क्रिप्टोको 'थ्रेट' ले विश्वका केन्द्रीय बैंकहरु आफ्नै डिजिटल करेन्सी लन्च गर्ने तयारीमा

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२६बैशाख, २०७९, सोमबार / May 09, 2022 17:39:pm

विश्वव्यापी रुपमा चर्चामा रहेको क्रिप्टोकरेन्सीलाई चुनौती दिँदै केन्द्रीय बैंकहरुले डिजिटल करेन्सी लन्च गर्ने तयारी गरेका छन् । बैंक अफ इन्टेरनेश्नल सेटलमेन्टले गरेको एक अध्ययन अनुसार ९० प्रतिशत देशहरुले आफ्नै डिजिटल करेन्सी लन्च गर्ने कार्य अघि बढाएका छन् ।

अध्ययनमा समाविष्ट ८१ बैंक मध्येका ७३ बैंकहरुले आफ्नै डिजिटल करेन्सी लन्च गर्ने प्रक्रिया अघि सारेका छन् । यसका साथै ५० प्रतिशत भन्दा धेरै बैंक तथा वित्तीय संस्थाहरु डिजिटल करेन्सी विकासको अन्तिम चरणमा पुगेको बताएका छन् ।

विश्वव्यापी रुपमा दुई तिहाइ भन्दा बढी देशहरुले डिजिटल करेन्सी लन्च गरी परिक्षण कार्य अघि बढाउन तयार रहेको अध्ययनले बताएको छ । डिजिटल करेन्सी लन्च भएको खण्डमा केन्द्रीकृत भुक्तानी प्रणालीमा जस्तो सीमीत सञ्चालन समय जस्तो असुविधाबाट प्रयोगकर्ताहरु मुक्त हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

डिजिटल मुद्रा लन्च गर्ने देशहरुमा चीन अगाडि रहेको छ । विश्वव्यापी रुपमा प्रसिद्ध क्रिप्टोकरेन्सीको तुलनामा चिनियाँ नागरिकहरुले डिजिटल युवानलाई बढी प्राथमिकता दिएका छन् । तसर्थ चिनियाँ केन्द्रीय बैंकले डिजिटल युवान लन्च गरी यसको लोकप्रियता बढाउन विभिन्न कार्यहरु अघि सारेको छ । यसका साथै मलेसिया, थाइल्यान्ड, जाम्बिया, इन्डोनेसिया, मेक्सीको लगायतका राष्ट्रहरुले पनि डिजिटल करेन्सी लन्च गर्ने प्रतिवेदनले जनाएको छ ।

बैंक अफ इन्टेरनेश्नल सेटलमेन्टले सन् २०१९मा गरेको अनुसन्धानमा ८० प्रतिशत केन्द्रीय बैंकहरु डिजिटल करेन्सी लन्च गर्ने तयारीमा थिए । अहिले गरेको अनुसन्धानमा ९० प्रतिशत बैंकहरुले डिजिटल करेन्सी लन्च गर्ने तयारीमा रहेका छन् ।

अनुसन्धानमा संलग्न केन्द्रीय बैंकहरु मध्ये विकसित अर्थतन्त्र भएका देशहरुको तुलनामा विकासशील देशहरु डिजिटल करेन्सीको विकासमा अग्रसर देखिएका छन् । विकासशील अर्थतन्त्र भएका देशहरुमा डिजिटल करेन्सीको विकासले घरेलु भुक्तानी प्रणालीको दक्षता वृद्धि हुने, भुक्तानी सहज र सुरक्षित तरिकाले हुने र वित्तीय समावेशीता कायम हुने भएका कारणले लोकप्रिय हुन पुगेको प्रतिवेदनले जनाएको छ । डिजिटल करेन्सीले भुक्तानी सुरक्षाको प्रत्याभूत गर्ने भएका कारण विकसित देशहरुले डिजिटल करेन्सी लन्च गर्नतर्फ अग्रसर भएका छन् ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments