सरकारको कामप्रति निजी क्षेत्र असन्तुष्ट, नीतिगत दलाली बढेकोमा चिन्ता

-नोटबजार संवाददाता।
काठमाडौं ।
१५मंसिर, २०७८, बुधबार / Dec 01, 2021 16:06:pm

निजी क्षेत्रका अगुवाहरुले वर्तमान सरकारको काम र सरकारले लिएका नीतिहरुप्रति चर्को असन्तुष्टी जनाएका छन।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहमा बोल्दै निजी क्षेत्रका तीन प्रमुख छाता संस्थाका अध्यक्षहरुले सरकारको काम र निजीक्षेत्र मैत्री नभएको गुनासो पोखेका हुन ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष शेखर गोल्छाले सरकार गठन भएको लामोसमयसम्म पनि उद्योग तथा आपूर्तिमन्त्रीको नियुत्ती नुहँदा निजी क्षेत्र अन्योलमा परेको र यसले निजीक्षेत्र सरकारको प्राथमिकतामा नपरेको बताए ।

‘कोरोनाले निजी क्षेत्रको प्रतिस्पर्धा गर्ने क्षमतामा ह्रास आएको छ । ३/४ महिना भयो मन्त्री पाएका छैनौं । यसले यो क्षेत्रले प्राथमिकता पाएको छैन भनेर बुझ्न सकिन्छ । जुन तरिकाले अर्थतन्त्र अगाडि बढ्नु पर्ने हो त्यस्तो अवस्था छैन,’ उनले भने । गोल्छाले कोभडिपछि अर्थतन्त्र तंग्रन थालेको भएपनि पर्यटन, संचार, मनोरञ्जन तथा साना तथा मझौला व्यवसायहरुीको समस्या यथावत रहेको उल्लेख गरे ।

उनले तरलता अभावका कारण व्यापार व्यवसाय विस्तार हुन नसकेको गुनासो गर्दै सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्नका लागि तरलता सुपथ हुनुपर्नेमा जोड दिए । उनले तरलता सुपथ भएमा मात्र लक्षित आर्थिक वृद्धि हासिल गर्न सकिने बताउँदै तरलता विस्तारका सरकारले विकास खर्च बढाउनुपर्ने सुझाब दिए ।

चार महिनासम्म विदेशी साहयता नआउनु दुखद रहेको बताउँदै उनले एमसीसीमा राष्ट्रवाद खोज्न नहुने तर्क गरे । विजुली खेर जाने अवस्था आउन नदिन पनि एमसीसी आउन जरुरी रहेको उनको भनाई थियो ।

यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी नीतिगत परिवर्तन गर्दा निजीक्षेत्र समस्यामा पर्ने गरेको बताए । उनले भने, “ हामीले कुनै पनि नीतिगत परिवर्तन गर्दा सरोकारवालसँग कुराकानी गर्नुपर्छ, उनीहरुको आफ्नो मत बुझ्नुपर्छ, त्यसपछि नीतिगत निर्णय लिँदा कार्यन्वयन सहज हुन्छ। ”

उद्योगको विस्तारबाटै आम मानिसको आय आर्जन विस्तार हुने हुँदा, मुलुकको आर्थिक अभिवृद्धिका लागि सरकारले नीतिगत सुधारहरु गर्दै लग्नुपर्ने उनको भनाई थियो ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पछिल्लो समय विचौलियाहरुले नीतिगत दलाली गरेर अर्थतन्त्रमा चलखेल गर्ने काम गर्दैै आएको बताए । उनले पछिल्लो समय बीमा समितिको नीतिले नेपालको अन्तर्राष्ट्रिय कम्पनीसँगको सम्बन्ध बिग्रिने चिन्ता व्यक्त गरे । बीमा समितिले बीमा कम्पनीहरुलाई सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीहरुसँग मात्रै गर्न दिएको निर्देशनले नीतिमा दलाली बढेको उनको भनाई थियो ।

‘बीमा समितिको नीतिले हाम्रो अन्तर्राष्ट्रिय कम्पनीसँगको सम्बन्ध बिगार्न खोज्यो, यसले सरकारलाई फाईदा हुन्छ भने छलफल गरौं, मुलुकको अर्थतन्त्र सानो तर जोखिम बढी भएकोले यो व्यवस्थाले बीमा कम्पनीलाई भलो हुँदैन,’ उनले भने ।

त्यस्तै, सीडी रेसियोको व्यवस्थाले तरलताको अभाव भएकोले उनले सीसीडीमै फर्किन वा सीडी ९५ प्रतिशत बनाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिए । उनले मुलुकममा लगानीको वातावरण बनाउनका लागि सरकारले ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 




Share on:


Comments