सोयाविन र पाम तेलको उच्च योगदानले निर्यात ११५ प्रतिशतले बढ्यो

-नोटबजार संवाददाता।
काठमाडौं ।
८कार्तिक, २०७८, सोमबार / Oct 25, 2021 18:52:pm

आर्थिक वर्ष २०७८/७९ को भदौसम्ममा कुल वस्तु निर्यात ११५.४ प्रतिशतले वृद्धि भई ४४ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । भदौ महिनासम्ममा सोयाविन र पाम तेलेको उच्च निर्यात बढेपछि समग्र निकासी बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आवको भदौसम्ममा निर्यात १०.५ प्रतिशतले मात्र बढेको थियो । सो अवधिमा मुलुकबाट २० अर्ब ४४ करोड रुपैयाँ बरावरको बस्तु निर्यात भएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १५०.७ प्रतिशत, २०.७ प्रतिशत र ३१.० प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, धागो लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, आयुर्वेदिक औषधी, तार, जस्तापाता, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा कुल वस्तु आयात ७५.९ प्रतिशतले वृद्धि भई ३१४ अर्ब ५२ करोड पुगेको छ । गत आवमा सोही अवधिमा यस्तो आयात २२.१ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५६.७ प्रतिशत, ७६.२ प्रतिशत र १४१.४ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आवको भदौसम्ममा वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल, सुन, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, मोलासिस सुगर, दाल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm सबैभन्सार नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ७०.८ प्रतिशतले वृद्धि भई २७० अर्ब ४८ करोड पुगेको छ । गत अवाको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले घटेको थियो । चालु आवको भदौसम्ममा निर्यात–आयात अनुपात १४.० प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस्तो अनुपात ११.४ प्रतिशत रहेको थियो ।

चालु आवको भदौसम्ममा भारतबाट अमेरिकी डलर भुक्तानी गरी ३६ अर्ब २७ करोड बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा २१ अर्ब ४५ करोड बराबरको आयात भएको थियो ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments