'नमस्ते पे' मोबाइल भुक्तानी सेवा व्यावसायिक सञ्चालनमा

-नोटबजार संवाददाता।
काठमाडौं ।
३०भाद्र, २०७८, बुधबार / Sep 15, 2021 11:30:am

नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले 'नमस्ते पे'  मोबाईल वित्तीय सेवाको व्यावसायिक सञ्चालन आरम्भ गरेको छ ।

नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकबीचको मुख्य लगानीमा यो कम्पनी स्थापित भएको हो । मोबाइल वित्तीय सेवा मार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्ने कम्पनीको विश्वास छ ।

मंगलबार आयोजित एक कार्यक्रमबीच नमस्ते पे वालेट सेवाको लोगो अनावरण, एण्ड्रोइड मोबाइल एप अनावरण तथा ५०० शर्टकोड युएसएसडिबाट सो सेवा प्रयोग समेतको शुरुवात गरिएको थियो ।

कोभिड महामारीको कारण सेवा सञ्चालनको लागि खरिद गरिएको उपकरण आपूर्तिमा भएको ढिलाई एवम् सिस्टमको विकास र परिक्षणमा संलग्न जनशक्तिलाई पारेको अप्रत्याशित प्रतिकुल प्रभावको कारण सेवाको व्यावसायिक सञ्चालन शुरु गर्न केही ढिलाई भएको कम्पनीले जनाएको छ।

मोबाइल सेट बजारको ९५% भन्दा बढी हिस्सा ओगटने एण्ड्रोइड सिस्टमको मोबाइल एप यस चरणमा उपलब्ध हुनेछ । आइओएसको लागि केही औपचारिक तयारी बाँकी भएकोले सो सिस्टमका मोबाइलको लागि पनि सेवा यथाशिघ्र सञ्चालनमा ल्याइने कम्पनीको भनाई छ ।

स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी युएसएसडि प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवाको शुभारम्भ गरिएको छ। हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि #500*  डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यस सेवालाई पनि क्रमशः थप विविधिकरण गर्दै लगिने कम्पनीले जनाएको छ ।

 प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन् । यसैगरी मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक सहित करीब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ । बाँकी बैंकहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लगिनेछ । बैंकहरूको अलावा यस कम्पनीको देशव्यापी एजेण्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशिघ्र शुरु गरिनेछ । यसको लागि एजेण्ट नेटवर्क तयार गर्ने कार्य भैरहेको छ ।

नमस्ते पे वालेट छुट्टै मोबाइल वालेट सेवा हो र विभिन्न सञ्चार माध्यम र खासगरी अनलाईन मिडियामा पटक पटक प्रकाशित भए जस्तो नेपाल टेलिकमको मोबाइल ब्यालेन्सलाई नै पैसाको रूपमा उपयोग गर्न सकिने भने हुँदैन । नमस्ते पे वालेटमा बैंक वा एजेण्ट नेटवर्क मार्फत रकम लोड गरेर मात्र विद्युतीय भुक्तानिको लागि प्रयोग गर्न सकिन्छ ।

कम्पनीले चरणवद्ध रूपमा सेवाहरू थप्दै र विविधिकरण गर्दै जाने रणनीति अङ्गिकार गरेको छ ।  सार्वजनिक क्षेत्रबाट पहिलोपटक शुरु हुन लागेको नमस्ते पे वालेट सेवाले देशमा प्रविधिको प्रयोग मार्फत वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अपेक्षा रहेको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments