चालु आवको पहिलो त्रैमासमा ४८ अर्बको बीमा व्यवसाय, २०% ले बढ्यो

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
८कार्तिक, २०७८, सोमबार / Oct 25, 2021 12:46:pm

चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा नेपालमा सञ्चालित १९ जीवन बीमा र २० निर्जीवन बीमा कम्पनीहरुले करिब ४८ अर्बको व्यवसाय गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा कूल ४७ अर्ब ८७ करोड ४१ लाख ३५ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् ।

अघिल्लो आवको यसै अवधिमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब ८६ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा गत वर्षको भन्दा प्रिमियम संकलन २०.११ प्रतिशतले बढेको हो ।

समितिका अनुसार २०७८ असोज मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले कूल ३८ अर्ब १८ करोड ६ लाख ६८ हजार र निर्जीवन बीमा कम्पनीले कूल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

गत वर्ष २०७७ असोजमा जीवन बीमा कम्पनीहरुले ३२ अर्ब २८ करोड र निर्जीवन बीमा कम्पनीले ७ अर्ब ५८ करोड रूपैयाँ संकलन गरेका थिए । गत आवकोे पहिलो तीन महिनाको तुलनामा चालु आवको यसै अवधिमा जीवन बीमा कम्पनीहरुको १८.२८ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय विस्तार २७.८८ प्रतिशतले बढेको हो ।

असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ५ लाख ४७ हजार ६०१ वटा वैदेशिक रोजगार बीमालेख सहित ९० लाख ९ हजार २७७ वटा बीमालेख जारी गरेका छन् । निर्जीवन बीमा कम्पनीले ७ लाख ३० हजार ९९७ वटा बीमालेख जारी गरेका छन् ।

२०७७ असोजमा जीवन बीमा कम्पनीहरुले ८ लाख ३९ हजार ३३० वटा वैदेशिक रोजगार बीमालेख सहित ७८ लाख ६८ हजार ५०४ वटा बीमालेख तथा निर्जीवन बीमा कम्पनीले ७ लाख ३२ हजार ३५९ वटा बीमालेख जारी गरेका थिए । समीक्षा अवधिमा जीवन बीमालेख बढेपनि वैदेशिक रोजगार बीमालेख र निर्जीवन बीमालेखको संख्या भने घटेको छ ।

कोभिड असरका कारण रोजगारीमा जानेहरुको संख्या घट्दा अघिल्लो वर्षको तुलनामा वैदेशिक रोजगार बीमालेख २ लाख ९१ हजार ७२९ वटा (३४.७६ प्रतिशत) ले घटेको हो । यस अवधिमा निर्जीवन बीमालेख १ हजार ३६२ वटा (०.१९ प्रतिशत) ले घटेको छ भने जीवन बीमालेखको संख्या भने १४ लाख ३२ हजार ५०२ वटा (२०.३८ प्रतिशत) ले बढेको हो ।

बीमा समितिको तथ्याङ्क अनुसार समीक्षा अवधिमा जीवन बीमा कम्पनीको चुक्ता पूँजी ३३ अर्ब ४४ करोडबाट १७.९७ प्रतिशतले बढेर ३९ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २०७७ असोजमा १८ अर्ब ७ करोड १२ लाख रुपैयाँ रहेकोमा ६५.५९ प्रतिशतले बढेर २९ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

कुल जनसंख्याको २८ प्रतिशतमा बीमा पहुँच

नेपालमा बीमाकोे पहुँच कुल जनसंख्याको २८.१५ प्रतिशत पुगेको छ । नेपालको कुल जनसंख्या ३ करोड ४ लाख ९७ हजार रहेकोमा २६.३६ प्रतिशत जनसंख्या बीमाको दायरामा समेटिएकोमा वैदेशिक रोजगार बीमालेख सहित २८.१५ प्रतिशतमा पहुँच पुगेको हो ।

२०७७ असोजमा वैदेशिक रोजगार बीमालेख सहित २४.९५ प्रतिशतमा बीमाको पहुँच पुगेकोमा पछिल्लो एक वर्ष अवधिमा ३.२० प्रतिशतले बढेर २८.१५ प्रतिशत पुगेको हो ।

२०७८ असोजसम्ममा बीमा कम्पनीहरुको कार्यालय संख्या ८९९ ले बढेर ३ हजार ७०६ वटा पुगेको छ भने कर्मचारी संख्या अघिल्लो असोजको तुलनामा ३३० ले बढेर १० हजार ६२५ जना पुगेको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments