उद्योग वाणिज्य महासंघले अर्थतन्त्रलाई गतिशिल बनाउन नव उत्थान सम्मेलन गर्दै

-नोटबजार संवाददाता।
काठमाडौं ।
२६मंसिर, २०७८, आईतवार / Dec 12, 2021 17:07:pm

नेपाल उद्योग वाणिज्य महासंघले आगामी वुधबार काठमाडौंमा कोभिड पश्चातको नव उत्थान सम्मेलनको आयोजना गर्दैछ ।

विश्वव्यापीरूपमा देखापरेको कोभिड १९ को महामारी प्रकोपबाट अर्थतन्त्रमा परेको प्रभावका साथै अर्थतन्त्रलाई अझबढी गतिशिल तथा चलायमान बनाउन हुनुपर्ने व्यवस्थाहरू सहित छलफल गर्ने उद्देश्यले महासंघले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो ।

कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रहरू पर्यटन तथा मनोरञ्जन, साना, घरेलु तथा मझौला उद्यम व्यवसाय, निर्यातका साथै बैंकिङ क्षेत्रमा केन्द्रित रहेर उक्त सम्मेलन आयोजना गरिने महासंघले जनाएको छ । सम्मेलनको मुख्य थिम बदलिंदो परिस्थितिमा तिव्र र दिगो आर्थिक बृद्धिको विकास रहेको छ ।

सम्मेलन, अर्थतन्त्रलाई पुनः चलायमान कसरी बनाउने, समस्या समाधानका उपायहरू के–के हुन सक्छन, कसरी थलिएको व्यवसाय क्षेत्रलाई पुनरूत्थान मात्र नभई व्यवसायमा थप उर्जा भर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत हुनेछ ।

सम्मेलनको प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्मा रहेका छन । महासंघको सचिवालय टेकूमा मंसिर २९ गते बुधबार, विहान ९ः३० बजेदेखि शुुरु हुने सम्मेलन सांझ ६ बजेसम्म चल्ने छ । सम्मेलनको उद्घाटन शत्रलाई अर्थमन्त्री शर्मा, महासंघका अध्यक्ष शेखर गोल्छा, आइएलओ नेपालका निर्देशक डा. रिचर्ड हवार्ड र महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनबाट क्षेत्रगत रूपमा आएका सुुझावहरूलाई समेटी तत्काल कार्यान्वयनमा लैजान सरकारका सम्बन्धित अधिकारीहरू समक्ष पेश गरिने महासंघले जनाएको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments