भूकम्पले जन्माएको टेक्का स्टोर, जसको बजारमा छैन प्रतिस्पर्धी ब्रान्ड

✍️ अञ्जना सुवेदी।
काठमाण्डौं ।
९मंसिर, २०७८, बिहीबार / Nov 25, 2021 16:35:pm

शैलजा कसजू विसं २०७२ सालमा स्वयंसेवक शिक्षक (भोलेन्टिएर टिचर) को रुपमा सिन्धुपाल्चोक पुगिन् । उनले काम सुरु गरेको केही महिनामा सिन्धुपाल्चोक नै केन्द्रबिन्दु बनाएर विनाशकारी महाभूकम्प गयो ।

भूकम्पमा परेर ८ हजारभन्दा बढीको ज्यान गयो भने जीवित रहेका पनि धेरै परिवारको बिचल्ली भयो । भूकम्प पीडितहरुको सहयोगका लागि शैलजाले आफूले भ्याएसम्म कहिले स्वास्थ्य शिविर र कहिले खाद्य सामाग्री वितरण लगायतमा सहभागि भइन् ।

त्यहि समयमा सिन्धुपाल्चोकबाट धेरै महिला तथा बालबालिकालाई ललाई-फकाई गरी विदेश लगिने गरेका खबरहरु पनि सुनिए । जब त्यो कुरा शैलजाको कानमा पर्यो सो दिन पश्चात शैलजा यस समस्याको समाधान कसरी गर्न सकिन्छ भन्नेमा गम्भिर भइन् । “गाउँमा नै रोजगारी सृजना गर्न सकियो भने यस्ता समस्या समाधान गर्न सकिन्छ कि भन्ने लाग्यो र गाउँ गाउँमै रोजगारी सुरु गर्न सकिने विभिन्न तालिमहरु सुरु गर्न लागियो ।” उनले भनिन् ।

शैलजा भन्छिन् “सिन्धुपाल्चोकको साँगा चोकबाट धागोको खेलौनाहरु बनाउन सुरु गरियो ।” उनले खेलौनाहरु बनाउने तालिम पनि सञ्चालन गर्न थालिन् । साथै तालिमेहरुले बनाएका खेलौनाहरुको बजार व्यवस्थापनको समेत सुरुवात गर्न थालिन् त्यहीँबाट उदय भयो टेक्का स्टोर ।

 

विदेशमा डिग्री, नेपालमा व्यवसाय

धेरै नेपालीहरुको सपना विदेश गएर पढ्ने र राम्रो काममा आबद्द भएर उतै सेटलमेन्ट हुने हुन्छ । तर बंगलादेशबाट स्नाकोत्तर (मास्टर) तहसम्मको अध्ययन सकेकी शैलेजालाई विदेश बस्ने सोख कहिले भएन । उनले बंगलादेशलाई एउटा पढ्ने ठाउँको रुपमा मात्र बुझिन् ।
उनले ब्राक यूनिर्भसिटी बंगलादेशबाट मास्टर सकेकी हुन् भने काठमाण्डौं यूनिर्भसिटीबाट ब्याचलर पूरा गरेकी थिइन् ।

५० हजार लगानीबाट व्यवसाय सुरु, ९० प्रतिशत महिला सहभागी

आफ्नै खल्तीको ५० हजार रुपैयाँ लगानीबाट सुरु भएको टेक्का स्टोर २०७७ सालमा आधिकारीक रुपमा दर्ता गरेर सञ्चालनमा आयो । टेक्का स्टोरले पैसा र नाफा कमाउने भन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने भएकाले सोसल इन्टरप्राइजेज कम्पनीका रुपमा दर्ता गरिएको शैलजाले बताइन् ।

टेक्का स्टोरले हातले निमार्ण गरेका सामाग्रीहरु बिक्री वितरण गरिरहेको छ । स्टोरले देशका पाँच जिल्लाको उत्पादनलाई देश तथा विदेशमा पुर्याइरहेको छ ।

यहाँ उत्पादन भएका सामाग्रीहरु भारत, बंगलादेश, अमेरिका, बेलायत तथा फ्रान्ससम्म पुग्ने गरेका छन् । स्टोरमा ९० प्रतिशत महिला र १० प्रतिशत पुरुषले रोजगारी पाएका छन् । शैलेजाका अनुसार ५० जना भन्दा बढी महिलाहरु यस संस्थामा आबद्ध रहेका छन् ।

कोभिड महामारीका कारण टेक्का स्टोरको व्यवसाय पनि प्रभावित भयो । शैलजाका अनुसार कोभिड महामारी भन्दा अघि स्टोरका सामाग्रीहरु विदेश निर्यात हुँदा मासिक ६ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको थियो । कोभिडको समयमा सबै व्यापार व्यवसाय ठप्प भए । अहिले अवस्था सामान्य भए पनि मासिक १ लाख ५० हजार मात्र आम्दानी हुने गरेको उनी बताउँछिन् ।

कुन-कुन सामान बनाइन्छ ?

शैलेजाले नेपालमा नै रहेका प्राकृतिक कच्चा पदार्थहरुको प्रयोगबाट निमार्ण हुने उत्पादनहरुको तालिम तथा बजारीकरणलाई अगाडि सारिन् । फलस्वरुप गाउँघरमा उत्पादन गरिएका सामाग्रीहरुले पनि बजार पाउन थाल्यो ।

शैलेजाका अनुसार टेक्का स्टोरमा केराको रेसाबाट कोस्टर, हटम्याट, टेबल म्याट, पकेट ह्याङगिङ, ट्याइलेट पेपर होल्डर, टिसियू बक्स, सेनिटरी प्याड, पर्दा आदी निमार्ण गरिन्छ । पटेरबाट सुकुल र डोरम्याट तयार गरिन्छ । जसका लागि नवलपरासी लगायत तराइका जिल्लाबाट केराको रेसा ल्याइने गरिएको छ ।

त्यसैगरी पाटनबाट पस्मिना, मिक्स उन ल्याइन्छ भने काठमाण्डौंमा सम्पूर्ण सिलाइको काम गरिन्छ । साथै सिन्धुपाल्चोकबाट कुरुषबाट बुनेका सम्पूर्ण कपडा तथा खेलौनाहरु, ब्याग, लप्सीको क्यान्डीहरु उत्पादन गरिन्छ ।

भक्तपुरबाट माटाका सामानहरु, म्याक्रोमिक हाङ्गर ल्याइन्छ भने काठमाण्डौबाट ज्वलरी, पोते लगायतका सामानहरु ल्याएर विभिन्न सामाग्री निमार्ण तथा बजार व्यवस्थापन गरिएको छ । त्यस्तै जनकपूरबाट मिथिला आर्ट, बक्स, ऐना जस्ता सामाग्रीहरु आयात तथा बिक्री गर्ने गरेको र अन्य जिल्लाका केही महिलाहरुसँग पनि काम गर्न सुरु गरेको र कति तयारीमा रहेको पनि उनले बताइन् ।

 

डिजिटल माध्यमबाट बिक्री र बजार मूल्य

टेक्काका स्टोरबाट उत्पादन गरिएका सामाग्रीहरु सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम र कम्पनीको वेवसाइटबाट अर्डर गर्न सकिन्छ ।

यहाँबाट उत्पादन हुने सामाग्रीहरुको ४० रुपैयाँ देखि ५ हजार रुपैयाँसम्म उपलब्ध रहेको छ । कम्पनीले भौतिक रुपमा उपस्थित भएर सामाग्री बिक्री नगरे पनि नेपालभरी नै डेलिभरी हुने संरचना तयार रहेको शैलेजा बताउँछिन् ।

उक्त सामाग्राीहरु काठमाण्डौं, चितवन र पोखराबाट विशेष अर्डर आउने गरेको छ । तर नेपालमा उत्पादन भएका यस्ता सामाग्री विदेशीले मात्र किन्ने हो भन्ने सोच अझै पनि आम मानिसहरुमा कायम नै रहिरहेको शैलेजाका अनुभव छ ।

नेपालमा उत्पादन भएका यस्ता सामाग्रीहरु बिक्रीका लागि विदेशी ग्राहकको भरपर्नु भन्दा नेपालीले नै प्रयोग गरे बजार विस्तारमा टेवा पुग्नुका साथै थप उर्जा जगाउन सकिने शैलेजा बताउँछिन् ।

व्यवसायमा प्रतिस्पर्धाको चाहना

नयाँ अवधारणा (न्यू कन्सेप्ट) मा सुरु गरिएको यस व्यवसायमा प्रतिस्पर्धा छैन् । पैसा वा नाफा कमाउने भन्दा पनि समाजमा रहेका महिलाहरुलाई व्यवसायीक उन्नयनका लागि विशेष जोड दिएको छ । यसले नेपाली समाजमा आय आर्जनको हिसाबले पछाडि रहेका महिलाहरुलाई स्वरोजगार बनाउन र धेरैलाई रोजगारीको अवसर दिएको छ । संस्थामा आबद्ध भई वस्तु सामाग्रीहरु निमार्ण तथा उत्पादनमा संलग्न हुने महिलाहरुलाई संस्थाले तलब भन्दा प्रतिगोटाका आधारमा भुक्तानी दिने गरेको छ ।

यस संस्थासँग आबद्ध जो कोहीले मासिक न्यूनतम ८ हजार रुपैयाँ देखि २५ हजार रुपैयाँ घरमै बसीबसी काम गरेर कमाउने गरेका छन् । ग्राहकबाट पनि राम्रो प्रतिक्रिया आउने गरेको शैलेजा बताउँछिन् ।

प्रायः व्यवसायीहरु व्यवसायमा प्रतिस्पर्धा हुनुलाई दुर्भाग्य ठान्छन् । तर शैलेजा यस्ती पात्र हुन् जो व्यवसायमा प्रतिस्पर्धा चाहन्छिन् । उनी भन्छिन् “व्यवसायमा प्रतिस्पर्धा होस् । प्रतिस्पर्धा भयो भने यस्ता सामाग्रीहरु बजारमा धेरै हुन्छन् जसले गर्दा मूल्य पनि कम हुन्छ र स्वदेशमा नै खपत हुन्छ ।”

स्वदेशी कच्चा पदार्थको स्वदेशी उत्पादन

टेक्का स्टोरले स्वदेशी कच्चा पदार्थको माध्यमबाट विभिन्न स्वदेशी उत्पादन गर्ने गर्दछ । आजसम्म टेक्का स्टोरले बजारमा बिक्री वितरण गर्ने सामान बनाउनका लागि बाहिरी मुलकुबाट कुनै पनि कच्चा पदार्थ नल्याएको दाबी गरेको छ ।

सेनिटरी प्याडमा विशेष जोड

पछिल्लो समय टेक्का स्टोरले सेनिटरी प्याड निमार्ण तथा बिक्रीमा विशेष जोड दिएको छ । स्टोरले केराको रेसा र कपडाबाट निमार्ण गरेको सेनिटरी प्याड निमार्ण तथा बिक्री वितरण गर्ने गरेको छ ।

स्टोरले उत्पादन गरेको सेनिटरी प्याड बजारमा व्यवसायीक रुपमा उपलब्ध रहेको अन्य प्याड भन्दा सुलभ एवं स्वास्थ्यवर्दक रहेको शैलेजाको दाबी छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments