शेयर धितोकर्जाको प्रावद्यान यथावत, सिडी रेसियोमा लचकता

-नोटबजार संवाददाता।
काठमाडौं ।
१०मंसिर, २०७८, शुक्रबार / Nov 26, 2021 10:56:am

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिले शेयर धितोकर्जा सम्बन्धी व्यवस्था गरेको प्रावद्यानलाई यथावत राख्दै मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले शेयर कर्जाको ४/१२ करोडको नीतिमा हेरफेर गरेको छैन । त्यस्तै शेयर धितोकर्जाको सीमा ७० प्रतिशत नै यथावत राखेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर धितो राखेर लिइने कर्जा एउटा बैंकबाट ४ करोड तथा सबै बैंकबाट १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले लामो अध्ययन र विश्लेषणबाट शेयर कर्जाको व्यवस्थामा परिवर्तन नगरेको राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पुनरावलोकन गर्नुपर्ने अवस्था नभएसम्म नीति परिमार्जन नगर्ने प्रष्ट पारे ।

यस्तै कर्जा निक्षेप अनुपात(सीडी)को व्यवस्थामा पनि राष्ट्र बैंकले परिवर्तन गरेको छैन । तर, सीडी रेसियोमा ८ महिनाका लागि खुकुलो नीति लिएको छ ।

प्रवक्ता ढकालले सीडी रेसियो ९० प्रतिशत कायम गर्ने कार्ययोजना बनाउने जिम्मा बैंक तथा वित्तीय संस्थालाई छाडिएको जानकारी दिए ।

उनले ९० प्रतिशतमाथि सिडी रेसियो हुने बैंक तथा वित्तीय संस्थाले २०७९ असार मसान्तसम्म ९० प्रतिशत भित्र ल्याउने गरी कार्ययोजना बनाउनुपर्ने जानकारी दिए ।

अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्नेछ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments