एक्काइस करोड राजस्व चुहावटको आरोपमा पाँच जना विरुद्ध मुद्दा दायर

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
४बैशाख, २०७९, आईतवार / Apr 17, 2022 18:45:pm

राजस्व अनुसन्धान विभागले २१ करोड राजस्व चुहावट गरेको आरोपमा पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ ।

भन्सार चोरी पैठारी गरी भारतीय कपडा लगायतका मालवस्तुहरु काठमाडौँ ल्याई बिक्री वितरण गरी राजश्व चुहावट गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो ।

उच्च अदालत पाटनमा आइतबार विभागले २१ करोड २ लाख ३८ हजार ३७३ रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा ४२ करोड ४ लाख ७६ हजार ७४६ रुपैयाँ बराबरको माग दाबी लिई मुद्दा दायर गरेको हो ।

उनीहरुले मूल्य अभिवृद्धि करतर्फ ९ करोड ९६ लाख ८८ हजार ७०३ रुपैयाँ तथा आयकर तर्फ ८ करोड २७ लाख ४५ हजार ८२७ र अन्यतर्फ २ करोड ७८ लाख ३ हजार ८४२ रुपैयाँ राजस्व चुहावट गरेको विभागको आरोप रहेको छ ।

विभागका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ का रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, काभ्रेपलाञ्चोक पाँचखालका श्यामवहादुर श्रेष्ठ, वीरगञ्ज महानगरपालिका वडा नम्बर २ को विष्णु एण्ड विकेश सप्लायर्सका रमाशंकर गुप्ता, मनोज साह कलवार, गुल्मीका विष्णु एण्ड विकेश सप्लायर्सका प्रोप्राइटर विष्णु प्रसाद घिमिरे र काठमाडौंको ताहाचलमा बसोबास गर्ने भारतीय आधारकार्ड भएका अमितकुमार अग्रवाल विरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ।

विभागले विगो रकमको शतप्रतिशत जरिवानाको माग दाबी गर्दै उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments