प्रविधिको बढ्दो प्रयोगले पत्थरकट्टा जातीको पुर्ख्याैली पेशा संकटमा

अन्जना सुवेदी
काठमाण्डौं
१४भाद्र, २०७८, सोमबार / Aug 30, 2021 17:42:pm

केही वर्ष अघिसम्म जो कोहीको घरमा प्रविधिमा आधारित मिक्स्चर तथा अन्य उपकरणको सहज उपलब्धता थिएन । परम्परागत रुपमा प्रयोग हुँदै आएका सिलौटो, लोहोरोको प्रयोग अनिवार्य जस्तै थियो । तर पछिल्ला दिनहरुमा बजारमा उपलब्ध हुने आधुनिक उपकरणको सहज उपलब्धताले यस्ता परम्परागत उपकरणको प्रयोग घट्दै गएको छ ।

प्रविधिको विकास र यसको सहज उपलब्धताकै कारण छोटो समयको अन्तरालमा नै पत्थरकट्टा जातीको पुर्ख्याैली पेशा संकटमा परेको छ । केही वर्ष अघिसम्म राजधानीका विभिन्न स्थानमा हातले बनाइएको सिलौटो, लोहोरो, जाँतो लगायतका घरायसी प्रयोगका उपकरण बिक्री गर्दै आएका पत्थरकट्टाहरु अहिले पेशाबाट बिस्थापित हुने अवस्थामा पुगेका छन् ।

पछिल्लो समय तिब्र गतिमा विकास भईरहेको प्रविधिमा मानिस रमाउँदै गर्दा त्यसको सिधा असर पत्थरकट्टा जस्तै अरु धेरै विधाका उत्पादन बनाउँदै आएकाहरु पनि आफ्नो पेशाबाट क्रमिक रुपमा बिस्थापित हुँदै गइरहेका छन् । प्रविधिको विकाससंगै मानिस सुख सुविधामा मस्त हुँदै गर्दा त्यही आधुनिकताका कारण पुर्ख्याैली पेशा अगाल्दै आएका जाती तथा समुदायहरु अहिले बिस्थापीत हुने अवस्थामा पुगेका हुन् । पत्थरकट्टाहरुको कुटानी पिसानी गर्ने ढुङ्गाबाट बनाइएका सिलौटो, लोहोरो, जाँतो, ओखल लगायतको बजार संकुचित बनेसँगै आफ्नो पेशा व्यवसाय नै डगमगाउने अवस्थामा पगेको भन्दै पत्थरकट्टाहरु चिन्तित हुन थालेका छन् ।

केही वर्ष पहिलेसम्म गाउँमा मात्र नभई शहरी क्षेत्रका घरमा समेत सिलौटो, लाहोरो र एकाध संख्यामा जाँतोको प्रयोग हुँदै आएको थियो । शहरी क्षेत्रको असपासका साथै ग्रामीण क्षेत्रमा जाँतो, ढिकि, ओखलको प्रयोग धेरै मात्रामा हुँदै आएकोमा अहिले यसको प्रयोग शुन्य अवस्थामा पुगिसकेको छ । जसका कारण यस्ता परम्परागत उपकरणहरु छोटो समयको अन्तरालमा नै लोप हुने अवस्थामा पुगेका छन् । जसका कारण पत्थरकट्टाहरु अहिले चिन्तामा परेका छन् ।

सामल कुट्न तथा पिस्नका लागि मिल चलाउने प्रचलन सुरु भएसँगै ढिकि, जाँतो र ओखलको प्रयोग झण्डै शुन्यको अवस्थामा पुग्न गयो । त्यसैगरी बजारमा पसिल पसलमा मिक्स्चर आएपछि सिलौटो तथा लोहोरोको पनि लोप हुने बाटोमा लागे पछि पत्थरकट्टाहरुमा चिन्ता बढेको छ ।

पुर्खादेखि चल्दै आएको आफ्नो व्यवसाय पुस्तान्तरण हुँदै आएको भए पनि अब पुस्तान्तरण नहोला कि भन्ने चिन्ता पत्थरकट्टाहरुमा छ । प्रविधिमा आधारित उपकरणको प्रयोग राम्रो भए पनि आफ्नो पेशा नै गुम्ने र आफुहरु बिस्थापित हुनु पर्ने हो कि भन्ने चिन्ता बढ्दै गएको पत्थरकट्टाहरु बताउँछन् ।

चाबहिल चोकबाट गोपीकृष्णतर्फ जाँदा सडकको बाँया किनारामा आफुले बनाएका सौलो, लोहोरो बिक्री गर्न बसेका पत्थरकट्टा मध्येकी एक हुन जसोदही पत्थरकट्टा । बुटवल स्थायी बसोबास भएकी जसोदही उमेरले ६ दशक पार गरि सकिन । आफुले थाहा पाएदेखि पत्थरमा बुट्टा भर्ने काम गर्दै गर्दै आएकी उनले तिनै सामान बिक्री गरेर आफ्नो गर्जो चलाउँदै आएकी छिन् ।

१६ वर्ष पहिले श्रीमानको निधन भए पछि उनलाई परिवार चलाउने जिम्मेवारी थपियो । अहिले छोरा, बुहारी तथा नाती नातिनी सहित उनको परिवार चाबहिलमा भाडामा बस्दै आएको छ । श्रीमानको निधन पछि जिम्मेवारी बढेसँगै परिवारका अन्य सदस्य पनि पत्थरका उत्पादन बनाउने पेशामा आबद्ध छन् । परिवार धान्ने खर्च नै पत्थरका सामान बनाएर जुटाउँदै आएकी जसोदही भन्छिन् “म मात्र नभई मेरो परिवारका सबैको लगाव अनि प्यार यही पत्थरको सामान बनाउने काममा छ । हाम्रो सम्पत्ती पनि यही हो ।” आफुले बनाएका सामानको बिक्री दिन दिनै घट्दै गएको बताउने जसोदही भन्छिन् “आफ्नो सम्पती छैन्, यो कामले खान लगाउन मात्र पुग्छ । नाति नातिनी पढाउन यो कामले पुग्दैन । उनीहरुलाई पनि अब यही काम सिकाउने हो, तर उनीहरुले कसरी जिविको धान्छन् भन्ने चिन्ता पर्न थालेको छ ।”

जसोदहीको परिवारले सिलौटो, लोहोरो लगायतका सामान बनाउनका लागि आवश्यक पर्ने ढुङ्गा बुटवलदेखि ल्याउने गरेको छ । आकार प्रकार सामान्य अवस्थामा रहेका ढुङ्गा यहाँ ल्याएर धुने, पखाल्ने, कुट्ने, रङ लगाउने र प्रयोग अनुसारको आकारमा ढाल्ने काम उनको परिवारले यहीँ गर्छ ।

“बुटवलबाट ल्याएर मेहनत गरेर बनाएका पत्थर अहिले बिक्न छोडेका छन् । पहिले धेरै बिक्री हुने गरेको थियो, आजकल कहिले काँही त एउटा पनि बिक्री हुँदैन,” जसोदही भन्छिन्, “कहिले काँही एक दुई हजार रुपैंयाको सामान बिक्री हुन्छ । यसले परिवार चलाउन मुस्किल छ ।”

जसोदहीको परिवार जस्तै ममता खुसबहाडीयाका श्रीमान श्रीमती पनि यही पेशा अगाँल्दै आएका छन् । दशकभन्दा लामो समयदेखि राजधानीमा बसेर यो पेशा अँगाल्दै आएकाी ममताको चिन्ता पनि जसोदहीको जस्तै छ ।

“सिलौटो, लोहोरो तथा सानो ओखल बेच्न थालेको दशक बढी भयो । तर पहिलेको तुलनामा अहिले व्यापार घटेको छ,” ममता भन्छिन्, “पहिले दिनमा ६ हजार सम्मको व्यापार हुने भए पनि अहिले बढीमा २ हजार सम्मको हुन्छ । पहिले सधैं सामान बिक्री हुन्थ्यो तर आजकर कहिलेकाँही रित्तो हात हुनु पर्छ ।”

परिवार धान्नका लागि पसिना बगाएर ढुङ्गाका सामान बनाउने काम अब सहज नहुने चिन्ताले ममता र उनका श्रीमान पनि चिन्तामा पर्ने गरेका छन् । अर्कातिर महानगरपालिकाले समय समयमा सडकपेटीको आसपासमा सामान बेच्न राखेको भन्दै लखेट्दा झनै समस्या हुने गरेको उनीहरुको अनुभव छ । “ठुला मान्छेले जे गरे पनि मतलव नहुने तर हामीलाई छाक टार्न पनि नदिने गरी महानगरले दुखः दिइरहन्छ । कति पटक पत्थरको काम गर्ने सामानहरु महानगरले लगिसक्यो” ममताका श्रीमान भन्छन् ।

तयारी मसलाको धुलो बजारमा आउनु र मसला पिस्नका लागि आधिुनिक मेसिनहरु बजारमा पाइनुले सिलौटो र लोहोरोको माग घट्दै गएको उनीहरु बताउँछन् । यस्तो अवस्थामा आफुहरुको पेशा बचाउनका लागि पनि काम गर्न परिरहेको र अरु विकल्प पनि नभएको उनीहरुको भनाई छ ।

राज्यले आफ्नो पेशा बचाइदिनका लागि पहल गरिदिए अहिलेको पुस्ताले मात्र भए पनि यही पेशाबाट आफ्नो जीवन धान्न सक्नेमा उनीहरु आशावादी छन् । समय अनुसार नयाँ पुस्ताका आफ्ना सन्तानहरुलाई अघि बढाउने चाहना मनमा भए पनि आर्थिक अभावका कारण सम्भव नभएको बताउने उनीहरु सन्तानको भविष्यलाई लिएर चिन्तित छन् । अरुको जस्तै आफ्ना सन्तानले पनि सिलौटो, लोहोरो अनि जाँतो र ओखल भनेको के हो ? भन्ने थाहा नपाउने अवस्था नआओस भन्नका लागि पनि सन्तानलाई यही पेशामा लगाइ राख्ने सोच भए पनि बजार अनुकुल छैन ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments