ब्याजदरको चेपुवामा रहेको यो साताको नेप्से विश्लेषण

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२आश्विन, २०७८, शनिबार / Sep 18, 2021 16:31:pm

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतार चढावपूर्ण रह्यो । साताको सुरुवाती दिन आइतबार २८७५.९७ बिन्दुमा खुला भएको नेप्से परिसूचक २.२१ प्रतिशत अर्थात ६३.५९ अंक घटेर २८१२.३८ विन्दुमा बन्द भएको छ ।

नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को बिन्दुमा झरेको छ । झन्डै तीन हजार ३०० को विन्दुमा पुगेको नेप्से परिसूचक क्रमशः ओरालो लागेको हो । साताको शेयर बजारमा ३८ अर्ब ३१ करोडको कारोबार भएको छ । गत साता ४२ अर्ब २५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो । यस साता सबै उपसमूहका परिसूचक घटेकोमा फाइनान्स सर्वाधिक ४.७७ प्रतिशत,होटल तथा पर्यटन, जलविद्युत, लगानी र लघुवित्त ३ प्रतिशत धेरैले घटेको छ । अन्य, व्यापार, निर्जीवन बीमा, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरै तथा बैंकिङ्ग र विकास बैंक १ प्रतिशतभन्दा बढी र उत्पादन तथा प्रशोधन सबैभन्दा कम ०.७७ प्रतिशत घटेको छ। 

यस साता कारोबार भएका पाँच दिनमध्ये दुई दिन नेप्से परिसूचकमा सुधार भयो भने तीन दिन ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल २३१ कम्पनीको सात करोड चार लाख ४७ हजार ७१७ कित्ता शेयर ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार ७१५ मूल्यमा खरिद–बिक्री भए ।

बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजदर तथा तरलताको अभावका कारण पनि बजारमा प्रभाव परेको छ । आइतबार साताकै सबैभन्दा धेरै कारोबार भएको थियो । तीन दिन नौ अर्बको कारोबार भए पनि दुई दिन पाँच अर्बमा सीमित भयो ।

साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो । त्यस दिन नेप्से ७१.४३ अङ्कले बढेर दुई हजार ९४७.४२ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ १३.०३ विन्दुले बढेर ५४८.२९ मा पुग्यो । कूल २३१ कम्पनीको एक करोड ७१ लाख ३३३ कित्ता शेयर ९ अर्ब ४४ करोड ३५ हजार २४४ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै ०.०५ विन्दुले ओरालो लाग्यो भने १२ उपसमूहको शेयर उकालो लागेको थियो । त्यस दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही ७३ करोड ७७ लाख आठ हजार ६८५ बराबरको खरिद बिक्री भयो । आइतबार विभिन्न नौ कम्पनीका शेयरमा सर्किट लाग्यो ।

साताको दोस्रो दिन नेप्सेमा झिनो अङ्कको वृद्धि भयो । त्यस दिन नेप्से परिसूचक ०.२७ विन्दुले उकालो लागेर दुई हजार ९४७.६९ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ०.५५ विन्दुले बढेर ५४८.८७ मा पुग्यो । कूल २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार १५५ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार बराबर पुग्यो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर ओरालो लाग्यो । त्यस दिन पनि कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही ६१ करोड ९३ लाख ५० हजार ७९३ बराबरको शेयर खरिद बिक्री भयो । त्यस दिन नेप्सेमा अजोड अजोड इन्सुरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्सुरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

साताको तेस्रो दिन नेप्सेमा दोहोरो अङ्कको गिरावट देखियो । नेप्से परिसूचक १८.५४ विन्दुले ओरालो लागेर दुई हजार ९२९.२८ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.२१ विन्दुले ओरालो लागेर ५४५.६६ मा पुग्यो । नेप्सेसँगै कारोबार रकम समेत घट्न पुग्यो । कूल २२२ कम्पनीको एक करोड छ लाख ३९ हजार ८२६ कित्ता शेयर पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ मूल्यमा खरिद बिक्री भए ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ९९ अर्ब ५१ करोड ७२ लाख ४० हजारको हाराहारीमा रहेको थियो । त्यस दिन कारोबार भएका १३ वटै उपसमूहको शेयरसमेत ओरालो लाग्यो । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही २७ करोड तीन लाख ७० हजार ५२४ बराबरको शेयर खरिद बिक्री भयो ।

साताको चौथो दिन बुधबार नेप्सेमा उच्च अङ्कको गिरावट देखियो । त्यस दिन नेप्से ४०.२६ अङ्कले घटेर दुई हजार ८८९.०३ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१६ विन्दुले घटेर ५३८.५० मा सीमित भयो । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत पाँच अर्बमा सीमित भयो । कूल २२२ कम्पनीको एक करोड पाँच लाख ५७ हजार ८६६ कित्ता शेयर रु पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ मूल्यमा खरिद बिक्री भए ।

बुधबारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ४३ अर्ब १८ करोड ९७ लाख ५० हजार बराबर रहन पुग्यो । कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लाग्न पुग्यो ।

शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा पहिरो लाग्यो तर कारोबार ९ अर्बमाथि रह्यो । त्यस दिन नेप्से परिसूचक ७६.६५ विन्दुले ओरालो लागेर दुई हजार ८१२.३८ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.७३ अङ्कले घटेर ५२५.७८ मा सीमित भयो ।

कूल २२९ कम्पनीको एक करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर ९ अर्ब तीन करोड ३९ लाख ६२३ मा कारोबार भयो । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागे ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments