साधारण शेयर निष्काशनको माग गर्दै केयूकेएलका कर्मचारी आन्दोलित

-नोटबजार संवाददाता।
काठमाडौं ।
७कार्तिक, २०७८, आईतवार / Oct 24, 2021 16:35:pm


काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सर्वसाधारणमा शेयर बिक्री गर्नुपर्ने माग गर्र्दै कर्मचारीहरु अन्दोलित भएका छन् । केयूकेएलका पाँचै वटा कर्मचारी संगठनले साधारणसभा गर्नेदेखि साधारण शेयर जारी गर्नुपर्ने माग राख्दै गत भदौदेखि आन्दोलन गर्दै आएका हुन् ।

हाल एक अर्ब रुपैयाँ जारी पूँजी रहेको केयूकेएलले १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बरावरको साधारण शेयर निष्काशन गर्ने बताउँदै आएको छ । केयुकेएलको बासलातमा पनि पुँजी संरचनामा नै जारी पूँजीको १५ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्ने भनिएपनि हालसम्म प्रक्रिया सुरु नगरेपछि कर्मचारीले आन्दोलन गरेका हुन् । कम्पनीले सर्वसाधारणका लागि मात्र नभई कर्मचारीका लागि पनि जारी पूँजीको ५ प्रतिशत अर्थात ५ करोड रुपैयाँ बराबरको शेयर छुट्याएको छ ।

कर्मचारीहरुले आफुहरुसंग गत साउनमा भएको सम्झौताको पुर्णपालना, पछिल्लो तीन वर्ष देखि हुन नसकेको साधारणसभा गर्न, सर्वसाधारण तथा कर्मचारीका लागि छुट्याएको शेयर निष्काशन गर्न, ग्राहकलाई अनलाइन सेवा उपलब्ध गराउनु पर्ने, संस्थागत तथा नीतिगत सुधार कार्यान्वयन गर्नुपर्ने, काठमाण्डौ उपत्यका खानेपानि व्यवस्थापन बोर्डसंग भएको सम्झौता तथा अनुमतीपत्रको सन्दर्भमा पुनरावलोकन गर्न र मेलम्ची खानेपानी सञ्चालनको सुनिश्चितता गराउनु पर्ने माग राख्दै आन्दोलन गर्दै आएका हुन ।

कम्पनी स्थापना हुँदै सर्वसाधारणको लागि १५ प्रतिशत शेयर छुट्याएको छ । कम्पनीको प्रबन्धपत्र नियमावलीमा समेत उल्लेख छ । कम्पनीले शेयर जारी गर्ने भनेपनि कार्यान्वयन गर्न सकेको छैन । कम्पनीले मेलम्चीको पानी वितरण सुरु गरेसँगै उसको व्यवसायिक यात्रा थप बलियो बन्ने अनुमान गर्दै आगामी केही समयमा सर्वसाधारणलाई शेयर जारी गर्ने पक्षमा कम्पनी थियो । तर, बाढी पहिराका कारण मेलम्ची आयोजनामा पुगेको क्षतिको पुनःनिमार्ण हुन नसक्दा मेलम्चीको पानी वितरणमा अन्योलता देखिएको छ ।

हाल कम्पनीमा नेपाल सरकार, काठमाण्डौ महानगर पालिका र ललितपुर महानगर पालिका तथा उपत्यका भित्रका नगरपालिकाहरुको लगानी रहेको छ । यसैगरी उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, भक्तपुर उद्योग वाणिज्य महासंघ र ललितपुर उद्योग वाणिज्य महासंघको पनि शेयर स्वामित्व छ ।

कम्पनीले शेयर जारी गर्ने भनेको भए पनि तीन वर्ष यता साधारण सभा समेत गर्न सकेको छैन । कम्पनीले रोकिएका सबै साधारण सभा एकै पटक गर्ने तयारी गरेको छ । कम्पनीको सबै हिसाब किताब मिलानको लेखा परीक्षक नियुक्ति गरेर काम अघि बढाईसकेको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments