्वसाधारणका लागि शेयर जारी गरिसकेको हुनुपर्नेलगायतका शर्त रहेको केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

 

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments