एचआईडिसिएलको ३२ लाख साधारण सहित ३ करोड ६२ लाख कित्ता अक्सनमा आउने

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
३१भाद्र, २०७८, बिहीबार / Sep 16, 2021 11:27:am

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को ३२ लाख २९ हजार ७२४ कित्ता साधारण शेयर र ३ करोड ३० लाख कित्ता संस्थापक गरी ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर अक्सन अर्थात लिलाम बढाबढमा बिक्रीमा आउने भएको छ ।

कम्पनीले यसअघि साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गरेकोमा अवितरित शेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।

शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले असोज ७ गतेदेखि १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र आवेदन फारम बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल नक्साल काठमाण्डौं तथा ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ्ग, नेपालगंज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन् ।

शेयर खरिदका लागि इच्छुक व्यक्ति, संस्था वा कम्पनीले न्यूनतम मूल्य १०० रुपैयाँ वो सोभन्दा बढी मुल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
साधारण शेयरका लागि न्यूनतम १०० कित्ता र संस्थापक समूहको शेयरका लागि कम्पनीको नियमावलीको नियम १० मा रहेको व्यवस्था अनुसार न्यूनतम १ करोड कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकी रहेको खण्डमा दोस्रो बढी मूल्य बोलकबोल गर्नेले शेयर पाउनेछन् । लिलामीमा आएको शेयर नसकिँदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुनेछ । एचआईडिसीएलले हाल कायम चुक्ता पूँजी ११ अर्बको शतप्रतिशत अर्थात ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। जसमा साउन ५ गतेदेखि भदौ ८ गतेसम्म आवेदन दिन सकिने थियो ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments