पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १०/१० रूपैयाँ बढ्यो

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
३१बैशाख, २०७९, शनिबार / May 14, 2022 20:36:pm

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रूपैयाँ मूल्य बढाएको हो। नयाँ मूल्य आज मध्यरातदेखि लागू हुनेछ।

निगमका अनुसार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल समेतको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रूपैयाँ वृद्धि गरेको हो। योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य १५३ रूपैयाँ कायम गरिएको छ। 

निगमका अनुसार एलपी ग्यास तथा हवाई इन्धनको विक्री मूल्य भने हाललाई यथावत राखिएको छ ।

निगमले आज जारी गरेको विज्ञप्तिमा नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा घाटा रहेको तर मट्टितेलमा २ रुपैयाँ ८१ पैसा नाफा रहेको जनाइएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको तर ग्यासमा प्रतिसिलिन्डर एक हजार ५० रुपैयाँ ८ पैसा घाटा रहेको जनाइएको छ । निगमलाई १५ दिनमा करिब पाँच अर्ब १९ करोड अझै घाटा रहेको जनाइएको छ ।

 

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments