निर्जीवन बीमा कम्पनीको लगानी साढे ६३ अर्ब, ८१% लगानी मुद्दती निक्षेपमा केन्द्रित

✍️ विजया बाँस्कोटा
काठमाण्डौं।
२८भाद्र, २०७८, सोमबार / Sep 13, 2021 12:56:pm

सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीको गत आर्थिक वर्षमा लगानीका रहेको रकम ६३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आवको चौथो त्रैमासको अवधिसम्ममा कम्पनीहरुले ६३ अर्ब ३९ करोड ४२ लाख ४८ हजार रुपैयाँ लगानी गरेका हुन् । जसमध्ये 'क' 'ख' र 'ग' वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै कुल लगानीको ८१.३० प्रतिशत अर्थात ५१ अर्ब ५३ करोड ८७ लाख रुपैयाँ लगानी रहेको छ ।  नेपाल पुनर्बीमा कम्पनी एक्लैको १६ अर्ब ९६ करोड ४१ लाख ६ हजार रुपैयाँ (२६.७६ प्रतिशत) लगानी छ ।

कम्पनीहरुले बीमा समितिले जारी गरेको लगानी निर्देशिकामा आधारित भएर बैंकको मुद्दती निक्षेप, नेपाल सरकारको ऋणपत्र, घरजग्गा, सूचीकृत कम्पनीहरुको साधारण शेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार तथा संस्थापक शेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गरेका छन् ।

समितिले जारी गरेको लगानी निर्देशिकामा कूल टेक्निकल रिजर्भको ४० प्रतिशतसम्म ‘क’ वर्गको बैंक तथा नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा, कुल टेक्निकल रिजर्भको पाँच प्रतिशत नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको बचतपत्र वा ऋणपत्र, घर जग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको पाँच प्रतिशत लगानी गर्नसक्ने उल्लेख छ । यस्तै सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म लगानी गर्नसक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा साढे ५१ अर्ब लगानी

समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार कम्पनीहरुको लगानीको आकर्षणको क्षेत्र बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा देखिएको छ । बीमा समितिको तथ्याङ्क अनुसार वाणिज्य बैंक विकास बैंक फाइनान्सको मुद्दती निक्षेपमा मात्रै ८१.३० प्रतिशत ५१ अर्ब ५३ करोड ८७ लाख रुपैयाँ लगानी देखिएको छ ।

यसअनुसार सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमा ‘क’ वर्गको बैंकको मु्द्धती निक्षेपमा ४५ अर्ब ५१ करोड १२ लाख रुपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ७१.७९ प्रतिशत हुन आउँछ । यसैगरी ‘ख’ वर्गको विकास बैंकको मुद्धती निक्षेपमा ५ अर्ब ३५ करोड ४८ लाख रुपैयाँ अर्थात ८.४५ प्रतिशत र ‘ग’ वर्गको फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा ६७ करोड २७ लाख रुपैयाँ अर्थात १.०६ प्रतिशत लगानी छ ।

धितोपत्र तथा ऋणपत्रमा लगानी

गत आर्थिक वर्ष २०७७।७८ मा निर्जीवन बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको धितोपत्र तथा ऋणपत्रमा कुल लगानीको साढे १६ प्रतिशत हाराहारीमा लगानी गरेका छन् । गत आवमा कम्पनीहरुले १६ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ लगानी गरेका हुन् । यो कुल लगानी (६३ अर्ब ३९ करोड) को १६.४६ प्रतिशत हुन आउँछ ।

निर्जीवन बीमा कम्पनीहरुको गत आवमा सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा २ अर्ब ५० करोड ९९ लाख रुपैयाँ अर्थात कुल लगानीको ३.६९ प्रतिशत लगानी रहेको छ ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको अग्राधिकार शेयर र ऋणपत्रमा २ अर्ब २५ करोड २८ लाख रुपैयाँ अर्थात कुल लगानीको ३.५५ प्रतिशत र  सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिवेञ्चरमा १ अर्ब ५५ करोड ४६ लाख रुपैयाँ अर्थात कुल लगानीको २.४५ प्रतिशत लगानी रहेको छ ।

यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले म्युचुअल फण्डका इकाई र नागरिक लगानी कोषमा ५६ करोड १९ लाख ४३ हजार रुपैयाँ अर्थात कुल लगानीको ०.८९ प्रतिशत लगानी गरेका छन् ।

 

यस अवधिमा कम्पनीहरुको नेपाल सरकारले बचतपत्र तथा ऋणपत्रमा ५८ करोड ८८ लाख रुपैयाँ लगानी रहेको छ । यो कुल लगानी रकमको ०.९३ प्रतिशत हुन आउँछ ।

अन्यमा शीर्षकमा साढे ३ अर्ब र घर जग्गामा ५ करोड लगानी

निर्जीवन बीमा कम्पनीहरुको गत आर्थिक वर्ष २०७७/७८ मा  अन्यमा शीर्षकमा ३ अर्ब ५६ करोड ३० लाख रुपैयाँ अर्थात कुल लगानीको ५.६२ प्रतिशत लगानी रहेको छ ।

सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीमध्ये घर जग्गाको लगानी शिर्षकमा एभरेष्ट इन्स्योरेन्सले मात्रै लगानी गरेको छ । कम्पनीले ५ करोड ३७ लाख ६३ हजार रुपैयाँ लगानी गरेको छ । जुन कुल लगानीको ०.०८ प्रतिशत हुन आउँछ ।

कृषि पर्यटन तथा जलस्रोत तथा पूर्वधारमा लगानी न्यून

गत आर्थिक वर्ष २०७७/७८ मा ६ वटा निर्जीवन बीमा कम्पनीले कृषि पर्यटन तथा जलस्रोत तथा पूर्वधारमा ७७ करोड ४ लाख ७१ हजार रुपैयाँ लगानी गरेका छन् ।

बीमा कम्पनीहरुको लगानीलाई व्यवस्थित गर्न बीमा समितिले जारी गरेको निर्देशिका बमोजिम कृषि पर्यटन तथा जलस्रोत तया पूर्वधारमा कुल टेक्निकल रिजर्भको बढीमा २० प्रतिशतसम्म लगानी गर्नसक्ने व्यवस्था छ । तर गत आवको तथ्याङ्कको आधारमा हेर्दा उक्त शीर्षकमा न्यून मात्र लगानी रहेको छ ।

कम्पनीहरुको कुल लगानीको १.२२ प्रतिशत मात्रै लगानी कृषि पर्यटन तथा सूर्वाधार क्षेत्रमा गरेका छन् । यसअवधिमा नेको इन्स्योरेन्स, सगरमाथा, प्रभु, पु्रडेन्सियल, शिखर र पुनर्बीमा कम्पनीले उक्त शिर्षकमा ७७ करोड बराबरको रकम लगानी गरेका हुन् ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments