“जसको लाठी, उसैको भैंसी” प्रवृतिले व्यक्ति बलियो हुँदा नाडा कमजोर भयोः ध्रुव थापा

Note Bazar १३मंसिर, २०७८, सोमबार / Nov 29, 2021 18:52:pm

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालमा चुनावी सरगर्मी बढ्दै गइरहेको छ । मंसिर २२ र २३ गते काठमाण्डौंमा हुने साधारण सभाले नाडाको नयाँ नेतृत्व चयन गर्दैछ । संस्थाको नेतृत्वका लागि ध्रुव थापा चुनावी मैदानमा छन् । 

तीन दशकदेखि अटो व्यवसायमा संलग्न उनी २ दशकदेखि नाडामा नै आबद्ध रहेका छन् । थापाले नाडामा २ कार्यकाल उपाध्यक्षको रुपमा बिताइसकेका छन् । आफ्नो स्थायी बसोबास क्षेत्र पोखरालाई केन्द्रमा राखेर थापाले अटो सम्बन्धि व्यवसायलाई अघि बढाईरहेका छन् ।

व्यवसायका विषयमा नाडाले गर्ने लबिङभन्दा व्यक्तिगत रुपमा व्यवसायीले गर्ने लबिङ बलियो भएका कारण समग्र सेक्टरलाई नभई व्यवसायमा संलग्न सीमित बलिया साथीहरुको चाहना अनुसार नीतिगत व्यवस्था हुँदा व्यवसायमा रहेका धेरै साथीहरुलाई मार परिहरहेको थापा बताउँछन् ।

विभिन्न व्यवसायिक फर्महरु मार्फत अटो क्षेत्रमा सक्रिय हुँदै आएका थापासँग नोटबजारले समग्र व्यवसायको अवस्था र विकासका सम्बन्धमा कुराकानी गरेको छ । प्रस्तुत छ थापासँग गरिएको कुराकानी ।

पछिल्ला दिनहरुमा बैंक वित्तीय संस्थाहरुमा तरलता अभाव देखिँदै गर्दा सवारी कर्जामा बैंकहरुले गर्दै आएको कडाईले तपाईहरुको व्यापारमा कस्तो असर पारेको छ ?

पक्कै पनि तपाईले भनेको जस्तो अवस्था अहिले देखिएको छ । बैंक वित्तीय संस्थामा तरलताको समस्या देखिँदा अटो क्षेत्रमा हुने लगानीमा दबाब परेको छ । यो अहिले मात्र होइन, विगतदेखि नै देखिँदै आएको छ । यसले हाम्रो व्यापारमा स्वभाविकै रुपले नकरात्मक असर पार्नेमा दुईमत छैन । किनकी फाइनासिङ्ग सुविधा लिएर सवारी साधान किन्ने योजना बनाएका व्यक्ति तथा संस्थाहरुले बैंकबाट ऋण नपाएपछि योजना अनुसार सवारी साधन किन्न पाउँदैनन् । त्यसको सिधा असर अटो व्यवसायमा पर्छ नै ।

नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण यस्तो समस्या समय समयमा हामीले भोग्नु परिरहेको छ । राष्ट्र बैंकले सवारी साधानलाई विलासिताको वस्तु र अनुत्पादक क्षेत्रका रुपमा गरिदिएको व्याख्याका कारण यस्तो अवस्था आउने गरेको हो । सिधा भन्नु पर्दा यस्तो अवस्थामा पहिलो टार्गेट अटो बजार नै हुने गरेको छ ।

कोभिडका कारण ठप्प अवस्थामा पुगेको अटो बजार अहिले सामान्य अवस्थामा आउनका लागि लय समात्दै थियो । तर अहिलेको अवस्थाले समग्र अटो व्यवसाय फेरि असहज अवस्थामा पुगेको छ । अर्कातिर क्षमता भएका व्यक्तिले नै पनि सवारी साधन खरिद गर्न नसक्ने अवस्था बनेको छ ।

यो समस्याका सम्बन्धमा तपाईहरुको छाता संस्था नाडाले आवाज उठाउन नसकेको हो ?

आवाज नै नउठाएको भन्न मिल्दैन । हामीले नेपाल राष्ट्र बैंकमा पुगेर विगतदेखि नै यो समस्याका सम्बन्धमा ध्यानाकर्षण गराउँदै आएका छौं । अटो मोबाइल सेक्टरलाई हर्ने दृटिकोणमा परिवर्तन हुनुपर्छ भन्ने हाम्रो धारणा हो । यस सम्बन्धमा अर्थ मन्त्रालय, राष्ट्र बैंक लगायतका सम्बन्धित निकायहरुमा हामीले समय समयमा घच्घच्याउने काम नगरेका होइनौं, तर अपेक्षित नतिजा चैं आउन सकेन ।

नीतिगत रुपमा नै अटो सेक्टरका सम्बन्धमा केही व्यवस्थाहरु गरिदिने हो भने अहिलेको जस्तो वित्तीय बजारमा तरलता संकुचन हुँदा अटो सेक्टर प्रभावित हुँदैन । आज सवारी साधन विलासिताको वस्तु नभई आधारभुत आवश्यकता भईसकेको अवस्थामा सोही अनुसार नीतिगत व्यवस्था गरिनुपर्छ । सवारी साधनको क्षमता र मूल्यका आधारमा आधारभुत र विलासिताका साधन भनेर वर्गीकरण नै मात्र गरिदिने हो भने पनि अहिलेको जस्तो ठप्प नै होला कि भनेर डराउनुपर्ने अवस्था आउँदैन ।

तीन दशक यही क्षेत्रमा लाग्दै गर्दा अटो सेक्टरमा देख्नु भएका समस्याहरुलाई कसरी हेर्नु भएको छ ?

समस्याहरु धेरै छन् र अटो व्यवसायमा मात्र नभई अरु सबै किसिमका व्यवसायमा कुनै न कुनै किसिमका समस्या हुन्छन् नै । अघि पनि भनिसकेको कुरा अटो सेक्टरलाई हेर्ने दृटिकोणमा व्यापक सुधार जरुरी छ र यो हुनैपर्छ । कुरा उठिसक्यो कि वित्तीय बजारमा अलिकति असर देखिँदा त्यसको पहिलो निशानामा अटो सेक्टर पर्दै आएको छ, यो परिपाटीको अन्त्य हुनुपर्छ ।

स्पेयर्स पार्ट्सको रेटिङ तथा भन्सार दरमा बजारको अवस्था नबुझी बढोत्तरी गरिएको छ । जसका कारण अधिकांश सवारी साधनहरु अहिले भन्सारबाट भित्रिन सकिरहेका छैनन् । लुब्रिक्यान्ट्सको भनि भन्सार दरको मुल्याङ्कन बढाइएको छ । १०० रुपैयाँ पर्ने लुब्रिक्यान्ट्सको भन्सार मूल्याङ्कन २५० रुपैयाँभन्दा माथि कायम गरिँदा त्यसको मूल्य दोब्बरले बढ्न सक्ने अवस्था देखिएको छ, यो राम्रो होइन ।

अटो भन्ने बित्तिकै सवारी साधनलाई मात्र बुझ्ने गरिन्छ । तर, यसका अरु धेरै आयामहरु छन् । ति सबै विषय र क्षेत्रमा केही न केही समस्याहरु छन् । त्यस्ता समस्या समाधानका लागि राज्यले पहलकदमी लिनुपर्छ, जसले व्यवसायी मात्र नभई उपभोक्तालाई समेत सहज अवस्था बन्छ ।

सवारी साधन एसेम्बल गर्नका लागि बजेटबाट नै केही व्यवस्था गर्ने उद्घोष गरेको सन्दर्भमा बजारलाई कसरी हेर्नु भएको छ ?

यसमा पहिलो कुरा भनेको हाम्रो बजारको आकार अनुसार एसेम्बलको काम गर्ने हो । अहिले नै बजार सानो छ भनेर सवारी उद्योगको अवधारणालाई अघि सार्नै नखोज्ने हो भने कहिल्यै पनि हामी अघि बढ्न सक्दैनौं । विश्वका धेरै मुलुकहरुमा एसेम्बल गर्ने परिपाटीबाट मात्र पूर्ण रुपमा सवारी उत्पादन गर्ने उद्योगहरु स्थापना भएर सञ्चालन भईरहेका छन् ।

अमेरिका, जापान जस्ता मुलुकहरुमा पनि एसेम्बल गरेर नै पछि मात्र औद्योगिक रुपमा विकास भएको हो । बैगलादेश, श्रीलंका लगायतका मुलु्क पनि एसेम्बलबाट विस्तारै आफ्ना उत्पादन बनाउने चरणमा उक्लिँदैछन् । हामीकहाँ पनि यसको विकास हुने क्रममा छ । यसले रोजगारी सिर्जना गर्नुका साथै स्पेयर पार्टसको उत्पादन हुने वातावरण बन्छ । बजारमा माग बढ्न थालेसँगै हामीले उद्योगमा रुपान्तरण हुने अवसर पाउँछौं । जुन कुरा मुलुकको अर्थथन्त्रका लागि ज्यादै महत्वपुर्ण हुन जान्छ । दुई पाङ्ग्रे सवारीको एसेम्बल आशाजनक अवस्थामा छ, अब चार पाङ्ग्रेको पनि विस्तारै सुरु होला । यसले हामीलाई औद्योगिकरणको बाटोमा डोर्याउनेछ भन्ने मलाई लाग्छ ।

सवारी साधन आयात गर्दा र मुलुक भित्रै एसेम्बल गर्दा तयारी उत्पादनको मूल्यमा के कस्तो फरक देख्नु भएको छ ?

पक्कै पनि आयात गर्दाभन्दा एसेम्बल गर्दा लागत केही कम पर्ने भएकाले एसेम्बलबाट तयार हुने सवारी साधनको मूल्य कम पर्नुपर्ने हो । तर हामीकहाँ सवारी साधन आयात र पाटर््स् आयातका साथै अन्य धेरै विषयमा प्रोत्साहनमुखी नीति नभएका कारण आजका दिनमा नै एसेम्बल भएका उत्पादन सस्तो मूल्यमा बिक्री बितरण गर्ने अवस्था बन्यो भन्ने अवस्था छैन । केही सहुलियतका कुराहरु आएका छन्, यसको नतिजा आउन थालेपछि त्यसको असर उपभोक्तासम्म पर्नेमा विश्वस्त छु । सेक्टर विकासको क्रममा रहेकाले आजको भोलि नै सबै कुरा सोचेजस्तो भईहाल्छ भन्ने त हुँदैन । तर, आशावादी हुनुपर्छ ।

तपाईहरुको छाता संस्था नाडाको आवाज पछिल्ला वर्षहरुमा कमजोर हुनुको कारण के हो जस्तो लाग्छ ?

पक्कै पनि नाडालाई विगतमा जुन किसिमको महत्व दिने गरिन्थ्यो, संस्थाको जुन किसिमको उचाई थियो, आज त्यसमा कमी आएको छ । हिजोका दिनमा नाडाले कुरा राख्न खोज्दा राज्यले प्राथमिकताका साथ सुनिदिने र सरसल्लाह गर्ने गरेकोमा अहिले अवस्था त्यस्तो छैन । सदस्यता र परिवार विस्तारका हिसाबले भने अहिले नाडा बृहत बन्दै गईरहेको छ ।

एकताको भावनाको कमीका कारण यस्तो अवस्था आएको हो कि जस्तो लाग्छ । अझ त्यसमा चुनावमै जानुपर्ने अवस्थाले पनि मलजल गरेको जस्तो आभाष हुन्छ, यसले एकताको भावनामा ह्रास ल्याउँछ । चुनावमा जानैपर्ने बाध्यात्मक अवस्था नबन्ने हो भने पनि संस्थाको गरिमा उच्च हुन्थ्यो कि जस्तो लाग्छ । यो भन्दै गर्दा हामी अहिले पनि चुनावको संघारमा छौं । व्यक्तिगत रुपमा जेसुकै भए पनि संस्थाका लागि यो उत्तम विकल्प होइन ।

यो अवस्थामा नाडालाई बलियो अनि प्रभावकारी संस्थाका रुपमा अघि बढाउनुपर्ने चुनौती छ । अर्कातिर व्यवसायीहरुबीच आफैंमा द्वन्द छ । आयातकर्ता र वितरकका बीचमा अनि स्पेयर्स पार्टस्वाला साथीहरुका बीचमा पनि आआफ्नै द्वन्द छन् । यो प्रवृति समग्र सेक्टरमा छ ।

सरकारले छिनछिनमा नीतिगत व्यवस्थाहरुमा पर्ने परिमार्जनको समस्या अर्कातिर छँदैछ । भर्खरै एलसी खालेर सामान आउन पाएको हुँदैन, सरकारले त्यसिको नीति नै परिवर्तन गर्छ । यसले पनि व्यवसायी र बजारलाई प्रभावित पारिरहेको छ । यस्ता यावत विषयलाई केन्द्रमा राखेर प्रष्ट भिजन सहित अब नाडा अघि बढ्नुपर्छ । जसले संस्थाको शीर उचोँ बनाउने त छँदैछ, समग्र व्यवसालाई पनि प्रवद्र्धन र संरक्षण गर्दै बजारको विकासमा पनि योगदान पुग्छ ।

तपाईले भनेजस्तै छिनछिनमा नीतिगत व्यवस्थामा संशोधन हुँदा तपाईहरुसँग राज्यले छलफल र संवाद गर्ने गरेको छ कि छैन ?

बजेटका समयमा अनि भन्सारका विषय जोडिँदा चैं हामीसँग राज्यले सल्लाह गर्ने गरेको छ । तर यहाँ नाडाको माध्यमबाटभन्दा पनि व्यक्तिगत रुपमा व्यवसायीहरुसँग बढी समन्वय हुने गरेको देखियो । नाडा कमजोर हुनुको प्रमुख कारण यो पनि हो । “जसको लाठी, उसैको भैंसी” भन्ने किसिमको प्रवृति यहाँ देखिएको छ । नाडाभन्दा यहाँका सदस्यहरु बलियो बन्दा समग्र व्यवसायका विषयमा नाडाले गर्ने लबिङभन्दा व्यक्तिगत रुपमा व्यवसायीले गर्ने लबिङ बलियो भएका कारण समग्र सेक्टरलाई नभई त्यस्ता बलिया साथीहरुको चाहना अनुसार मात्र कतिपय व्यवस्था भएको देखिएको छ ।

संस्थाको लागि यो राम्रो विषय होइन । नाडाले एउटा सुझाव दिन्छ, सम्बोधन हुँदा कुनै निश्चित व्यवसायीको हीतमा मात्र सम्बोधन भईरहेको हुन्छ । यसले सीमित व्यक्तिलाई त सहज हुन्छ होला, तर यही व्यवसायमा रहेका अरु धेरै साथीहरुलाई भने मार परिहरहेको छ । नाडालाई वाइपास गरेर भित्रका साथीहरुले आफ्नो प्रभावमा काम गराइरहेका छन्, समग्र सेक्टर र संस्थाका लागि कुनै पनि हालतमा यो राम्रो कुरा होइन ।

विद्युतीय सवारी साधनको आयातका सम्बन्धमा गरिएका व्यवस्थाहरुमा पछिल्लो समय पटक पटक भएका परिमार्जनलाई कसरी लिनु भएको छ ?

मैले भर्खरै भनेको कुरा यो समस्याको एउटा पाटो हो । एउटा अटो व्यवसाय गर्ने घरानाको प्रभावमा राज्यले नीतिगत संशोधन गर्ने परिपाटीको विकास भएकाले त्यस्ता व्यवसायीको पक्षमा कदम चाल्दा समस्या भएको हो । यसमा राज्यलाई पनि लागेको अर्को विषय के हो भने ग्यासोलिन तथा पेट्रोलियमबाट चल्ने सवारी साधनमा २४० देखि २६० प्रतिशतसम्म भन्सार तिरेर आयात भईरहेका छन् ।

विद्युतीय सवारी साधनको आयात बढेर पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात घट्ने अवस्था देखेर राज्यले यताबाट उठाउँदै आएको करलाई विद्युतीय सवारी साधनतर्फ डाइभर्ट गर्न विद्युतीय सवारीको करमा अस्वभाविक वृद्धि गर्यो । त्यसले विद्युतीय सवारी साधनको आयात करिब करिब ठप्प अवस्थामा पुग्यो । यसको दवाब पछि राज्यले फेरि केही समयको अन्तरालमा त्यसलाई परिमार्जन गरेको छ । तर विद्युतीय सवारीको आयात भने पहिलेको अवस्थामा फर्किन सकिरहेको छैन । तर त्यो संशोधन सम्मानजनक छ, यसलाई स्वागत गरिसकेको अवस्था हो । विस्तारै बजार पनि सोही अनुसार अघि बढ्ने अपेक्षा गर्न सकिन्छ । तर अब फेरि राज्यले अघिल्लो पटकको जस्तो विद्युतीय सवारी साधनको कर नीति उल्ट्याउनु हुँदैन । सरकार परिवर्तन हुन नपाई हाम्रा साथीहरुले नै लबिङ गरेर त्यस्ता विषयमा आफु अनुकुल वातावरण बनाउन खोज्ने भएकाले भर पर्ने अवस्था नहुनु बिडम्वनाको विषय हो ।


तपाई अहिले नाडा नेतृत्वका लागि दौडमा हुनुहुन्छ । सफल हुनु भएको खण्डमा तपाईले नै भनेको व्यक्ति हाबी हुने प्रवृत्तिलाई निरुत्साहित गर्दै समग्र सेक्टरको हीतमा कसरी काम गर्नु हुन्छ ?

पक्कै पनि मैले व्यक्तिभन्दा संस्था बलियो हुनुपर्छ भनेको हो । त्यस्तो भएन भने नाडा हुनु र नहुनुको अर्थ हुँदैन । संस्था बलियो भयो भने व्यवसायिक एकता कायम हुन्छ अनि नाडाबाट उठ्ने आवाजहरु पनि बुलन्द भएर जान्छन् र समग्र व्यवसायको विकास हुन्छ । त्यसको सिधा सकरात्मक असर व्यवसायीहरुमा पर्छ । यस कारण मेरो प्रमुख लक्ष्य भनेको नाडालाई बलियो अनि समृद्ध बनाउने हो । नाडाको विगतको गरिमा कायम गराउने किसिमले कामहरु गर्नुपर्नेछ । साथै नाडामा हुने सिण्डिकेटको अन्त्य गर्ने चुनौतीलाई चिर्दै अघि बढ्नु छ ।

नाडामा ५ प्रतिशत कर्पोरेट अनि ठूला व्यवसायीहरु छन् भने ९५ प्रतिशत साना तथा मझौला व्यवसायीहरु छन् । यो अनुपात नाडा सदस्यतामा मात्र नभई व्यवसाय सञ्चालन गर्ने क्रममा पनि एक अर्काको प्रतिष्पर्धी बनिरहेको अवस्था छ । यो अवस्थालाई सन्तुलन गर्नका लागि कर्पोरेट र साना तथा मझौला व्यवसायीको पुलको रुपमा काम गर्ने सोचका साथ नेतृत्वमा जाने जमर्को गरेको छु । यसमा साथीहरुको सहयोग रहनेमा विश्वस्त छु ।

सदस्यताका आधारमा नाडा विस्तारित हुँदै गर्दा मोफसलका व्यवसायीहरुको आवाज अनि सम्पर्क कम हुने गरेको गुनासो धेरै आउने गरेको छ नि ?

केही समय अघिसम्म यो समस्या धेरै थियो । अहिले प्रदेशमा संरचना बनिसकेको अवस्थामा केही सहज अवस्था बनिसकेको छ । तर सदस्यता बढ्ने क्रममा रहँदै गर्दा त्यो संरचनासँग पनि समन्वय गर्ने पाटोलाई धेरै व्यवस्थापन गर्नुपर्ने तड्कारो आवश्यकता देखिएको छ । यसका लागि मैले नाडाको सचिवालयको संरचनामा व्यापक सुधार गर्ने योजना अघि सारेको छु । प्रदेश संरचनालाई अधिकार सम्पन्न बनाउने सम्बन्धमा मेरो विशेष पहल हुनेछ ।

व्यवसायी साथीहरुसँगको कम्युनिकेशनका लागि डाटा हब बनाएर सबै साथीहरुसँगको सम्पर्क स्थापित गर्ने योजना पनि बनेको छ । यसले सबै साथीहरुको व्यवसायको तथ्य र तथ्याङ्क नाडामा भएपछि कुनै पनि नाडाबाट कुनै पनि प्रकृतिको व्यवसायमा जोड्न साथीहरुसँग सम्पर्क स्थापित हुन्छ । अर्कातिर साथीहरुले पनि समन्वय र सहकार्यका लागि उचित वातावरण पाउनु हुन्छ ।

मोफसलका साथीहरुसँग निरन्तर सचिवालयलाई संवादमा राख्नका लागि अलग्गै समिति गठन गरेर त्यसलाई अधिक सक्रिय बनाउनुपर्छ भन्ने मेरो मान्यता छ र म नेतृत्वमा पुगेँ भने यी कामहरु मेरो पहिलो प्राथमिकतामा पर्छन् ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 


Share on:


Comments