एघार हजार परीक्षण गर्दा १५७० सङ्क्रमित

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२४माघ, २०७८, सोमबार / Feb 07, 2022 19:34:pm

पछिल्लो २४ घण्टामा एक हजार ५७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ११ हजार ३६५ परीक्षण गर्दा एक हजार ५७० जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार १११ पुगेको छ । पछिल्लो समय ६ हजार १४६ जना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख १५ हजार ४८९ पुगेको छ ।

१३ को निधन, एक लाख बढीले लगाए खोप

सङ्क्रमणबाट आज १३ जनाको निधन भएको छ । हालसम्म ११ हजार ८२७ जनाको सङ्क्रमणका कारणले निधन भएको छ । यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १३ पुगेको छ ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की, बाके, रुपन्देही, र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन् ।

ती जिल्लामा सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, मकवानपुर, धादिङ, नुवाकोट, नवलपरासी पूर्व, स्याङजा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, दाङ र कञ्चनपुर रहेका छन् । शून्य सङ्क्रमित भएको एक मात्र जिल्ला मनाङ रहेको छ । हाल होम आइसोलेशनमा ३८ हजार ८८३, संस्थागत आइसोलेशनमा एक हजार २२८, सघन उपचार कक्षमा २५५ र भेन्टिलेटरमा ४२ जनाको उपचार हुँदैछ ।

आज एक लाख ७८ हजार ५७९ जनाले खोप लगाएका छन् । यस्तै यस अवधिमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज छ लाख २९ हजार २४१ मात्रा लगाइएको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments