चौधरी ग्रुपदेखि गोल्छा अर्गनाइजेसनसम्म सम्बद्ध १६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

खोज पत्रकारिता केन्द्र
काठमाडौं।
१८आश्विन, २०७८, सोमबार / Oct 04, 2021 08:09:am

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद-बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको छ ।

आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासा अनुसार, नेपालका दुई ठूला व्यापारिक घराना – चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिहरू समेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो ।

अमेरिकाको वासिङटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’ लाई उपलब्ध गराएको कागजात अनुसार प्रतिनिधिसभा सदस्य तथा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको छ । ती कम्पनीहरू विनोद चौधरी, उनकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलको नाममा छन् ।

आईसीआईजे

यस्तै अफशोर कम्पनी खोलेर कारोबार गर्नेमा नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसन पनि छ । गोल्छा अर्गनाइजेशन सम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमै कम्पनी छ । 

त्यसैगरी खोपके नेपालकै यसअघिको खुलासा नेपालिक्समा उल्लेख भएका नेपाली नागरिकहरू अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनीहरू पनि सञ्चालनमा रहेको तथ्य फेला परेको छ ।

यसबाहेक ललितपुर पुल्चोक ठेगाना भएका राजेन्द्र शाक्य र अन्य नेपाली व्यवसायीहरू– सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, काठमाडौं ज्ञानेश्वरका सुधीर मित्तल, नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सराफको लगानीमा पनि ट्याक्स हेभन मुलुकमा कम्पनी सञ्चालनमा रहेको देखिएको छ ।

गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न पाइन्न । आयकर ऐन–२०५८ ले ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’ लाई ‘बासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी व्यवस्था गरेको छ । “यो व्यवस्था अनुसार कुनै नेपाली नागरिक १८३ दिन विदेशमा बस्छ, त्यसपछि उसले विदेशमै आम्दानी गर्छ भने त्यहाँ लगानी गर्न पाउँछ” पूर्व अर्थ सचिव रामेश्वर खनाल भन्छन्, “यसबाहेक नेपाली नागरिकको  विदेशमा लगानी गैरकानूनी हो ।”

अर्थात् ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशका बैंकमा खाता खोल्नेदेखि कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैनन् । ऐन विपरीत काम गरेमा ‘बिगो बमोजिम जरिवाना, ६ महीना कैद वा दुवै सजाय’ हुने व्यवस्था छ ।

गैरआवासीय नेपालीले पनि कर छली गर्न सजिलो मानिने, सम्पत्तिको स्रोत खुलाउन नपर्ने र अवैध आर्जनबाट प्राप्त सम्पत्ति समेत लुकाउन सजिलो ठानिने ट्याक्स हेभन मुलुकमा लगानी गरेको देखिनु अपारदर्शी कारोबार र वैधताका दृष्टिले गम्भीर प्रश्न हो ।

ट्याक्स हेभन मुलुकमा ‘अफशोर कम्पनी’ खोलेर लगानी गर्नु किन गम्भीर विषय हो भन्ने बारेमा आईसीआईजेका निर्देशक जेरार्ड रायलले प्रष्ट्याएका छन् । प्यान्डोरा पेपर्स सार्वजनिक हुनुअघि अष्टे«लियाको एबीसी टेलिभिजनलाई अन्तर्वार्ता दिंदै रायलले ‘अफशोर कारोबारले सम्बन्धित देशमा असमानता र गरीबी बढाउनेदेखि कर बापत आउनुपर्ने रकम मुलुकले गुमाइरहेको’ बताएका छन् । उनको भनाइमा यस्तो कारोबारबाट व्यापारी, नेता, सरकारी अधिकारी र अपराधीहरू अफशोर गोपनीयताको फाइदा उठाएर लाभान्वित भएका छन् ।

‘आम मानिसले अफशोर दुनियाँ विरुद्ध आवाज उठाउन किन जरूरी छ भने, यसले गरीबी बढाउँछ, असमानता निम्त्याउँछ । जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन् शरणार्थी समस्या जस्ता थुप्रै समस्या निम्तन्छन् । मूलभूत रूपमा संसारका सबै खराबीलाई व्यवस्थामा भित्र्याइन्छ र, त्यो व्यवस्थाको उद्देश्य केही व्यक्तिलाई समृद्ध बनाउनुभन्दा अर्को हुँदैन’, अन्तर्वार्तामा रायलले भनेका छन् । 

नेपालको सन्दर्भमा पूर्णकालीन राजनीतिज्ञहरूको हालसम्म अफशोर कारोबारमा नाम उल्लेख नभए पनि त्यस्तो कारोबार गर्नेहरूलाई उनीहरूको साथ देखिन्छ । किनकि हालसम्म ५५ नेपाली तथा गैर आवासीय नेपालीले अफशोर कारोबार गरेको विवरण खोपकेले नेपालिक्स मार्फत २ माघ २०७५ मा नै खुलासा गरिसकेको छ ।

यस्तो विवरण सार्वजनिक हुँदा समेत राज्यका शक्तिशाली निकायहरूको मौनता जारी छ । यी निकायको मौनताले ट्याक्स हेभन मुलुकमा नेपालीको लगानीलाई प्रोत्साहन गरिरहेको देखिन्छ । प्यान्डोरा पेपर्स त्यसको एउटा उदाहरण हो ।

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेल नेपालीले विदेशी मुद्रामा विदेशमा लगानी गर्न अनुमति नपाउने बताए । ‘हामीले नेपाली नागरिकलाई विदेशमा विदेशी मुद्रा लगानी गर्न दिंदैनौं । ‘अनुमति नै नलिएर उहाँहरुले लगानी गरेको भए यो विषय प्रहरी, अन्य निकाय र मन्त्रिपरिषद्सम्म जान सक्छ,’ उनले भने, ‘यस्तो हो भने यो विषयमा सांसद र प्रहरी–प्रशासनलाई जानकारी गराएर अनुसन्धान अघि बढाउनुपर्छ ।’

ट्याक्स हेभन मुलुकमा चौधरी परिवारैको लगानी

राहुल चौधरी, विनोद चौधरीे, निर्वाण चौधरी, बरुण चौधरी ।    तस्वीरः विनोद चौधरीको ट्वीटरबाट

नेपाली ‘कानूनमा रहेका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने विनोद चौधरी सहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन मुलुकमा लगानी गरेको फेला परेको छ ।

आईसीआईजेले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको विवरण अनुसार चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमा तीन, सिंगापुरमा एक र पनामामा एक कम्पनी दर्ता छ ।

‘प्यान्डोरा पेपर्स’ अनुसार ब्रिटिश भर्जिन आइल्याण्डमा सिनोभेसन इन्कर्पोरेटेड, सिजी होटल्स एण्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सिजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामका कम्पनी चौधरी परिवारका सदस्यहरूको नाममा दर्ता छ ।

चौधरीले आफ्नो पुस्तक तथा विभिन्न अन्तर्वार्तामा विदेशमा कानूनसम्मत लगानी गरेको र त्यसको वैधतामा प्रश्न उठाउने ठाउँ नरहेको बताउने गरे पनि उनले कर छल्ने उद्देश्यले खोलिएका कम्पनीमा नेपालको कानून विरुद्ध हुने गरी लगानी गरेको ‘प्यान्डोरा पेपर्स’ लिक्सका विवरणले देखाउँछ ।

‘प्यान्डोरा पेपर्स’ लिक्सका अनुसार, चौधरीले गरेको नेपाली कानूनका छिद्रको उपयोग, त्यसको वैधतामाथिको प्रश्न र उनका साझेदारमाथि मनी लाउण्डरिङ आशंकाको विषयमा स्पष्ट हुन उनकै आत्मकथामा उल्लेख सूचना केलाउनुपर्ने हुन्छ ।

‘मेरा लागि सबैभन्दा ठूलो चुनौती थियो कानूनले छोडेका छिद्रहरू पहिल्याउने र यस्तरी पाइला सार्ने ताकि, मेरो विदेशी लगानीमाथि कसैले कानूनी प्रश्न उठाउन नसकोस्’ सन् २०१३ मा प्रकाशित ‘विनोद चौधरी ः आत्मकथा’ शीर्षकको पुस्तकमा चौधरीले भनेका छन् । त्यसका लागि आयकर ऐनको ‘बासिन्दा व्यक्ति’ सम्बन्धी प्रावधानलाई उनले ‘छिद्र’ को रूपमा व्याख्या गरेका छन् ।

“वर्षको १८३ दिनभन्दा बढी विदेश बस्ने नेपाली नागरिक गैरआवासीय नेपालीको रूपमा दरिन्थ्यो । उसले विदेशमा लगानी गर्न छूट पाउँथ्यो” चौधरीले भनेका छन्, “मैले यसैको फाइदा उठाउँदै वर्षको १८३ दिनभन्दा बढी विदेश बसेर आफ्नै देशको अस्थायी नागरिक बन्ने निर्णय गरें । आज मेरा दुई जना छोरा राहुल र बरुणले गैरआवासीय नेपालीको हैसियतमा विदेशको कारोबार गरिरहेका छन् ।”

तर, प्यान्डोरा लिक्स अनुसार, उनकी श्रीमती सारिकादेवी र जेठा छोरा निर्वाण (दुवै नेपाली नागरिक हुन्) को नाममा समेत ब्रिटिश भर्जिन आइल्याण्डमा लगानी भेटिएको छ । अर्थात् ब्रिटिश भर्जिन आइल्याण्डको सिनोभेसन इन्कर्पोरेटेडमा उनी सहित परिवारका पाँच जना सदस्यको लगानी रहेको भेटिएको छ । सिंगापुरको सिजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडीमा भने उनका तीन छोरा र श्रीमतीको लगानी छ । अर्कोतर्फ चौधरीले आयकर ऐन–२०५८ को व्यवस्थाको उल्टो व्याख्या गरेर विदेशमा लगानी गरेको जानकारहरूको टिप्पणी छ । ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’ लाई ‘बासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी आयकर ऐनले व्यवस्था गरेको छ ।

“यो व्यवस्थालाई उहाँले गलत रूपमा प्रयोग गर्नुभएको छ” पूर्व अर्थ सचिव रामेश्वर खनालले भने, “यो व्यवस्थाले नेपालबाट विदेशमा पैसा लैजाने र त्यहाँ लगानी गर्नका लागि छुट दिएको हैन । कुनै नेपाली नागरिक १८३ दिन विदेशमा बस्छ, त्यसपछि उसले आम्दानी गर्छ भने विदेशमै लगानी गर्न पाउँछ ।” तर चौधरीले नेपालबाटै रकम लगेर विदेशमा लगानी गरेको हुुँदा उनको दाबी ‘तर्कसंगत’ नभएको खनालको प्रतिक्रिया छ ।

“नबिल बैंकको विदेशी लगानीकर्ताले पाउने लाभांश रकम विदेश लगिएको छ” खनालले भने, “तर त्यो कम्पनीको मालिक त उहाँ नै हुनुहुँदोरहेछ । त्यही रकमबाट उहाँले विदेशमा लगानी गर्नुभएको हुनसक्छ । नेपालबाट लगिएको रकमलाई उहाँले विदेशमा बस्ने छोराहरूले कमाएको हो, भनेर पुष्टि गर्न खोज्नुभएको छ जुन गलत हो ।” यस आधारमा पनि चौधरीले विदेशमा गरेको लगानीको वैधतामाथि प्रश्न खडा भएको छ ।

अर्कोतर्फ दुई छोरा (जो गैरआवासीय हैसियतमा छन्) बाहेक विनोद, उनका जेठा छोरा निर्वाण र श्रीमतीको नाममा समेत विदेशमा लगानी गैरकानूनी हो । किनभने नेपाली कानून (विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१) ले राष्ट्र बैंकको अनुमति बेगर विदेशमा लगानी गर्न पाइँदैन । यस कानून बमोजिम विदेशमा लगानी गर्ने भए नेपाल राष्ट्र बैंकबाट अनुमति लिएको हुनुपर्छ । तर, ‘प्यान्डोरा पेपर्स’ ले खुलासा गरेका केही कम्पनीमा लगानी गर्न राष्ट्र बैंकबाट विनोद, उनका जेठा छोरा निर्वाण र श्रीमती सारिकाले अनुमति नलिएको राष्ट्र बैंक स्रोत बताउँछ ।

“विदेशीले ब्रिटिश भर्जिन आइल्याण्डस्थित सिनोभेसन कम्पनीमा ५० हजार थान कित्ता शेयर गिफ्ट पाएको हुनाले त्यसमा आफ्नो नाम रहने गरी विनोदले अनुमति लिएका छन्” राष्ट्र बैंक स्रोत भन्छ, “यस बाहेक अन्य कुनै पनि कम्पनीमा लगानी गर्न विनोद, निर्वाण र सारिकाले अनुमति लिएको विवरण हामीले फेला पारेनौं ।”

हाम्रो खोजमा पनि सिनोभेसनका लागि अनुमति लिएको बाहेक अरू कुनै पनि विदेशी कम्पनीमा लगानी गर्न चौधरीले राष्ट्र बैंकबाट अनुमति लिएको तथ्य सार्वजनिक अभिलेखमा फेला परेन ।

उल्लिखित आरोपहरूमाथि चौधरी ग्रुपले छोटो प्रतिक्रिया दिंदै नेपाल र विदेशी कानूनको उल्लंघन नगरेको जनाएको छ । “मेरा बुवा एवम् सीजीका अध्यक्षका अनुसार सिनोभेसन र हाम्रा सबै कम्पनी समूहले विदेशी लगानी सम्बन्धी नेपाली कानून सहित लागू भएका सबै कानून पालन गरेका छन् । त्यसैले तपाईंको इमेलमा उल्लिखित अनुसन्धान सम्बन्धमा हाम्रा थप टिप्पणी र विचार छैनन्” खोज पत्रकारिता केन्द्रका लागि वाशिङ्टन पोष्टका पत्रकार पीटर होरिस्कीले सोधेको प्रश्नमा जवाफ दिँदै राहुल चौधरीले भनेका छन् ।

गोल्छा परिवारकोे अफशोर कारोबार

गोल्छा परिवारका लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी छ । ‘फ्ल्याटउड लिमिटेड’ उनीहरूको लगानीमा स्थापना भएको कम्पनी हो । उनीहरू सबैले नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर उक्त कम्पनी स्थापना गरेको विवरणबाट देखिन्छ ।

जेनेभास्थित ल फर्म ओभरसिज म्यानेजमेन्टको रेकर्ड अनुसार उक्त कम्पनी मार्फत गरिने कारोबारका लागि उनीहरूले स्विट्जरल्याण्डस्थित बार्कलेज बैंकमा खाता पनि खोलेका छन् । उक्त खाता सञ्चालनका लागि १२ फेब्रुअरी २००८ मा दिवाकर, हितेश र लोकमान्य गोल्छालाई कम्पनीले अधिकार दिएको कागजातबाट स्पष्ट हुन्छ । फ्ल्याटउड लिमिटेड नामक कम्पनी मार्फत दिवाकर गोल्छा लगायतको समूहले सन् २००८ मा नेपालको इष्टर्न सुगर मिल्सको शेयर खरीद गर्ने निर्णय गरेको भेटिएको छ ।

यो कम्पनीले मिल्सको १३१७.५०० कित्ता शेयर खरीद गरेको पाइएको हो । तर केही समयपछि फ्ल्याटउड लिमिटेडले मिल्सको केही प्रतिशत शेयर हुलास मेटल क्राफ्ट लिमिटेडका नाममा स्थानान्तरण गरेको देखिन्छ । १५ फेब्रुअरी २००८ मा फ्ल्याटउडले मिलको १३१७.५०० कित्ता शेयरमध्ये ३८४.१६६ कित्ता शेयर हुलास मेटल क्राफ्ट लिमिटेडका नाममा स्थानान्तरण गरेको पाइएको छ ।

फ्ल्याटउडले सन् २००८ मा मिल्सका नाममा लेखेको पत्र अनुसार, त्यतिबेलासम्म फ्ल्याटउडको मिल्समा ९३३.३४४ कित्ता शेयर थियो । सोही पत्र अनुसार फ्ल्याटउडले हुलासलाई मिल्सबाट २८८.१२५ कित्ता अतिरिक्त हकप्रद शेयर खरीद गर्ने गरी जिम्मा दिएको देखिन्छ । हुलास मेटल क्राफ्ट पनि गोल्छा अर्गनाइजेशनकै कम्पनी हो ।

सन् २०१९ मा खोपकेले सार्वजनिक गरेको नेपालिक्स अनुसार ‘ट्याक्स हेभन’ मुलुक ब्रिटिश भर्जिन आइल्याण्डबाट सबैभन्दा पहिला लगानी भित्र्याउनेमा गोल्छा अर्गनाइजेशन पर्छ । ‘यो अर्गनाइजेशनले नवलपरासीको नेपाल बोर्ड्स् लिमिटेड उद्योगमा फ्ल्याटउड लिमिटेड कम्पनी मार्फत लगानी भित्र्याएको हो,’ नेपालिक्समा भनिएको छ, ‘गोल्छा अर्गनाइजेशनले साजसज्जाका लागि प्रयोग गरिने काठका सामग्री बनाउने उद्योगका लागि २०५० सालमा २ करोड ८८ लाख ६८ हजार ७८० रुपैयाँ विदेशी लगानी भित्र्याउने अनुमति लिएको थियो ।’

यसरी हेर्दा फ्ल्याटउड लिमिटेडबाट उनीहरूले नै नेपालमा सञ्चालन गरेका तीन वटा कम्पनीहरूमा विदेशी लगानी ल्याएको देखिन्छ । जुन कम्पनीबाट विदेशी लगानी यहाँ ल्याइयो त्यही कम्पनी ब्रिटिश भर्जिन आइल्याण्डमा गोल्छा परिवारका पाँच जनाको नाममा रहेको ‘प्यान्डोरा पेपर्स’ले खुलासा गरेको छ ।

लोकमान्य गोल्छा नेपाल चेम्बर अफ कमर्सका मानार्थ उपाध्यक्ष हुन् । नेपाल चेम्बर अफ कमर्सको वेबसाइटमा उल्लेख भएको विवरण अनुसार हाल हंसराज हुलासचन्द एण्ड को, हुलास वायर इण्डष्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायतका कम्पनीहरू सञ्चालनमा छन् ।

इस्र्टन सुगर मिल र हुलासमा फ्ल्याट उडले लगानी गरेको लोकमान्य गोल्छाले स्वीकार गरे । “त्यो धेरै पुरानो कुरा भएकाले डिटेल थाहा छैन । मैले इन्डस्ट्री हेरेको छैन । त्यो मेरो भाई दिवाकरले हेथ्र्यो”, उनले भने । तर ब्रिटिस भर्जिन आईल्याण्डस्थित फ्ल्याटउडमा गोल्छा परिवारका सदस्यहरुको नाममा दर्ता भएको बारे थाहा नभएको उनको प्रतिक्रिया छ ।

सुमार्गीका पाँच कम्पनी

अनौपचारिक माध्यमबाट रकम विदेश पुर्‍याउने, त्यहाँ कम्पनी खडा गर्ने र ती कम्पनीबाट फेरि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भन्दै नेपालमा पैसा ल्याउने कार्यमा संलग्न अजेयराज सुमार्गीको अफशोर कारोबारका थप विवरण फेला परेका छन् । यसअघि उनको बारेमा खोपकेले आईसीआईजेसँगको सहकार्यमा २ माघ २०७५ मा शंकास्पद धनको ओसारपसार सम्बन्धी खुलासा गरेको थियो ।

नेपालिक्स खुलासा अनुसार ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता भएको जोधार इन्भेष्टमेन्ट कम्पनीबाट सुमार्गीका नेपालस्थित कम्पनीहरूमा ४ करोड ८३ लाख ७२ हजार २२२ अमेरिकी डलर (४ अर्ब ८३ करोड ७२ लाख २२ हजार २१० रुपैयाँ) भित्रिएको छ ।

यस पटकको प्यान्डोरा पेपर्सका अनुसार सुमार्गी सन् २०१० मा ब्रिटिश भर्जिन आइल्याण्डमा खोलिएको जोधार इन्भेष्टमेन्ट लिमिटेड नामक कम्पनीका ‘लाभार्थी मालिक’ (बेनिफिसियल ओनर) हुन् । उनी यो कम्पनीमा निर्देशकको भूमिकामा पनि छन् । त्यसका लागि सुमार्गीले हेलेनिक बैंक पब्लिक लिमिटेडमा कम्पनीका तर्फबाट आफ्नै हस्ताक्षर चल्ने गरी खाता खोलेको पाइएको छ । काठमाडौं, बानेश्वर निवासी सुमार्गीले आफ्नो ठेगाना बेलायत उल्लेख गरेका छन् । सुमार्गीसँगै यो कम्पनीका ‘लाभार्थी मालिक’ साइप्रसका वकिल तथा उनका बिजनेस पार्टनर सोटिरिओस् पिट्टास पनि रहेको भेटिएको छ ।

जोधारको निर्देशक कम्पनी एड्ली कन्सल्ट्यान्टस् लिमिटेड र अन्य तीन जना साइप्रसका नागरिक छन् । जोधारमा एक अमेरिकी डलरका दरले ५० हजार कित्ता साधारण शेयर लगानी गरेर फोनफाइडर सर्भिस लिमिटेड सन् २०१० मा साधारण शेयर सदस्यका रूपमा भित्रिएको कागजातहरूले देखाउँछन् ।

प्यान्डोरा पेपर्सका अनुसार यसबाहेक सुमार्गीले ९ सेप्टेम्बर २०११ मा ब्रिटिश भर्जिन आइल्याण्डको वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडमा पनि लगानी गरेको भेटिएको छ । सन् २०१८ को एक रेकर्ड अनुसार अजेय सुमार्गी यो कम्पनीका लाभार्थी मालिक र निर्देशक हुन् । यो कम्पनीको निर्देशक कम्पनी एड्ली कन्सल्ट्यान्टस् लिमिटेड पनि रहेको कागजातहरूले देखाउँछन् । 

वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडले एक डलरका दरले ५० हजार कित्ता शेयर लगानी गर्ने अनुमति पाएको देखिन्छ । यसै अनुसार फोनफाइडर सर्भिस लिमिटेडले वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडमा ५० हजार कित्ता साधारण शेयर लगानी गरेको छ ।

सुमार्गीको ब्रिटिश भर्जिन आइल्याण्डस्थित द अवेज इन्टरनेशनल लिमिटेडमा पनि लगानी भेटिएको छ । उनले सन् २००८ मा कम्पनी खोलेर लगानी गरेका हुन् । यो कम्पनीमा ब्रिटिश भर्जिन आइल्याण्डको अस्मिताज् वल्र्ड लिमिटेडको पनि लगानी रहेको पाइएको छ । सुमार्गीले यो कम्पनीको नाम श्रीमती अस्मिताको नामसँग मिल्दो राखेका छन्।

अस्मिता वल्र्ड लिमिटेडको सञ्चालक पनि सुमार्गी नै हुन् । आईसीआईजेबाट प्राप्त कागजात अनुसार सन् २००८ मा उक्त कम्पनीमा लगानी गरेका सुमार्गी कम्पनीका लाभार्थी मालिक, शेयर लगानीकर्ता र निर्देशक हुन् । उनले यो कम्पनीको १०० कित्ता शेयर खरीद गरेका थिए ।  कम्पनीको सम्पत्तिको स्रोतहरू हेटौंडा लाइम इण्डष्ट्री प्रा.लि, एभरेष्ट मिनरल प्रडक्ट्स प्रा.लि, मुक्तिश्री प्रा.लि भएको कागजातहरूले देखाएको छ । जुन सुमार्गीको लगानीका नेपाली कम्पनीहरू हुन् ।

अजेयराज सुमार्गीको काठमाडौं बानेश्वरस्थित मुक्तिश्री टावर । तस्वीरः विजय गजमेर/खाेपके

अस्मिताज् कम्पनीले एक डलरका दरले द अवेज कम्पनीमा १०० कित्ता शेयर लगानी गरेको भेटिएको छ ।

द अवेज इन्टरनेशनल लिमिटेडको दर्तावाला एजेन्ट कम्पनी ब्रिटिश भर्जिन आइल्याण्डको फाइडेलिटी कर्पोरेट सर्भिस लिमिटेड हो । यो कम्पनीमा सुमार्गीको अर्को कम्पनी अस्मिताज् वल्र्ड लिमिटेडले प्रति कित्ता एक अमेरिकी डलरका दरले १०० कित्ता शेयर लगानी गरेको भेटिएको छ ।

अजेयराज सुमार्गीको ब्रिटिश भर्जिन आइल्याण्डकै ‘द न्यू डिजिटेक इन्टरनेशनल’ लिमिटेडमा पनि लगानी रहेको देखिन्छ । उनी यो कम्पनीका निर्देशक हुन् । कम्पनीको शेयर होल्डर अस्मिताज् वल्र्ड लिमिटेड पनि हो । अस्मिताज्ले एक डलरका दरले १०० कित्ता शेयर उक्त कम्पनीमा लगानी गरेको भेटिएको छ ।

यो अन्तर्राष्ट्रिय चर्चित कम्पनीको शेयर खरीद र बिक्री गर्ने र विभिन्न देशबाट अनुमति लिएर टेलिकम सम्बन्धी व्यापार गर्ने प्रकृतिको कम्पनी हो । यसले एशिया क्षेत्र– नेपालमा काम गर्ने अनुमति लिएको छ । एक गोप्य कागजात अनुसार यो कम्पनीको उद्देश्य नेपालमा मोबाइल फोनका लागि ‘एयर टाइम प्रदान’ गर्ने एउटा नेपाली कम्पनीको ५० प्रतिशत शेयर होल्ड गर्ने हो ।

र, यो कम्पनीको मुख्य टे«डिङ पार्टनरमा नेपाल टेलिकम प्राइभेट लिमिटेड कम्पनी रहेको पाइएको छ । द न्यू डिजिटेक इन्टरनेशनल लिमिटेड कम्पनीको लगानीको प्रारम्भिक स्रोत यसका निर्देशक अजेयराज सुमार्गी आफैं र होल्डिङ कम्पनी अस्मिताज् वल्र्ड लिमिटेड रहेको उल्लेख छ । यो कम्पनीमा सुमार्गीको अर्को कम्पनी अस्मिताज् वल्र्ड लिमिटेडले १०० अमेरिकी डलर बराबरको १०० कित्ता शेयर लगानी गरेको छ । कम्पनीको सम्पत्तिको स्रोतहरू मुक्तिश्री प्रा.लि र नेपाल स्याटेलाइट टेलिकम लिमिटेड भएको कागजातहरूले देखाएको छ ।

कर छलीका लागि अति अनुकूल मानिने ब्रिटिश भर्जिन आइल्याण्डमा यसरी आफ्नै नाममा दर्ता भएको ‘द न्यू डिजिटेक इन्टरनेशनल’बाट सुमार्गीले सन् २००८ मा ३ लाख ८० हजार ब्रिटिश पाउण्ड विदेशी लगानी (एफडीआई) नेपाल भित्र्याएको तथ्य पनि यसअघि नै नेपालिक्स मार्फत खुलासा भइसकेको छ । द न्यू डिजिटेक कम्पनीको स्रोतको रूपमा सुमार्गीको नेपाली कम्पनी मुक्तिश्री प्रा.लि रहेको खुलेको छ ।

नेपालको कानूनी व्यवस्था अनुसार विदेशमा गैरकानूनी रूपमा कम्पनी खोलेका सुमार्गीले त्यहाँको नीतिगत व्यवस्थाको समेत उल्लंघन गरेको विवरण फेला परेको छ । कम्पनी दर्ता गरिदिने ‘ल फर्म’ले जोधार इन्भेष्टमेन्ट लिमिटेडले सुमार्गीको हाल बस्दै आएको ठेगाना, कम्पनीको उद्देश्य, कम्पनीले व्यापार तथा कारोबार गर्ने ठेगाना, कम्पनीको बैंक खाता सम्बन्धी विवरण नबुझाएको भनेर उनीमाथि कारबाहीको चेतावनी दिइएको भेटिएको छ । 

ब्रिटिश भर्जिन आइल्याण्डस्थित ल फर्म कम्पनी ट्राइडेन्ट ट्रष्ट लिमिटेडका कम्प्लायन्स एण्ड मनी लाउन्डरिङ रिपोर्टिङ अफिसरले ८ फेब्रुअरी २०१८ मा सुमार्गीको कम्पनीको कानूनी एजेन्टलाई इमेल लेखेर ९ फेब्रुअरी भित्र आवश्यक सबै काजगात बुझाउन र त्यसो नगरे कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको प्यान्डोरा पेपर्सको विवरणमा उल्लेख छ ।

सुमार्गीका नातेदारको नाममा पनि

सुमार्गीको कम्पनीमा काम गर्दै व्यावसायिक साझेदार हुन पुगेका उनका एक आफन्त अर्जुन शर्माको पनि ट्याक्स हेभन मुलुकमा कम्पनी रहेको विवरण फेला परेको छ । ब्रिटिश भर्जिन आइल्याण्डको ट्राइडेन्ट ट्रष्ट कम्पनीले सन् २०१९ मा राखेको रेकर्ड अनुसार १२ मे २०१० मा ब्रिटिश भर्जिन आइल्याण्डको डेलोर भेन्चर्स लिमिटेडमा नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर अर्जुनप्रसाद शर्माले लगानी गरेका हुन् ।

यो कम्पनीमा ब्रिटिश भर्जिन आइल्याण्डकै एडीली कन्सल्ट्यान्ट लिमिटेड नामक अर्को कम्पनी निर्देशकका रूपमा रहेको देखिन्छ । ब्रिटिश भर्जिन आइल्याण्डकै फोनफाइडर सर्भिसेज् लिमिटेड डेलोर भेन्चर्स कम्पनीको शेयर होल्डरका रूपमा छ । फोनफाइडर सन् २०१० मा ५० हजार अमेरिकी डलर साधारण शेयर खरीद गरेर उक्त कम्पनीमा भित्रिएको थियो ।

शर्मालाई उक्त कम्पनीमा लगानी गर्न आवश्यक नेपाली पासपोर्ट लगायतका कागजात प्रमाणीकरण गर्ने काम सन् २०१९, अप्रिलमा साइप्रसस्थित सोटिरिओस् पिट्टास एण्ड को एलएलसी नामक ल फर्मले गरेको भेटिएको छ । थप विवरण खोज्दै जाँदा यो ल फर्मका प्रबन्ध निर्देशक सोटिरिओस् पिट्टास रहेको भेटियो ।

प्यान्डोरा पेपर्समा भएका कागजातहरूले साइप्रसका नागरिक पिट्टास एडीली कन्सल्ट्यान्ट लिमिटेड कम्पनीका निर्देशक तथा मुख्य लगानीकर्ता रहेको खुलासा गरेको छ । आईसीआईजेले यसअघि सार्वजनिक गरेको ‘अफशोर लिक्स’मा सोटिरिओसले ब्रिटिश भर्जिन आइल्याण्ड र साइप्रसमा थप कम्पनीहरू खोलेको भेटिएको थियो । यसले साइप्रसका वकिल तथा एडीली कन्सल्ट्यान्ट लिमिटेडका निर्देशक पिट्टाससँगको साझेदारीमा शर्माले डेलोर भेन्चर्स कम्पनी सञ्चालन गरेको देखाउँछ ।

अफशोर लगानीमा संलग्न सुमार्गी र शर्मालाई टेलिफोन गर्दा उनीहरू सम्पर्कमा आएनन् । उनीहरूलाई पठाइएको सन्देशको पनि कुनै प्रतिक्रिया आएन ।

गुण ग्रुपका राजेन्द्र शाक्यको अफशोर कारोबार

राजेन्द्र शाक्य । तस्वीरः गुण ग्रुपको वेवसाइट

ब्रिटिश भर्जिन आइल्याण्डको गोल्ड टाइम्स ग्लोबल लिमिटेडमा पुल्चोक ललितपुरका राजेन्द्र शाक्यको लगानी रहेको भेटिएको छ । कम्पनीका निर्देशक रहेका उनले कम्पनीमा लगानी गर्ने क्रममा नेपाली पासपोर्ट प्रयोग गरेका छन् । सन् २०१० मा निर्देशकका रूपमा कम्पनीमा भित्रिएका शाक्यको कम्पनीको रजिष्टर्ड एजेन्ट ब्रिटिश भर्जिन आइल्याण्डकै ओभरसिज म्यानेजमेन्ट कम्पनी ट्रष्ट हो ।

शाक्य गुण ग्रुपका अध्यक्ष हुन् । यो ग्रुप मार्फत घरजग्गा, सहकारी तथा गुण एअरलाइन्समा समेत लगानी छ । उनी एक दशकअघि ठूलो आर्थिक संकटमा परेका थिए । ऋण तिर्न नसकेर बैंकको कालोसूचीमा समेत परेका उनको लगानी रहेको गुण सहकारीले तीन करोड ठगी गरेको भन्दै उजुरी परेको थियो । जुन रकम अहिलेसम्म निक्षेपकर्तालाई फिर्ता भएको छैन ।

शाक्यको अन्तर्वाताको लिंक 

अफशोर लगानीमा संलग्न शाक्यसँग टेलिफोन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् । अफशोर लगानीबारेमा पठाइएको सन्देशको पनि उनले प्रतिक्रिया दिएनन् ।

सुहृदराज घिमिरे र पुरुषोत्तम पौडेलको संलग्नता

सुहृदराज घिमिरे (बायाँ) र पुरुषोत्तम पौडेल ।

नेपालमा किया गाडीका बिक्रेता सुहृदराज घिमिरे र उनका व्यावसायिक साझेदार पुरुषोत्तम पौडेलको पनि ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी भेटिएको छ । घिमिरे नेपालस्थित किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष हुन् । पौडेल सोही कम्पनीका कार्यकारी निर्देशक हुन् ।

घिमिरे र पौडेलले सन् २००९ मा ब्रिटिश भर्जिन आइल्याण्डमा ग्रान्ड स्पेक्ट्रम एसेट लिमिटेड नामक कम्पनी स्थापना गरेको भेटिएको हो । यी दुवै जना कम्पनीका लगानीकर्तासँगै निर्देशक पदमा समेत रहेको आईसीआईजेका कागजातहरूले देखाउँछ । उनीहरूले कम्पनी खोल्ने क्रममा नेपाली पासपोर्ट प्रयोग गरेका छन् । घिमिरेले एक अमेरिकी डलरका दरले तीन कित्ता र पौडेलले एक डलरका दरले एक कित्ता शेयर खरीद गरेर यो कम्पनी खोलेको हुन् ।

‘द बीभीआई बिजनेस कम्पनी एक्ट, २००४’ ले यो कम्पनीलाई एक डलरका दरले अधिकतम ५० हजार कित्ता शेयर जारी गर्न सक्ने अधिकार दिएको छ । यो कम्पनीको रजिष्टर्ड एजेन्ट ब्रिटिश भर्जिन आइल्याण्डकै ओभरसिज म्यानेजमेन्ट कम्पनी हो ।

सन् २००९ मा नेराइन ट्रष्ट कम्पनी एजेन्ट रहेको यसले सन् २०१० मा एजेन्ट परिवर्तन गरी ओभरसिज मार्फत काम गर्न थालेको हो । यसरी एजेन्ट परिवर्तन गरिदिने काम सिंगापुरको ‘एक्सप्रेस को रजिष्ट्रेसन एण्ड म्यानेजमेन्ट पिटिई लिमिटेड’ले गरिदिएको देखिन्छ ।

घिमिरे र उनका साझेदार काठमाडौं कपनका पौडेल नेपालको चर्चित ‘ललिता निवास जग्गा प्रकरण’मा समेत जोडिएका व्यक्ति हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा विशेष अदालतमा दायर गरेको आरोप–पत्रमा उल्लेख भए अनुसार पौडेल र घिमिरेकी सासू इन्दु शर्माको नाममा बालुवाटारस्थित ललिता निवास परिसरमा जग्गा छ । 

यसमध्ये ७६३.११ वर्ग मिटर सरकारी जग्गा पौडेलको नाममा कायम भएको छ । डिल्लीबजार मालपोत कार्यालयको अभिलेख अनुसार, १२ आना जग्गा १३ मंसीर २०६३ मा घिमिरेकी सासू इन्दु शर्माको नाममा राजीनामा पास भएको छ । उनीहरू विरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

सन् २०१३ मा आईसीआईजेले नै गरेको अफशोर लिक्समा समेत घिमेरेको नाम समावेश थियो । त्यतिवेला सार्वजनिक भएको विवरण अनुसार घिमिरेको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमा इको बे लिमिटेड नामक कम्पनी छ । पुरुषोत्तम पौडेल पनि उक्त कम्पनीका लगानीकर्ता हुन् । 

अफशोर लगानीमा संलग्न घिमिरे र पौडेललाई टेलिफोन मार्फत सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आएनन् । हामीले पठाएको टेलिफोन सन्देशको पनि उनीहरुले कुनै प्रतिक्रिया दिएनन् ।

सुधीर मित्तलको अफशोर कारोबार

सुधीर मित्तल । तस्वीरः द काठमाडौं पोष्ट

नेपालको पुरानो एअरलाइन्स कम्पनी ‘श्री एअरलाइन्स’का सञ्चालक सुधीर मित्तलको पनि ट्याक्स हेभन मुलुकमा लगानी भेटिएको छ । ज्ञानेश्वर काठमाडौं ठेगाना उल्लेख गरी मित्तलले ब्रिटिश भर्जिन आइल्याण्डमा पेगासस एअर चार्टस् इंक कम्पनी खोलेको भेटिएको छ । प्राप्त कागजात अनुसार मित्तल यो कम्पनीको लाभार्थी मालिक हुन् र उनले कम्पनीका नाममा बैंक खाता पनि खोलेका छन् ।  उनले कम्पनीको सम्पत्तिको उत्तराधिकारी पनि आफैं रहेको कागजातहरू पेश गरेका छन् । पेगाससको निर्देशक कम्पनी साइप्रसको ज्यासिनार लिमिटेड रहेको देखिन्छ ।

उनले सन् २००६ मा ब्रिटिश भर्जिन आइल्याण्डमा ग्रिफन एसेट होल्डिङ्स लिमिटेड नामक अर्को कम्पनीमा पनि लगानी गरेको भेटिएको छ । उनी यो कम्पनीमा लाभार्थी मालिक रहेको कागजातहरूले देखाउँछन् । उनले कम्पनीमा लगानी गर्नका लागि आफ्नो बसाइ युएईमा रहेको उल्लेख गरेका छन् । यो कम्पनीमा उनकै परिवारका सदस्य भारतीय नागरिक अदिती गुप्ता मित्तल, अमेरिकी नागरिक अनन्या मित्तल र  दिभान्स मित्तल पनि लाभार्थी छन् ।

यो कम्पनी दर्ताको काम गरिदिने एजेन्ट कम्पनी ट्राइडेन्ट ट्रष्ट (मरिसस) लिमिटेड हो । ग्रिफनको शेयर होल्डर द एल्केमी ट्रष्टले यो कम्पनीमा प्रतिकित्ता एक डलरका दरले ५० हजार कित्ता शेयर लगानी गरेको छ । सन् २०१६ देखि कम्पनीको निर्देशकमा ब्रिटिश भर्जिन आइल्याण्डको ब्लुस्फेयर लिमिटेड रहेको देखिन्छ ।

सुधीरले द एल्केमीबाट दुई लाख अमेरिकी डलर रकम आफू सहित आफ्नो परिवारका सदस्यको लगानी रहेको ग्रिफनको खातामा सारेको भेटिएको छ । यो काममा नेपालको गोर्खा ठेगाना भएका र पेशाले अकाउन्टेन्ट अशोक रेग्मी साक्षी देखिन्छन् ।

मित्तललाई उनको कारोबारबारे सोध्न फोन सम्पर्क गर्दा उनले भेटेर मात्रै कुराकानी गर्ने बताए । त्यसपछि भने उनले फोन उठाएनन् । अर्को दिन आफैं म्यासेज पठाएका उनले ‘आफु २५ वर्षसम्म नेपालमा नबसेको र बुवाको मृत्युपछि मात्र नेपाल फर्किएको’ बताए । तर आफ्नो अफशोर लगानीबारे प्रतिक्रिया दिन चाहेनन् ।

सुधीरसँग काठमाण्डू पोष्टले लिएको अन्तर्वार्ता

किशोर राना : शंकास्पद कारोबार मार्फत अर्बका मालिक

किशोर राना

नेपाली पासपोर्ट प्रयोग गरी विभिन्न देशमा झन्डै एक दर्जन कम्पनी स्थापना गरेका ३५ वर्षीय किशोर राना शंकास्पद कारोबारबाट अर्बका मालिक भएको देखिन्छ । प्यान्डोरा लिक्समा समावेश विवरण अनुसार सन् २०१७ मा थाइल्याण्डको सुकुम्भित रोडमा बस्दै आएका रानाले कर्ण इन्भेष्टमेन्ट लिमिटेड कम्पनी स्थापना गरेका छन् ।

उनले क्रिप्टो करेन्सी बिक्री गरेर आएको रकमले कर्ण इन्भेष्टमेन्ट कम्पनी खोल्ने प्रयास पनि गरेका थिए । सिंगापुरस्थित ल फर्म एशियासिटी ट्रष्टका कर्मचारीहरूले एकआपसमा गरेको इमेल आदानप्रदान विवरण अनुसार उक्त काम मापदण्ड भन्दा बाहिरको थियो । तर किशोरले क्रिप्टो करेन्सीको कारोबार लगायतको काम गर्ने गरी २५ जुलाई २०१७ मा हङकङमा कर्ण इन्भेष्टमेन्ट नामक कम्पनी खोल्न सफल भए । किशोरको यो कम्पनीको सचिव कम्पनी हङकङस्थित एटीजी सेक्रेटरिज् लिमिटेड हो ।

३१ मे २०१७ मा ब्यांक अफ सिंगापुरले किशोरका नाममा जारी गरेको ब्यांक स्टेटमेन्ट अनुसार उनको क्यानडाको इल्डोराडो गोल्ड कर्पोरेसनमा पनि ६००२९.४ अमेरिकी डलर मूल्य बराबरको २० हजार कित्ता शेयर लगानी छ । इल्डोराडोले अमेरिका, युरोप र एशिया क्षेत्रका विभिन्न खानीहरूमा लगानी तथा कारोबार गर्छ ।

क्यानडाको गोल्ड स्ट्यान्डर्ड भेन्चर कर्पमा पनि राणाले ९० हजार २०० कित्ता शेयर लगानी गरेका छन् । उक्त ब्यांक स्टेटमेन्ट अनुसार उनले तत्कालीन मूल्य अनुसार प्रति कित्ता २.३२९६२ अमेरिकी डलरका दरले २ लाख १० हजार १३१.७२४ अमेरिकी मूल्य बराबरको शेयर खरीद गरेका हुन् ।

यस्तै क्यानडाको तान्जनिया रोयल्टी एक्स्प्लोरेसनमा एक लाख कित्ता शेयर लगानी गरेका छन् । उनले प्रति शेयर ०.४८०६८ सेन्टका दरले उक्त संख्याको शेयर कुल ४८ हजार ६८ अमेरिकी डलर रकममा लगानी गरेका हुन् । यो मिनरल तथा सुन खानी सञ्चालन गर्ने कम्पनी हो ।

उनले क्यानडाको बोन्टेरा रिसोर्सेज् इंक कम्पनीमा पनि दुई लाख कित्ता शेयर लगानी गरेका छन् । प्रति कित्ता ०.३२०६६ क्यानेडियन डलरमा कुल ६४ हजार १३२ क्यानेडियन डलर मूल्य बराबरको शेयर खरीद गरेका हुन् । बोन्टेरा कम्पनीले विभिन्न मुलुकमा सुन खानी सञ्चालन गरिरहेको छ ।

क्यानडाको इन्टिग्रा गोल्ड कर्पोरेसनमा पनि उनले एक लाख ५० हजार कित्ता शेयर लगानी गरेका छन् । उनले प्रति शेयर ०.७७९९२ क्यानेडियन डलरका दरले उक्त कम्पनीमा एक लाख १६ हजार ९८८ क्यानेडियन डलर लगानी गरेका हुन् । इन्टिग्राले सुन उत्पादनको काम गर्दै आएको छ ।

क्यानडाकै ओर्का गोल्ड इंकमा पनि उनले प्रति कित्ता ०.४३६७९ क्यानेडियन डलरका दरले १ लाख ७ हजार ५०० कित्ता शेयर ४६ हजार ९५४.९२५ क्यानेडियन डलरमा खरीद गरेका छन् । यो कम्पनीले पूर्वी अफ्रिकामा सुन खानीहरू सञ्चालन गरिरहेको छ ।

क्यानडाको प्योर गोल्ड माइनिङ इंक नामक अर्को सुन खानी सञ्चालन गर्ने कम्पनीमा पनि उनले ६० हजार कित्ता शेयर लगानी गरेका छन् । रानाले उक्त कम्पनीमा प्रति कित्ता ०.६८३०५ क्यानेडियन डलरका दरले कुल ४० हजार ९८३ मूल्य बराबरको शेयर खरीद गरेको पाइएको हो । यो विश्वकै सबैभन्दा ठूलो सुन खानी सञ्चालन गर्ने कम्पनीमा पर्छ ।

किशोरले ३ फेब्रुअरी २०१७ मा क्यानडाको क्यामेको कर्पोरेसनमा १० हजार कित्ता शेयर लगानी गरेको पाइएको छ । यो विश्वकै ठूलो युरेनियमको व्यापार गर्ने कम्पनी हो । यो सबै विवरण ३१ मे २०१७ मा ब्यांक अफ सिंगापुरले किशोरका नाममा जारी गरेको ब्यांक स्टेटमेन्टबाट देखिएको हो ।

सोही ब्यांक स्टेटमेन्ट अनुसार रानाले अमेरिकाको युरेनियम रिसोर्सेज् इंकमा ३० हजार कित्ता शेयर लगानी गरेका छन् । उनले प्रति कित्ता १.९८७६० अमेरिकी डलरका दरले ५९ हजार ६२८ अमेरिकी डलर मूल्य बराबरको शेयर खरीद गरेको सम्बद्ध कागजातले देखाउँछ ।

थाइल्याण्डको सुकुम्भित रोडमा समेत बस्ने उनको अर्को मुकाम सिंगापुर पनि हो । सिंगापुरको कम्पनी दर्ता गर्ने एजेन्टको कार्यालयमा पेश गरेको विवरण अनुसार उनी त्यहाँका गैरआवासीय नागरिक हुन् । उनको कम्पनी कर्ण इन्भेष्टमेन्ट हङकङमा दर्ता भएकाले उनी त्यहाँ पनि बस्ने गरेका छन् । यसअघि आईसीआईजे र नेपालस्थित खोपकेले गरेको खुलासामा पनि रानाको नाम उल्लेख थियो ।

“आईसीआईजेकै सन् २०१७ को प्याराडाइज पेपर्सले सार्वजनिक गरेको सूचीमा पनि नेपाली नागरिक किशोर रानाको नाम थियो” सन् २०१९ मा खोपकेले गरेको नेपालिक्स खुलासामा भनिएको छ, “इचंगु काठमाडौं ठेगाना उल्लेख भएका रानाले ट्याक्स हेभन मुलुक माल्टामा सेलेस्टियल इन्भेष्टमेन्टस लिमिटेड कम्पनीमा लगानी गरेका छन् । माल्टास्थित कम्पनीको पूरै शेयर उनको नाममा छ ।”

रानाले भर्चुअल मुद्राको कारोबारका लागि खाता खोल्ने क्रममा बेलायतको बिटस्टाम्प लिमिटेडले लगानीको स्रोत खोज्दै इमेल गरेको विवरणहरू फेला परेको छ । यसमा प्रतिक्रिया दिंदै रानाले कम उमेरमै यसमा लगानी थालेको र उनको व्यक्तिगत बचत तथा धेरै ठाउँमा गरेको लगानीको आम्दानी नै यसको स्रोत भएको बताएका छन् ।

रानाले कर्ण इन्भेष्टमेन्ट लिमिटेडका नाममा सिंगापुरको बैंक अफ सिंगापुरमा पनि भर्चुअल मुद्रा कारोबारका लागि खाता खोलेका छन् । सिंगापुरको युनाइटेड ओभरसिज ब्यांक लिमिटेडले पटक–पटक उनको आर्थिक स्रोतबारे प्रश्न गरेको छ ।

किशोरको अथाह मौज्दात

हङकङको युनाइटेड ओभरसिज् ब्यांक लिमिटेडमा रहेको कर्ण इन्भेष्टमेन्ट लिमिटेडको खातामा भएको विवरण अनुसार ३१ जनवरी २०१९ सम्ममा कम्पनीको खातामा २ लाख ४८ हजार ६३१.५९ अमेरिकी डलर जम्मा भएको देखिन्छ । यो मितिसम्ममा कम्पनीको खाताबाट उक्त रकममध्ये ३५ हजार ९८२.३ अमेरिकी डलर निकालेको देखिन्छ । यसबाहेक किशोरको व्यक्तिगत ब्यांक खातामा पनि रकम जम्मा भएको देखिन्छ ।

३१ मे २०१७ मा ब्यांक अफ सिंगापुरले किशोर रानाका नाममा जारी गरेको ब्यांक स्टेटमेन्ट अनुसार उनको क्यास, सजिलै क्यासमा रूपान्तरण गर्न सकिने वस्तु (जस्तै सुन वा चाँदी) र अन्य विभिन्न स्रोत बापत गरी कुल झण्डै दुई लाख अमेरिकी डलर बराबरको रकम थियो । ब्यांकको रेकर्ड अनुसार ३१ मे २०१७ सम्ममा उनको शेयरमा मात्र ५ लाख ६० हजार २९७.९६ अमेरिकी डलर लगानी भएको देखिन्छ । यसरी विभिन्न स्रोतबाट उनले ३१ मे २०१७ सम्ममा कुल ७ लाख ३० हजार ६९० अमेरिकी डलर बराबरको रकम उनको खातामा जम्मा गरेको देखिन्छ ।

रानालाई ह्वाट्स एपमार्फत सम्पर्क गरेर उनको अफशोर कम्पनीमा लगानी र क्रिप्टोकरेन्सीको कारोबार बारे प्रतिक्रिया माग्दा उनले ‘नेपालसँग कुनै कनेक्सन नभएको’ भन्दै प्रतिक्रिया दिन मानेनन्।

को हुन् किशोर ?

किशोर रानाको बायोडेटा अनुसार उनले सन् २०१२ मा अमेरिकाको फ्लोरिडास्थित एम्ब्री रिडल एरोनटिकल युनिभर्सिटीबाट एरोनटिकल साइन्समा स्नातक तहको अध्ययन गरे । त्यसपछि उडान प्रशिक्षकका रूपमा काम गरेका उनी सन् २०१४ मा नेपाल आएका थिए । परिवारसँग नजिक रहनका लागि उनी थाइल्याण्ड गएको विवरण फेला परेको छ । सन् २०१५ मा उनले आफ्नो परिवारबाट एक करोड अमेरिकी डलर रकम विरासतमा पाएको बायोडेटामा उल्लेख छ । उनी थाइल्याण्डमा ३० लाख अमेरिकी डलर मूल्य बराबरको रियल स्टेट सम्पत्तिको मालिक भएको पनि कागजातमा देखिन्छ ।

सिंगापुरको टौरस वेल्थ एडभाइजर नामक कम्पनीका प्रबन्ध निर्देशक धीरज भर्वानीले एशियासिटीका कर्मचारीलाई इमेल मार्फत पठाएको विवरण अनुसार उनले शुरुआतमा स्टार्टअप प्रविधि र विद्युतीय मुद्रामा लगानी गरेका थिए । किशोरले भर्वानीलाई सिंगापुरको ईएफजी बैंकमा खाता खोल्नका लागि उक्त विवरण पठाएको देखिन्छ । कम्पनीमा के कसरी लगानी गर्ने भन्नेबारेमा परामर्श दिने धीरजसँग किशोर पनि सोही कामको लागि सम्पर्कमा आएको देखिन्छ ।

सराफ परिवारको ट्याक्स हेभनमा दर्जन कम्पनी

राधेश्याम सराफ । तस्वीर: याक एण्ड यतीकाे वेवसाइट

नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उनको परिवारले पनि शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ । याक एण्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेड सञ्चालन गर्दै आएका भारतीय मूलका सराफ, उनका दुई छोरा र श्रीमतीले अफशोर कम्पनी खडा गरी कारोबार गरेको फेला परेको हो ।

सराफ नेपालमा पनि होटलका नाममा सरकारी जग्गालाई अनियमित रूपमा कम्पनीको नाममा दर्ता गर्ने, नेपाली स्रोतमाथि अनियमित दोहन गर्ने र गैरकानूनी ढंगले सरकारको शेयर हत्याउने भनेर परिचित छन् ।

मुख्यगरी बौद्धस्थित तारागाउँ रिजेन्सी होटल परियोजना निर्माण गर्ने क्रममा दोब्बर भन्दा बढी लागत देखाएर अनियमितता गरेको आरोप सराफमाथि छ । यो विषयमा संघीय संसद, महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयले समेत अध्ययन गरेर अनियमितता भएको प्रतिवेदन तयार पारेका छन् ।

आईसीआईजेको ‘प्यान्डोरा पेपर्स’का गोप्य कागजातले सराफ तथा उनको परिवारले अफशोर कारोबार गरी शंकास्पद कारोबार गरेको खुलासा गरेको छ ।

उनी ब्रिटिश भर्जिन आइल्याण्डमा सन् २००० मा स्थापना भएको पिग्नोलो लिमिटेडका लाभार्थी मालिक भएको खुलेको छ । सराफले आफू बस्ने ठेगाना हङकङ उल्लेख गरेका छन् । यो कम्पनी बैंकसँग सम्बन्धित व्यापार गर्ने, बीमा वा पुनर्बीमा कम्पनी सम्बन्धी व्यापार गर्ने, म्युचुअल फन्ड सम्बन्धी व्यवसाय गर्ने लगायत काम गर्ने गरी दर्ता भएको देखिन्छ । यो कम्पनी खोल्न ट्राइडेन्ट ट्रष्टले सहयोग गरेको छ । 

राधेश्याम, उनका छोरा उमेश सराफ र श्रीमती रत्ना सराफले मध्य अमेरिकी मुलुक बेलिजमा सन् २००६ मा द डेभिटा ट्रष्ट नामक कम्पनी खोलेको पाइएको छ । यी तीनै जना यो कम्पनीका लाभार्थी मालिक हुन् ।

उनका अर्का छोरा अरुण सराफले बलिजमै द भरुनिसा ट्रष्ट कम्पनी खोलेका छन् । यो कम्पनी पनि सन् २००६ मै अरुणले पूर्ण एकल स्वामित्वमा खोलेको देखिन्छ । उनका अलावा यो कम्पनीका लाभार्थी मालिक राधेश्याम र उनकी श्रीमती रत्ना छन् ।

द डेभिटा ट्रष्ट र द भरुनिसा ट्रष्टमा राधेश्यामका छोराहरूको लगानी रहेको देखिने कागजातहरूलाई काठमाडौंस्थित भारतीय दूतावासले ‘कागजातहरूमा भएको विवरण तथा सामग्रीको कुनै जिम्मेवारी नलिने’ भन्दै प्रमाणीकरण गरिदिएको फेला परेको छ ।

‘अर्थतन्त्र जोगाउनकै लागि विदेशमा लगानी गर्न रोकिएको हो’ – नारायणप्रसाद पोखरेल, सूचना अधिकारी, नेपाल राष्ट्र बैंक

नेपाली नागरिकलाई विदेशी मुद्रामा विदेशमा लगानी गर्न अनुमतिको व्यवस्था छैन । अनुमति नै नदिएको अवस्थामा उहाँहरुले लगानी गर्नुभएको छ भने, यो विषय प्रहरी, अन्य निकाय र मन्त्रिपरिषद्सम्म जान सक्छ । यदि यस्तो हो भने यसबारे सांसदहरु र प्रहरी प्रशासनलाई जानकारी गराएर अनुसन्धान अघि बढाउनुपर्छ ।

समग्र अर्थतन्त्र जोगाउन नेपाली नागरिकलाई विदेशमा लगानी गर्न रोक लगाइएको हो । आज हामीसँग विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब बराबरको छ । अत्यावश्यक सामान, वस्तु तथा सेवा आयात गर्न विदेशी मुद्रा चाहिन्छ । विदेश पढ्न जाने, गम्भीर रोग लागेर विदेशमा उपचार गराउन जाने नेपालीलाई विदेशी मुद्रा नदिने भन्ने हुँदैन ।

हामीले विभिन्न कालखण्डमा वैदेशिक ऋण लिएका छौं । ऋणको साँवा ब्याज भुक्तानीका लागि पनि विदेशी मुद्रा आवश्यक पर्छ । घुम्नका लागि या कामको सिलसिलामा विदेश जानेहरुलाई पनि केही रकम विदेशी मुद्रामा दिइन्छ नै । यसैले हाम्रा लागि विदेशी विनिमय मुद्रा अत्यन्त महत्वपूर्ण छ । हामीले विदेशमा लगानी गर्न खुला छाडिदियौं वा स्वदेशी पुँजीलाई अफसोर कम्पनीमा लगानी गर्न दियौं भने हाम्रो धेरै पूँजी बाहिरिन्छ र विदेशी मुद्राको सञ्चिति सकिन धेरै समय लाग्दैन । हामीसँग विदेशी मुद्रा आम्दानीको स्रोत सीमित छ ।

अहिले रेमिट्यान्सले मात्र धानेको छ । वर्षभरमा १३ देखि १४ सय अर्ब नेपाली रुपैयाँ बराबरको सामान आयात हुन्छ । यस्तो परिवेशलाई ध्यानमा राखेर विदेशी मुद्राबारे कडा नीति बनाइएको हो । यस्तो कडाई नगर्ने हो भने हामी अत्यावश्यक सामान किन्न समेत नसक्ने अवस्थामा पुग्छौं । त्यसैले हाम्रा लागि विदेशमा लगानी गर्न वा विदेशमा पैसा लैजान सहज छैन । त्यसैले अफसोर इन्भेस्टमेन्टमा कडाई गरिएको हो ।

हामीसँग विदेशी मुद्रा सञ्चिति पर्याप्त हुने र विदेशी मुद्रा आर्जन गर्ने नियमित स्रोत हुने हो भने मात्रै विदेशमा लगानी गर्ने विषयमा उदार हुन सकिन्छ । करिब १० अर्ब डलर जति मात्र विदेशी मुद्रा सञ्चिति भएको मुलुकले विदेशमा लगानी गर्न दिने वा यहाँको सम्पत्ति बिक्री गरेर विदेश लैजान दिने हो भने हामी केही महिना पनि टिक्न सक्दैनौँ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments