“नबिल ब्यालेन्सड फण्ड –३” को इकाई खरीद गर्ने आज अन्तिम दिन

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२९भाद्र, २०७८, मंगलवार / Sep 14, 2021 09:25:am

नबिल म्यूचुअल फण्ड अन्तर्गतको “नबिल ब्यालेन्सड फण्ड –३” नामक बन्दमुखी म्युचुअल फण्डको इकाई खरीद गर्ने भदौ २९ गते मंगलबार अन्तिम दिन रहेको छ ।

सर्वसाधारणमा यही भाद्र २५ गतेदेखि प्रति इकाइ १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री खुल्ला गरिएको थियो । फण्ड खरीदका लागि आज ( भाद्र २९ गते) कार्यालय समयभित्र सम्म आवेदन गर्न सकिनेछ ।

सोमबारसम्म फण्डको इकाई खरीदका लागि मागभन्दा २५ प्रतिशत धेरै अर्थात कुल १ लाख ४ हजार ७७९ आवेदकहरुबाट १२ करोड ६२ लाख ५५ हजार ४० इकाई खरीदका लागि आवेदन परेकोे बिक्री प्रबन्धक नबिल इन्भेष्टमेंट बैंकिंग लिमिटेडले जनाएको छ ।

कम्पनीले निष्काशनमा ल्याएको तुलनामा अधिक माग आएकाले योजनाको आकार २५ प्रतिशत बढेर एक अर्ब २५ करोड रुपैयाँ पुग्ने भएको छ ।

नबिल बैंक कोष प्रबर्धक तथा नबिल इन्भेष्टमेंट बैंकिंग लिमिटेड योजना ब्यबस्थापक रहेको यो योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड इकाइ सम्मको लागि आबेदन दिन सक्नेछन ।

१० वर्ष अवधिको बन्दमुखी योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेवसाइट तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

म्युचुअल फण्डले १० करोड इकाइ बिक्री खुला गरेकोमा १४ प्रतिशत १ करोड ४० लाख इकाइ कोष प्रबर्धक कम्पनी नबिल बैंक तथा १ प्रतिशत अर्थात १० लाख इकाइ योजना ब्यबस्थापक नबिल इन्भेस्टमेंट बैंकिंग लि।ले सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइ बिक्री तथा निष्काशन गरेको छ ।

नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नबिल इन्भेष्टमेन्टले हाल कम्पनीले नबिल ब्यालेन्स फण्ड र नबिल इक्विटी फण्ड सञ्चालन गरिरहेको छ । नबिल इन्भेष्टमेन्टको व्यवस्थापनमा सञ्चालन हुने यो तेस्रो योजना हो ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments