साहस उर्जाको ७० करोडको आईपीओ असोज ६ गतेदेखि बिक्रीमा आउने

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२९भाद्र, २०७८, मंगलवार / Sep 14, 2021 09:01:am

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणमा ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।

यसअघि स्थानीमा शेयर जारी गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन खुला हुनेछ ।

लगानीकर्ताले उक्त आईपीओमा असोज ६ देखि १० गतेसम्म आवेदन दिन सक्नेछन् । र्आपीओमा मेरो शेयरको वेवसाइट, मेरो शेयरको एप, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता लागि र अधिकतम १० लाख ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओलाई इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपि आईआर डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ । डबल बी प्लस रेटिङ्गमा कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले पहिलो चरणमा गत साउन २९ गतेबाट भदौ ११ गतेसम्म आयोजना प्रभावित सोलुखुम्बु जिल्लाबासीका स्थानीयका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ ।

आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर तीन अर्ब ५० करोड पुग्ने छ । उक्त आयोजना ११ अर्ब ८६ करोडमा बनिसक्ने अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको कन्सोर्टियम लिडमा नौ बैंकले आठ अर्ब ६५ करोड ऋण लगानी गरेका छन् ।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्ला र थुलुङ दूधकोशी–१ नेलेमा पर्ने सोलुखोलामा ड्याम निर्माण गरी सुरुङमार्गमार्फत थुलुङदूधकोशी–३ पञ्चनमा विद्युतगृह निर्माण गरिँदैछ । निर्माण कम्पनीका अनुसार अहिले आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

सोलुखोलामा २३.५ मेगावाट क्षमताको माथिल्लो सोलुखोला निर्माण सम्पन्न भएर उत्पादन शुरु भएको छ भने ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला जलविद्युत् आयोजना, १९.५ मेगावटमा बेनी हाइड्रोपावर प्रोजक्टको काम पनि अन्तिम चरणमा पुगेको सम्बन्धित आयोजनाले जनाएका छन् । यद्यपि ती कम्पनीले साधरण शेयर भने वितरण गरेका छैनन् ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments