कुमारी बैंकको खुद नाफा २ अर्ब नाघ्योे, वितरणयोग्य एक अर्ब ९ करोड

-नोटबजार संवाददाता।
काठमाडौं ।
२८श्रावण, २०७८, बिहीबार / Aug 12, 2021 07:19:am

गत आर्थिक वर्षको अन्त्यसम्ममा कुमारी बैंक (KBL) को खुद नाफा झण्डै ७३ प्रतिशतले बढेको छ । बैंकको ब्याज तथा अन्य आम्दानी बढेपछि समग्र नाफा बढेको हो ।

गत असारमसान्तसम्म बैंकले दुई अर्ब ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा ७२.७४ प्रतिशतले धेरै हो । अघिल्लो आवमा बैंकले एक अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको गत आवमा ब्याज आम्दानी, फि एण्ड कसिमन तथा ट्रेडिङबाट हुने आम्दानीमा समेत सुधार गरेको छ । बैंकको अघिल्लो वर्षको सोही अवधिको तुलनामा खर्च बढेको भएपनि त्यसले बैंकको वृद्धिलाई असर गरेको देखिँदैन ।

असार मसान्तसम्ममा बैंकले १ खर्ब ४८ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यसबाट ५ अर्ब २३ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी साढे ४६ प्रतिशतले बढेको हो।

बैंकको वितरण योग्य नाफा एक अर्ब ९ करोड ४२ लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजी रहेको १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी १४.४२ रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ९.२५ रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चित कोषमा ३ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकका प्रतिशेयर किताबी मुल्य १३६.८९ रुपैयाँ पुगेको छ । बैंकको पूँजीकोष अनुपात १३.७१ प्रतिशत रहेको छ भने खराब कर्जा अनुपात १.०८ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर मूल्य आम्दानी अनुपात २५.७३ गुणा रहेको छ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments