कोरोनाले बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा असोज पहिलो साताबाट खुल्ने

-रासस
काठमाडौं ।
२८भाद्र, २०७८, सोमबार / Sep 13, 2021 16:06:pm

कोरोनाले बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको हो ।

विश्वकै उत्कृष्ट १० मध्येको उक्त पदमार्गमा पर्ने सो आधारशिविर क्षेत्रमा स्वास्थ्यमापदण्ड बनाएर पदयात्रा खोल्न लागिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलीप गुरुङले बताए ।

“पदयात्रामा जानेलाई लक्षित गरी असोज पहिलो साताबाट यो क्षेत्र खुलाउन लागेका हौं”, उनले भने,“पदयात्राका क्रममा पर्यटकलाई कोभिडको आशङ्का लागेमा छोम्रोङमा एन्टिजेन परीक्षणको प्रवन्ध गर्नेबारे छलफल भइरहेको छ ।”

नजिकैबाट हिमाल नियाल्दै पदयात्रा गर्न पाउनु यो पदमार्गको विशिष्टता हो । यहाँ आउनेलाई पर्याप्त सुविधा उपलब्ध गराउन पर्यटन पूर्वाधार विस्तार गर्न व्यवसायी सक्रिय भएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गु्रुङले जानकारी दिए । सो क्षेत्रका २६ होटेलले पर्यटकलाई सेवा दिइरहेका छन् ।

अन्य १० होटेल थप्ने भनिएपनि कोरोनाले त्यो सम्भव भएन । चार दशकअघि उक्त आधारशिविर जाने पर्यटक त्यहाँका भेँडीगोठ र चित्रा/भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता थियो ।

विसं २०४३ मा स्थापित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पहलमा २०४९ सालपछि उक्त क्षेत्रमा होटल सञ्चालनमा आएका हुन् । एक्यापले निर्धारण गरेको मापदण्डअनुसार पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छे« र अन्नपूर्ण आधार शिविरसम्म होटेल चलेका थिए । मापदण्डअनुसार प्रत्येक होटलमा ६ सहित १५६ कोठामा पर्यटक बस्न सकिने व्यवस्था छ ।

कोरोना सुरु हुनुभन्दा अघिका वर्षमा ८० हजार आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने उक्त क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी यसको उचित व्यवस्थापन, प्रवद्र्धनलगायतमा सहयोग पु¥याउने उद्देश्यले २०७४ सालदेखि अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव थालिएको छ । गएको दुई वर्ष सो महोत्सव स्थगित भयो ।

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । आठ हजार ९१ मिटर उचाइको सो हिमाल आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

अन्नपूर्ण आरोहणको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटरको उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेपछि सो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनियो । घान्द्रुकबाट अन्नपूर्ण आधार शिविरसम्म पुग्न बाह्यले सामान्यतः चार र आन्तरिक पर्यटकले तीन दिन लगाउँछन् ।

विगतमा पदयात्रामा आउने बाह्य पर्यटकले स्थानीय परिकार खानुपर्ने बाध्यता थियो । पछिल्ला वर्षमा यहाँका होटेलले विदेशी परिकार पनि पस्कन थालेका छन् ।

एक्यापले स्थानीयवासीलाई बेलाबेलामा तालिम दिँदै आएको छ । होटेलले विदेशी परिकार बनाउन सक्ने कुक राख्न थालेका छन् । होटेलको क्षमता विस्तारसँगै पदमार्ग क्षेत्रका देउरालीको पूर्वतर्फको पहाडमा रहेका बुद्धाकृति, दोभान र हिमालको बीचमा अवस्थित प्राचीन पुजनीयम् बराह तथा सो मन्दिर परिसरबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातोपानीको कुण्डजस्तास्थललाई थप व्यवस्थित गर्न चासो बढ्दै गएको छ ।

कोरोनाले थलिएको पर्यटनलाई विस्तारै पूर्ववत् अवस्थामा फर्काउनुपर्ने वर्तमान अवस्थामा स्वास्थ्य मापदण्डसहित पर्यटकीय गन्तव्य खोल्नुपर्ने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताए । “विश्व बजारमा मापदण्डसहित पर्यटकीयस्थल खुल्न थालेका छन्, हामीले पनि अब पर्यटकीयस्थल बन्द गरेर बस्न हुँदैन”, थापाले भने, “पर्यटक र व्यवसायीलाई सुरक्षित बनाउन चाँडो कोरोना विरुद्धको खोप व्यवस्था गरी थलिएको पर्यटनलाई उठाउनुपर्छ ।”

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments