राष्ट्रिय बीमा संस्थानले चुक्ता पूँजी २ अर्ब पुर्याउने

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२७भाद्र, २०७८, आईतवार / Sep 12, 2021 18:34:pm

सरकारी स्वामित्वको जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपियाँ चुक्ता पूँजी पु¥याउने भएको छ ।

संस्थानको शनिबार संस्थान परिसरमा सम्पन्न ३१ औं साधारण सभामा बोल्दै सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले नियामक बीमा समितिको पछिल्लो निर्देशन अनुरुप पूँजी कायम गर्ने बताए ।

उनले नियामकको निर्देशनमा दुई अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने व्यवस्था रहेकाले संस्थानले सोही अनुसार चुक्ता पुँजी पुर्‍याउनका लागि योजना तयार गरी अर्थ मन्त्रालयमा स्वीकृतिमा लागि पठाइसकेको समेत जानकारी दिए ।

कोरोना प्रभावका बाबजुद पनि संस्थानले गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको उनले बताए । सोही अवधिमा तीन अर्ब १९ करोड ८७ लाख रुपैयाँदाबी भुक्तानी गर्नुका साथै आर्थिक वर्षको अन्त्यमा जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लाख रुपैयाँ रहेको अध्यक्ष कँडेलले जानकारी दिए ।

संस्थानको बाँकी रहेको आर्थिक वर्षहरु २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखा परीक्षण तथा साधारण सभा गरिएको हो । संस्थानले आव २०६६/६७ मा तीन अर्ब चार करोड चार लाख १६ हजार ८२३ आम्दानी गरेको छ भने २०६७/६८ मा तीन अर्ब ७८ करोड ७० लाख ७४ हजार ३१७ रुपैयाँ आम्दानी गरको छ । यस्तै २०६८/६९ मा तीन अर्ब ९० करोड ५७ लाख ८४ हजार २२७ रुपैयाँ आम्दानी गरेको छ ।

संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्न सक्ने भएको भन्दै संस्थानका प्रशासक कविप्रसाद पाठकले आव २०६६/६७ को तुलनामा पछिल्ला वर्षमा बीमा क्षेत्रमा रहेका विविध चुनौतीको सामना गर्दै संस्थानले व्यवसायमा उल्लेख्य वृद्धि गर्दै गएको बताए ।

बीमा समितिले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेसँगै साधारण सभा सम्पन्न गरेको हो ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments