झण्डै ३% ले नेप्से बढेसँगै कारोबारमा पनि थपियो उत्साह, सबै उपसमूहका सूचकमा हरियाली

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
९कार्तिक, २०७८, मंगलवार / Oct 26, 2021 16:24:pm

शेयर बजार मापक सूचक नेप्से बढ्ने क्रमले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार ८७.६३ अंकले बढेको बजारलाई पच्छाउँदै मंगलबार पनि नेप्से ७८.८२ अंक अर्थात २.९५ प्रतिशतको उच्च बढोत्तरी भएको हो ।

लाभांश सिजनमा नै निरन्तर घटेर कार्तिक ४ गते बिहीबार २५५६.९५ बिन्दुसम्म नेप्से झरेपछि कारोबारीहरुको प्रवेशले बजारमा उच्च अंकको 'बाउन्स ब्याक' देखिएको हो । आइतबार २५.५१ अंकले बढेको नेप्सेमा सोमबार र मंगलबार मात्रै १६६.४५ अंकको बढोत्तरी देखिएको हो ।

मंगलबारको नेप्से वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन सोमबारको तुलनामा २ अर्ब १ करोडले बढेर कुल ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँको शेयर किनबेच भएको छ । अघिल्लो दिन सोमबार ४ अर्ब ३० करोड ८९ लाखको शेयर किनबेच भएको थियो ।

यसदिन कुल २२७ कम्पनीको शेयर कारोबारमा आएकोमा २०६ कम्पनीको मूल्य बढ्यो भने १२ कम्पनीको मूल्य घट्यो भने ९ कम्पनीको मूल्य स्थीर रह्यो । यसदिन १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर ७२ हजार ९७३ वटा संख्यामा खरीद बिक्री भएका छन् ।

यसदिन होटल तथा टुरिजम् इन्डेक्स सर्वाधिक ७.५१ प्रतिशतले बढेको छ भने फाइनान्स ५.६१, लगानी ४.५० र जलविद्युतको इन्डेक्स ४.३३ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक ३.७७, जीवन बीमा ३.३४ प्रतिशत, उत्पादन २.७८, ब्यापार २.७६, निर्जीवन बीमा २.६५, अन्य २.४६ र बैंकिङ २.४४ प्रतिशतले बढेका छन् । त्यस्तै म्युचुअल फण्डको सूचक १.३५ र लघुवित्त १.३० प्रतिशतले बढेको छ ।

कामना सेवाको सर्वाधिक कारोबार

मंगलबारको शेयर बजारमा कामना सेवा विकास बैंकको सर्वाधिक ४४.७५ करोड मूल्यको शेयर कारोबार भएको छ ।

नबिल बैंक ३४.७८ करोड, एनआईसी एशिया बैंक २४.५५, अरुण भ्याली हाइड्रोपावरको १६.७३, अपि पावर १३.७०, नेशनल हाइड्रोपावर १२.६०, हिमालयन डिष्टिलरी ११.६२, महालक्ष्मी विकास बैंक ११.२७, रिडी हाइड्रोपावर ११.२५ करोड र दशौं ठूलो कारोबार भएको लुम्बिनी विकास बैंकको १०.६३ करोड मूल्यको शेयर कारोबारमा आएको छ ।

सात कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो, १२ कम्पनीका शेयरधनीले गुमाए

यसदिन ७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ भने अन्य १३ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यसदिन बेस्ट फाइनान्स, माउन्टेन हाइड्रो नेपाल, खानीखोला हाइड्रोपावर, राधी विद्युत, ङादी ग्रुप पावर, चन्द्रागिरि हिल्, घलेम्दी हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

यसैगरी श्रीइन्भेष्ट फाइनान्स कम्पनी, नेपाल हाइड्रो डेभलोपर कम्पनी, बरुण हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, शिवश्री हाइड्रोपावर, युनियन हाइड्रोपावर, युनिभर्सल हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, एचआईडिसीएल, जोशी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, र मैलुङ खोला हाइड्रोपावरको मूल्य ९ प्रतिशत धेरैले बढेको हो ।

मंगलबारको बजारमा साना किसान लघुवित्तको शेयरमूल्य २ प्रतिशतले घटेर १ हजार ७१५ रुपैयाँमा झरेको छ । सानिमा डिबेञ्चर २०८५ र नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८२ को मूल्य पनि क्रमशः १.९६ र १.९४ प्रतिशतले घटेको छ ।

सिटिजन्स म्युचुअल फण्ड १, रैराङ हाइड्रपावर र कालिका लघुवित्तको शेयरमूल्य करिब १ प्रतिशतका दरले घट्दा एसबिएल डिबेञ्चर २०८२, प्राइम कमर्सियल बैंक डिबेञ्चर २०८५, साधना लघुवित्त, नेरुडे लघुवित्त, सानिमा बैंक र सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को मुल्य सामान्य घटेको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments