मेची भन्सारमा लक्ष्यभन्दा आठ प्रतिशत बढी राजश्व सङ्कलन

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
७श्रावण, २०७८, बिहीबार / Jul 22, 2021 16:37:pm

मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब आठ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षमा रु १२ अर्ब नौ करोड राजश्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले रु १३ अर्ब तीन करोड राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ७ दशमलव ७७ प्रतिशत बढी हो ।

कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माले यो नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको बताए । गत आर्थिक वर्षमा यो नाकाबाट सङ्कलन भएको राजश्वमा पेट्रोलियम पदार्थको हिस्सा ४८ प्रतिशत रहेको छ ।

कोभिड–१९ को जोखिममा समेत औद्योगिक क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थ, खाद्यान्न र तरकारीलगायत सामग्री आयात भइरहेका कारण राजश्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा लक्ष्यको ७३ प्रतिशत अर्थात् आठ अर्ब ३५ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।

गत आर्थिक वर्षमा पूर्वी नाका काँकडभिट्टाबाट १३ अर्ब ६५ करोड रुपैयाँको सामान निर्यात भएको छ । निर्यात हुने वस्तुमा सबैभन्दा बढी अलैंंची रहेको उनले बताए । उनका अनुसार गत आर्थिक वर्षमा यो नाकाबाट ६ अर्ब ९० लाख रुपैयाँ मूल्य बराबरको ८५ लाख ६६ केजी अलैँची निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्षमा चार अर्ब आठ लाख रुपैयाँ मूल्य बराबरको ५९ लाख ९० केजी अलैँची निर्यात भएको थियो ।

प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार अलैंंचीपछि सबैभन्दा बढी चिया निर्यात भएको छ । गत आर्थिक वर्षमा तीन अर्ब ३१ लाख रुपैयाँ मूल्य बराबरको एक करोड १२ लाख ६७ हजार केजी चिया निर्यात भएको कार्यालयले जनाएको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments