कोरानाले बढायो पुनावालाको नेटवर्थ, अर्बपतिको सूचीमा एक श्रेणी सुधार

Note Bazar २१आश्विन, २०७८, बिहीबार / Oct 07, 2021 17:04:pm

कोरोना महामारीपछि भारतीय व्यवसायी साइरस पुनावालाको नेटवर्थमा उच्च सुधार आएको छ । कोरोना भाइरस विरुद्धको खोप कोभिशील्ड बनाएपछि पुनावाला अर्बपतिको सूचीमा एक श्रेणी माथि चढेका हुन् ।

कोरोना विरुद्धको खोप बनाउने विश्वको सबैभन्दा ठूलो भारतीय कम्पनी सिरम इन्स्टिच्यूटका प्रबन्ध निर्देशक साइरस पुनावाला सन् २०२० मा भारतको अर्बपतिको सूचीमा छैठौं स्थानमा थिए । तर, सिरमले कोरोना विरुद्धको खोप कोभिशील्ड उत्पादन गरी विश्व बजारमा बिक्री वितरण गरेपछि उनको नेटवर्थमा उच्च सुधार आएको हो । नेटवर्थमा आएको सुधारले सन् २०२१ मा पुनावाला भारतका पाँचौं अर्बपति बन्न सफल भएका हुन् ।

सन् २०२१ मा पुनावालाको नेटवर्थ करिब ७ अर्ब डलरले बढेर १९ अर्ब पुगेको छ । विश्वका अर्बपतिको सूचीमा भने पुनावाला १६९ औं स्थानमा रहेको फोर्ब्स डटकमले जनाएको छ । सेरमले अष्ट्राजेनिका र अक्सफोर्ड यूनिभर्सिटीसँग सहकार्य गरी कोरोना विरुद्धको खोप कोभिशील्ड उत्पादन गर्दै आएको छ ।

फोर्ब्सको भारतीय अर्बपतिको सूचीमा रिलायन्स इण्डष्ट्रीजका मालिक मुकेश आम्बानी ९२.७ अर्ब डलर बराबरको नेटवर्थका साथ पहिलो स्थानमा छन् । सन् २०२१ मा उनको नेटवर्थ ४ अर्ब डलरले बढेको हो । अम्बानी लगातार पछिल्लो १४ वर्षदेखि भारतका अर्बपतिको सूचीमा पहिलो स्थानमा रहँदै आएका छन् । विश्वभरिका अर्बपतिको सूचीमा भने अम्बानी दशौं स्थानमा छन् । भारतको अर्बपतिको सूचीमा दोस्रो स्थानमा अडानी ग्रुपका अध्यक्ष गौतम अडानी रहेका छन् । अन्तर्राष्ट्रिय अर्बपतिको सूचीमा अडानी भने २४ औं स्थानमा छन् । अडानीको नेटवर्थ ७४.८ अर्ब अमेरिकी डलर छ ।

भारतको तेस्रो श्रेणीमा रहेका अर्बपतिमा शिव नाडर छन् । उनको नेटवर्थ ३१ अर्ब अमेरिकी डलर छ । सन् २०२१ मा उनको नेटवर्थ १०.६ अर्ब डलरले बढेको छ । त्यसैगरी चौथो नम्बरमा राकिशन दमानी छन् । दमानीको नेटवर्थ २९.४ अर्ब अमेरिकी डलर छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments