चार सय चौवालिस स्थानीय तहको मतपरिणाम छिनोफानो, कुन दलले कति ठाउँमा जिते ?

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
४जेष्ठ, २०७९, बुधबार / May 18, 2022 13:44:pm

देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ४४४ वटामा मतगणना कार्य सकिएको छ । गत वैशाख ३० गते एकसाथ सबै स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ ।

नेपाली कांग्रेसले हालसम्म २०४ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजय हात पारिसकेको छ । मतगणना सकिएकामध्ये ४५.९५ प्रतिशत पालिकामा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

स्थानीय तह निर्वाचनमा प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित हुने दोस्रो ठूलो संख्या नेकपा एमालेका उम्मेदवारको छ । एमालेका उम्मेदवार हालसम्म १२८ स्थानमा विजय भइसकेका छन् । यो भनेको मतगणना सकिएका पालिकामध्ये २८.८२ प्रतिशत हो ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले हालसम्म ८६ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जित निकाल्न सफल भएको छ । हालसम्म मतगणना सकिएकामध्ये १९.३६ प्रतिशत पालिकामा माओवादीका उम्मेदवार विजयी बनेका छन् । नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार हालसम्म ७ पालिकाको प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित भएका छन् । मतगणना सकिएका कूल पालिकामध्ये १.५७ प्रतिशतमा एकीकृत समाजवादीका उम्मेदवारले जितेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले हालसम्म ५ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्ष पद जितेको छ । यो भनेको मतगणना सएिकामध्ये १.१२ प्रतिशत पालिका हो ।

अन्य दल र स्वतन्त्र उम्मेदवारले १४ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना सकिएकामध्ये ३.१५ प्रतिशत पालिका प्रमुख तथा अध्यक्षमा अन्य र स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले भने हालसम्म एउटा पालिकाको पनि प्रमुख तथा अध्यक्ष जित्न सकेको छैन ।

📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments