एशियाली विकास बैंकले मेलम्ची आयोजनाको अध्ययन गर्ने

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२१भाद्र, २०७८, सोमबार / Sep 06, 2021 12:12:pm

एशियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजनाको माथिल्लो भूभागको भौगर्भिक अध्ययन गर्ने भएको छ । जसका लागि एडीबीको विज्ञ टोली आउने भएको हो ।

खानेपानी मन्त्रालयले पठाइएको टीओआर एडीबीले स्वीकृत गरिसकेकाले साताभित्र विज्ञ टोली आइपुग्ने मन्त्रालय स्रोतले जानकारी दिएको छ । टोलीले भ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको अध्ययन गर्नेछ ।

उक्त भूभाग कति जोखिमयुक्त छ भनेर आयोजनाको विकास साझेदार संस्थाको रुपमा रहेको एडीबीको टोलीले अध्ययन गर्नेछ ।
मेलम्ची माथिको भूभागबाट हिमपहिरोबाट थेग्रिनी बगेर आउँदा मेलम्ची आयोजनालाई क्षति गरिरहेको छ । हाल भ्रेमाथाङको भौगर्भिक अवस्थाबारे इसिमोड लगायत संस्थाले आआफ्नो हिसाबले अध्ययन गरिरहेका छन् ।

गत असार १ गते आएको मेलम्चीको बाढीले हेडवक्र्स, दुईओटा अस्थायी सुरुङ र मोटरेबल पुलमा क्षति पुग्दा काठमाडौं झार्नका लागि नै साढे २ अर्ब खर्च लाग्नेगरी क्षति भएको छ ।

आयोजनाको मुहानस्थल अम्बाथानमा रहेको कामदार बस्ने क्याम्प, उपकरण, निर्माण सामग्री, पहुँच सडक, पुल लगायत अन्य भौतिक संरचनाहरू समेत बाढीले बगाएको छ ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले हेडवक्र्समा आंकलन गरेभन्दा ठूलो क्षति पुगेकाले परियोजना कहिले सम्पन्न हुन्छ भनेर भन्न नसकिने जानकारी दिए ।

आयोजनाको संरचनाको पुनर्निर्माणका लागि सिनो हाइड्रो र नेपाली सेनालाई जिम्मा दिने योजना समितिको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments