रातो भएर स्वागत गर्दै बन्द भयो दशैंअघिको शेयर बजार

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२५आश्विन, २०७८, सोमबार / Oct 11, 2021 16:19:pm

रातो टीका र जमरा लगाउन हिन्दुहरुको महान चाड बडा दशैं । दशैं भन्ने वित्तिकै निधारमा रातो टिका र हरियो जमराको झल्को आउँछ ।  यहि दशैंलाई स्वागत गर्न दशैंअघिको अन्तिम शेयर कारोबार दिन सोमबार बजार पनि रातो भर्ई स्वागत गरेको छ ।

दशैंको लागि सरकारले असोज २६ गते फूलपातीको दिनदेखि असोज ३० गते एकादशीको दिनसम्म सार्वजनिक बिदा दिएको छ । यसअनुसार अब । असोज २६ गतेदेखि असोज ३० गतेसम्म नेप्से बन्द रहने छ भने असोज ३१ ग्ते आइतबार मात्र शेयर बजार खुल्नेछ ।

सोमबार बजार सूचक मापक नेप्से २३.१९ अंकले घटेर बन्द भएको छ । सूचक घटेसँगै सोमबार नेप्से २६३९.३७ बिन्दुमा बन्द भएको हो । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ५.५६ अंकले घटेर ४९४.२२ अंकमा झरेको छ । यसदिन २१९ कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता शेयर ४४ हजार ४६२ वटा संख्यामा खरीद बिक्री भएका छन् । कारोबार रकम ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँमा समेटिएको छ ।

नेप्सेका अनुसार आज कारोबारमा आएका ११ वटा उपसमुह ओरालो लागेको छ भने दुई वटा मात्र उकालो लागेको छ । लगानी १.०७ र म्युचुअल फण्ड ०.३८ प्रतिशतका दरले बढेको छ । ब्यापार र अन्य सूचम २ प्रतिशत धेरैले घट्दा विकास बैंक, जलविद्युत, फाइनान्स, माइक्रोफाइनान्सको सूचक १ प्रतिशत धेरैले घटेका छन् । होछल, उत्पादनमुलक, निर्जीवन बीमा, जीवन बीमाको सूचक १ प्रतिशतभन्दा कम घटेका छन् ।

सोमबार नबिल बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । बैंकको १७ करोड १३ लाख ८५ हजार ३१८ रूपैयाँ बराबरको १ लाख १८ हजार ४३ कित्ता शेयर कारोबार भएको छ । यस्तै हिमालयन डिष्टिलरीको १६ करोड ९२ लाख, महालक्ष्मी विकास बैंक १२ करोड ४३ लाख, निफ्रा ११ करोड ६७ लाख र नेपाल बैंकको १० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा बैंक, जीवन विकास लघुवित्त, सूर्या लाइफ संस्थापक, अरुण भ्याली हाइड्रोपावर र ग्लोबल आइएमई बैंक शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको ग्लोबल बैंकको ७ करोड १७ लाखको शेयर कारोबारमा आएको छ ।

शतप्रतिशत नगद लाभांश वितरणको घोषणाले सोमबार ग्लोबल आइएमई समुन्नत योजना १ को इकाई मूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । योजनको इकाई मूल्य २१ रूपैयाँ ६७ पैसा पुगेको छ ।  यसैगरी सानिमा लाइफ इन्स्योरेन्स ७.८८, निफ्रा ५.०९, कुमारी इक्वीटी फण्ड ३.३८, राष्ट्रिय बीमा कम्पनी संस्थापक शेयर ३.१५ प्रतिशतले बढेको छ ।

त्यसैगरी, सोमबार महालक्ष्मी विकास बैंक लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै ८.७६ प्रतिशतले घटेर ५७६ मा झरेको छ । रैराङ हाइड्रोपावर ८.२९, छ्याङ्दी हाइड्रोपावर ७.४३, र मल्टिपपर्स फाइनान्सको मूल्य पनि ५.२० प्रतिशतका दरले घटेको छ । माउन्टेन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सिभिल लघुवित्त, सिंगटी हाइड्रोपावर, युनिलिभर नेपाल र घलेम्दी हाइड्रोपावरको शेयरका लगानीकर्ताले पनि गुमाएका छन् ।

बजार घटेसँगै सोमबार बजार पूँजीकरण ३६ खर्ब ९५ अर्ब ९ करोड रुपैयाँमा समेटिएको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments