राजस्व छलीमा ३६ करोडको मुद्दा दायर

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
११बैशाख, २०७९, आईतवार / Apr 24, 2022 13:47:pm

राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा चार फर्ममा संलग्न पाँच जना विरुद्ध ३६ करोड ११ लाख ३७ हजार रूपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

विभागले मनिष कुमार अग्रवाल, हितेष कुमार अग्रवाल, प्रमित महर्जन, बिमल अग्रवाल, दिपेन्द्र कुमार अग्रवाल विरुद्ध राजस्व छली गरेको अभियोगमा बैशाख ११ गते आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

शुभलक्ष्मी इन्टरनेशनल समेतका चार फर्महरुले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो ।

ती फर्महरुमा संलग्नहरुले मूल्य अभिवृद्धि करतर्फ ५ करोड ४४ लाख ९३ हजार ३५३, आयकरतर्फ १२ करोड ६० लाख ७५ हजार गरी जम्मा हुन आउने कुल बिगो १८ करोड ५ लाख ६८ हजार ६४३ बिगो कायम गरी उक्त विगोको शतप्रतिशत जरिवानाको माग दाबी गरिएको छ ।

राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो सहित) को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ (क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टी हुन आएको भन्दै विभागले कायम भएको विगो र सजायको मागदाबी सहित आइतबार मुद्दा दायर गरेको हो ।

विभागका अनुसार मनिष कुमार अग्रवाल शुभलक्ष्मी इन्टरनेशनलको प्रोपराइटर तथा गणपति ट्रेड लिंक, एच बि ट्रेड एण्ड सप्लायर्स र एमके इन्टरनेशनल समेतको मुख्य कारोबारी हुन् । उनको काठमाडौं महानगरपालिका वडा नं १३, बाफल स्थायी बसोबास रहेको विभागले जनाएको छ ।

यस्तै हितेष कुमार अग्रवालले एचबि ट्रेड एण्ड सप्लायर्सको साझेदार तथा गणपति ट्रेड लिंकको खाता सञ्चालक र एमके इन्टरनेशनलको कारोबारमा संलग्न भई राजश्व चुहावटमा सहयोग पुरयाएका थिए । उनीको काठमाडौं महानगरपालिका वडा नं.१३, बाफल स्थायी बसोबास रहेको छ ।

प्रतिवादी प्रमित महर्जन एमके इन्टरनेशनल प्रोपराइटर हुन् । उनी नागार्जुन नगरपालिका वडा नं.३ स्थायी बसोबास भएपनि कामपा १३ बाफल चंखुमार्ग बसोबास गर्ने गरेका थिए ।

यस्तै एचबि ट्रेड एण्ड सप्लायर्सको साझेदार बिमल अग्रवाल र गणपति ट्रेड लिंकको प्रोपराइटर दिपेन्द्र कुमार अग्रवालको पनि राजश्व छलीमा संलग्नता देखिएको विभागले जानकारी दिएको छ ।

विमल अग्रवाल गौर नगरपालिका वडा नम्बर १ र रौतहट, गौर १ का दिपेन्द्र कुमार अग्रवाल दुबै हाल कामपा वडा नं. १३, बाफल बसोबास गर्दै आएका थिए ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments