स्टार्टअप व्यवसायमा चम्किँदै यल ब्राण्ड, नेपाली उत्पादनको अवधारणाले अवार्डसम्म

अन्जना सुबेदी
काठमाण्डौं
२४भाद्र, २०७८, बिहीबार / Sep 09, 2021 17:53:pm

सिद्धार्थमान शाक्य, युवा उद्यमी एवं व्यवसायी, जसको चर्चा पछिल्लो समय बढ्दै गएको छ ।

परिवारको साथ र सहयोगमा सुरु गरेको तयारी कपडाको व्यवसायले पछिल्ला दिनमा पाएको सफलताले उनीसँगै उनको ब्राण्डको पनि चर्चा बढ्दै गएको छ ।

गुणस्तरीय ब्रान्डेड कपडाको नेपाली बजारमा दरिलो उपस्थिती गराउँदै आएको सिद्धार्थमानको नेपाली ब्राण्ड हो यल: वेयर्स

ग्यालरी डिजाइनर बन्ने योजनामा युटर्न

मानविकीमा इतिहासबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका सिद्धार्थमान यल वेयर्सको संस्थापक हुन् । २०४९ सालमा ललितपुरको कुपण्डोल हाइटमा जन्मिएका शाक्यको पारिवारिक पृष्ठभूमी राम्रो भएकाले पनि उनी अहिले ब्राण्ड स्थापित गराउने अभियानमा जुटिरहेका छन् ।

आर्थिक रुपमा परिवार सशक्त भएकाले नै सुख:द वाताबरणमा बाल्यकाल विताएका सिद्धार्थमान अध्ययनको शिलशिलामा कहिले अमेरिका त कहिले कतार पुगे ।

विद्यार्थी जीवन विदेशमा विताए पनि सिद्धार्थमानको नेपाल प्रतिको माया र नेपाल फर्किने जोसमा भने कहिले कमी आएन ।

उनकी आमा र दाजु पनि विदेशमा पढेर नेपाल नै फर्किएका थिए । यही कारणले पनि विदेशलाई पढाइको गन्तव्य मात्र बनाएर स्वदेशमै केही गर्ने सोचका साथ फर्किएको बताउने सिद्धार्थमानले पारिवारिक पृष्ठभूमी र आफ्नो पढाई आर्टसँग सम्बन्धित रहेकाले यही क्षेत्रमा केही गर्ने सोच बनाए । यस क्रममा ग्यालरी डिजाइनर बन्ने लक्ष्यका साथ उनी स्वदेश फर्किए ।

यल वेयर्सको उदय

सन् २०१७ मा अध्ययन सकेर नेपाल फर्किएका शाक्यमा ब्राण्डेड कपडाको बानी परेको थियो । सस्तो मूल्यमा गुणस्तरीय कपडा लगाउँदै विद्यार्थी जिवन बिताएका शाक्यले नेपाल फर्किएपछि सोचे अनुरुप ब्राण्डेड कपडा पाउन सकेनन् । सोचेको जस्तो ब्राण्डेड कपडा नपाईने र पाउँदा पनि मूल्य धेरै पर्ने भएपछि बजार अनुसार सस्तो मूल्यमा ब्राण्डेड कपडा रोजाइमा पर्ने सोच उनमा आयो ।

ग्यालरी डिजाइनर बन्ने सोच लिएर स्वदेश फर्किएका उनले श्रीमतीसँगको सल्लाहमा राम्रो कपडा पसल सञ्चालन गर्ने निर्णय गरे । पसल सञ्चालन गर्दा कपडाको मूल्य महँगो नै पर्ने भएपछि आफैंले ब्राण्डेड कपडाको उत्पादन गर्ने निर्णयमा उनी पुगे । तर कपडा उत्पादन गर्न आवश्यक स्रोत र पुर्वाधार कसरी तयार गर्ने भन्ने चिन्ता रहिरह्यो । यसबीच ललितपुरको हात्तीवनमा रहेको साथीको कारखानाबाट गूणस्तरीय कपडा उत्पादन गर्ने वाताबरण सिद्धार्थमानलाई मिल्यो । उनले सन् २०१८ को डिसेम्बरमा आफ्नो ब्राण्डको नामाकरण गरे, यल वेयर्स । एकाएक पहिरनको दुनियामा होमिने कुरा उनको पारिवारिक पृष्ठभूमीभन्दा अलग विषय बन्न पुग्यो ।

नेवारी परिवेसमा ललितपुरको झल्को

नेवारी भाषाको एउटा शब्द यलले दुई किसिमको अर्थ राख्छ । कुनै पनि कुरा मन पर्नुलाई नेवारीमा यल भनिन्छ । अर्कातिर नेवारी भाषामा काठमाण्डौलाई “गेकिए”, भक्तपुरलाई “खोपा” भनेजस्तै ललितपुरलाई “यल” भन्ने गरिन्छ ।

यल वेयर्सको नाम जुराउँदा नेपालमा भएका सबै ब्रान्डहरुको नाम हेरेर सिद्धार्थमानले मनपर्ने आशय र ललितपुर स्थानलाई जनाउने नेवारी शब्द “यल” लाई आफ्नो ब्राण्डको नाम दिएका थिए ।

परिवारको साथ र स्रोत व्यवस्थापन

१४ लाख रुपैयाँको लगानीमा परिवारको पूर्ण साथ र सहयोगमा सिद्धार्थमानले याल वेयर्स सुरु गरे । श्रीमती आरिजा शाक्य र उनले व्यवसाय गर्ने निर्णय गरेपछि घर परिवारले पनि त्यसमा सहमति जनाएकै कारण आफु सफलताको बाटोमा अघि बढेको शाक्य बताउँछन् । “सीमित लगानीमा ब्राण्ड बनाउने कुरा सहज नभए पनि परिवारको पूर्ण समर्थनले मलाई अर्को लगानीको आभाष दिलायो,” उनी भन्छन्, “नयाँ व्यवसाय चलाउन सकिँदैन कि भन्ने डर थियो, तर आमाले बाउ-बाजेले व्यवसाय नै गरेकाले आफुमा पनि त्यो क्षमता रहेको भन्दै हौसला दिनु भयो ।”

बजारसम्मको पहुँच

श्रीमान-श्रीमति मिलेर यल वेयर्सलाई औपचारिक बनाएर ललितपुरको झम्सीखेलमा कार्यालय तथा आउटलेट स्थापना गरेर शाक्यले अनलाइन माध्यमलाई बजारको केन्द्रमा राखे । अनलाइनबाट स्वदेशमा भन्दा विदेशमा यल ब्राण्डका कपडाको माग हुन थाल्यो । विस्तारै स्वदेशमा पनि यसको माग बढ्न थाल्यो ।

“सुरुवाती वर्षमा अनलाइनबाटै कारोबार गरीरहेका थियौं, बीचमा लकडाउन भयो, पहिलो चरणको लकडाउनमा स्टाफ र पसल पूरा बन्द भयो । द्रोस्रो लकडाउनमा पनि अवस्था उस्तै थियो । सामान पनि रोकिएको अवस्थामा पनि कर्मचारीलाई तलब र आउटलेटको भाडा तिरिरहेका थियौं । अहिले बल्ल कारोबार फेरि राम्रो अवस्थामा फर्किएको छ” सिद्धार्थमान भन्छन् ।

अहिले इन्स्टाग्रामबाट यलका कपडाहरु धेरै बिक्री वितरण हुने गरेको छ । यसका अलावा आफ्नै वेवसाइट, आउटलेट र विभिन्न इकमर्श प्लेटफर्मबाट यल वेयर्सका कपडा बिक्री वितरण भईरहेको छ । सिद्धार्थमानका अनुसार सबै प्लेटफर्मबाट आउने अर्डरले उनी अनि उनको परिवारलाई उत्साहित बनाएको छ ।

१८ देखि ४५ वर्ष उमेर समुहका पुरुषहरुलाई लक्षित गरेर कपडाहरु उत्पादन गरी बजारमा पुर्याउँदै आएका शाक्यले व्यवसायमा आफ्ना दाजुको पेशालाई चित्रित गरिरहेका छन् । बडी विल्डिङ पेशामा सक्रिय रहेका आफ्ना जेठा दाई अनि उनका साथी संगतलाई हेरेर सिद्धार्थमानले यल ब्राण्डका उत्पादनलाई फिटनेश केन्द्रित बनाएका छन् । यलको आउटलेट पुग्नेहरुले जिम तथा फिटनेश गर्नेहरुले लगाउने लुगा धेरै देख्छन् । अहिले सबै मानिस फिटनेशमा जोडिने भएकाले आफ्नो व्यापारमा पनि त्यसको सकारात्मक असर परेको सिद्धार्थमानको अनुभव छ ।

यलको बजार मूल्य र बढ्दो प्रतिस्पर्धा

नेपाल ब्राण्डहरुको उपस्थिती एकपछि अर्को गर्दै बढिरकेको सन्दर्भमा बजार पनि प्रतिस्पर्धी भएको सिद्धार्थमानको अनुभव छ । पछिल्लो वर्षमा नयाँ तथा ब्रान्डेड कपडाहरु उत्पादन गर्ने ब्रान्डको संख्या बढेसँगै प्रतिस्पर्धा बढेको उनी बताउँछन् ।

व्यवसाय सुरु गर्दा प्रतिस्पर्धी एउटा मात्रै रहे पनि अहिले बढ्दै गएको उनी स्मरण गर्छन् । प्रतिस्पर्धा बढिरहेको अवस्थाले अब लकडाउन नहुने अवस्था बने यल वेयर्सको अण्डरमा अरु व्यवसाय अघि बढाउने योजना सिद्धार्थमानको छ ।

यल वेयर्सका टिसर्ट, सर्ट, ज्याकेटहरु, लेगिङ लगायतका कपडाहरु १ हजार रुपैयाँदेखि ४ हजार ५०० सम्ममा बिक्री वितरण गर्दै आएको सिद्धार्थमानको बुझाईमा यो मूल्य सस्तो हो । आफुले उत्पादन गर्ने कपडामा गुणस्तर कायम गराएका कारण लागत अनुसार मूल्य निर्धारण गरिएको उनको भनाई छ ।

यल वेयर्सका कपडाहरु नेपालका जुनसुकै कुनामा पनि डेलिभरी हुने व्यवस्था गरिएको छ । यल वेयर्सका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने तयारी सिद्धार्थमानले काम गरिरहेका छन् । मासिक डेढ लाखदेखि २ लाख रुपैयाँसम्मको कपडा उत्पादन तथा बिक्री वितरण गर्दै आएको यलले ३० देखि ४० प्रतिशतसम्म मार्जिन राख्न सकेको छ ।

आफ्नै उत्पादन

हामीले बजारको भीडभाडमा किनबेच हुने औषत गुणस्तरका कपडाहरु चीन, भारत लगायत मुलुकबाट आउने गरेको सुनिरहेका हुन्छौं । ठूला मलहरुमा पुग्दा यस्तै मुलुकबाट आएको तर गूणस्तरमा कुरा भईरहेको हुन्छ । तर यलका सञ्चालक शाक्यले भने साथीहरुसँगको सहयोगमा नेपालमा नै कपडा उत्पादन गर्दै आईरहेका छन् । विदेशबाट फ्याब्रिक आयात गरेर सिद्धार्थमान आँफैले डिजाइन गरेर कपडा तयार गर्ने गरेका छन् । यसका लागि सिद्धार्थका एक जना साथीले ललितपुरको हात्तीवनमा रहेको कारखानाबाट सहयोग गर्ने गरेका छन् ।

कच्चापदार्थमा समस्या

नेपालमा बनेका गुणस्तरीय कपडाहरु सर्वसुलभ मूल्यमा क्रेतासम्म पुर्याउने लक्ष्य लिए पनि कच्चा पदार्थको अभावले यललाई पनि समस्या भएको छ । यलले अन्य मुलुकमा तयार भएको फ्याब्रिक आयात गरेर डिजाइन तथा तयारीको काम नेपालमा गर्दै आएको छ ।

नेपाली ब्राण्ड बनाउँदै गर्दा नेपाली फ्याब्रिक प्रयोग गर्ने चाहना भएपनि गुणस्तर कम हुने भएकाले यलले भारत र चीनबाट आयात गरिरहेको छ । नेपालमा तयार हुने फ्याब्रिकको गुणस्तर राम्रो भएको खण्डमा त्यसको प्रयोग गर्दा लागत घट्न जाने र समग्रमा आफ्ना उत्पादन पनि सस्तो हुने सिद्धार्थमान बताउँछन् ।

कोभिडको असर

विश्वमा फैलिएको कारोना भाइरसका कारण जारी भएको निषेधाज्ञाले गर्दा धेरै व्यवसाय धरापमा पर्दै गर्दा सुरुवाती अवस्थाको यल पनि यो समस्याबाट मुक्त हुन सकेन ।

“पहिला हामीले अर्थात यला ब्रान्डले जुन नाम र पहिचान कायम राख्दै थियो, कारोना माहामारीले त्यो खस्कियो । तर पछिल्लो समय व्यवसायले गति लिन लागेको छ” शाक्य भन्छन् ।

नेपालमा नै केही गर्नुपर्छ भन्ने सन्देश

रोजगारीका लागि दैनिक हजारौंको संख्यामा विदेश पलायन भईरहेको जनशक्तिले स्वदेशमा उत्पादनमुलक काम गर्न सक्ने सिद्धार्थमानको बुझाई छ ।

नेपालमा केही गर्न नसकिने होइन, तर गाह्रो छ । व्यवसाय दर्तादेखि सञ्चालनको अवस्थामा आउन धेरै झमेला हुने भएकाले यसमा सरलीकरण जरुरी देख्छन् उनी । त्यति मात्र हुने हो भने पनि अहिले वैदेशिक रोजगारीमा जाने लाखौं संख्याको जनशक्तिले नेपालमा नै अवसर पाउने कुरामा दुईमत छैन । उनले भने, “विदेशमा कसैको सहयोग पाइन्न, तर यहाँ घरपरिवार, साथी, समुदाय सबैबाट रचनात्मक सहयोग मिल्ने भएकाले पनि व्यवसाय गर्न सजिलो छ ।”

नेपाल युवा उद्यमी फोरमको स्टार्टअप अवार्डमा याल ब्राण्ड

यल वेयर्सले केही समयअघि मात्र नेपाल युवा उद्यमी फोरमको स्टार्टअप अवार्ड हात पारेको छ । उक्त अवार्डमा यलले आफुलाई शीर्ष १५ ब्राण्डभित्र अटाउन सकेको हो ।

स्टार्टअप व्यवसायको बारेमा थप जानकारी लिन र केही सिक्न अनि सिकाउन पाइन्छ भन्ने सोचका साथ सहभागिता जनाएका सिद्धार्थमानले आफुले नै अवार्ड पाउने सोचेका थिएनन् । यलमा उनी र उनको पत्नी स्वरोजगार मात्र नभई अन्य चार जनालाई समेत प्रत्यक्ष रोजगारी समेत दिँदै आएका छन् ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments