मर्जरको ‘ट्रेण्ड सेटर’ खेतान समुह, नीतिगत व्यवस्था नहुँदै सफल मर्जरको उदाहरण

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
५जेष्ठ, २०७९, बिहीबार / May 19, 2022 19:05:pm

व्यवसायिक घराना खेतान समुहको 'ग्रुप अफ राज' ले बैंक तथा बीमा कम्पनी मर्जरको सुरुवातकर्ताको पहिचान बनाउन सफल भएको छ । वास्तविकतामा पनि खेतान समुह बैंक/वित्तीय संस्था तथा बीमा कम्पनीको मर्जर गराउने पहिलो व्यवसायिक घराना हो ।

तत्कालिन हाइसेफ फाइनान्स र लक्ष्मी बैंकलाई एक आपसमा मर्जर गराएर बैंकिङ्ग क्षेत्रमा उदाहरण बनेको खेतान समुहले बीमा क्षेत्रमा पनि सोही कदम अघि बढाएको छ ।

यो प्रक्रियामा फरक यति छ की हाइसेफ फाइनान्स र लक्ष्मी बैंकको मर्जर हुँदा कुनै पनि नीतिगत व्यवस्था थिएन । तर, बीमा कम्पनीको मर्जरको प्रक्रिया अघि बढाउने पहिलो निर्णय हुँदै गर्दा नीतिगत रुपमा पनि मर्जरलाई व्यवस्थित र सहजीकरण गरिएको अवस्था छ ।

बैंकिङ्ग क्षेत्रमा सबैभन्दा पहिला विसं २०६१ साउन ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयले लक्ष्मी बैंकमा हाइसेफ फाइनान्स गाभिएको पत्र दियो । तर, अर्थतन्त्रका लागि आवश्यक भन्दा पनि कयौं गुणा धेरै बैंक तथा वित्तीय संस्थको संख्या भएपछि वित्तीय क्षेत्रको जोखिम न्यूनिकरणका विसं २०६८ सालदेखि मात्र मर्जरको नीति लिइएको हो ।

तत्कालीन नेपाल राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टराइले आर्थिक वर्ष २०६२/६३ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुको गुणात्मक विकासको लागि संख्यात्मक विकासको उचित व्यवस्थापन हुनु आवश्यक रहेको भन्दै वाणिज्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने तथा गाभिने प्रक्रिया आवश्यक रहेको औंल्याउदै यससम्बन्धी कानूनी व्यवस्थाबारे पुनरावलोकन गर्ने व्यवस्था गरे ।

त्यसपछिका हरेक जसो मौद्रिक नीतिले गाभ्ने तथा गाभिने सम्बन्धी विषयलाई उठान गरेको पाइन्छ । तर, आवश्यकता औंल्याइए पनि त्यसलाई कार्यान्वयन गर्न आवश्यक नीतिगत व्यवस्था राष्ट्र बैंकबाट तत्कालन हुन सकेन ।

खेतान समुहले सफल मर्जर सम्भव गराएपछि अन्य बैंक वित्तीय संस्थाहरुमा पनि त्यसलाई उदाहरण मानेर मर्जरमा जाने प्रक्रिया सुरु भएको देखिन्छ । खेतान समुहले देखाएको बाटोमा अन्य बैंक तथा वित्तीय संस्थाहरु पनि इच्छुक देखिएपछि सरकारी तवरबाट नै मर्जरको नीति अबलम्बन गरियो । नेपाल राष्ट्र बैंकले विसं २०६८ सालमा मर्जर सम्बन्धी विनियमावली ल्याएपछि बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जाने लहर नै चल्यो ।

वि.सं. २०६० को सुरुवाति देखि २०६८ सालसम्म नयाँ बैंक वित्तीय संस्थाको बाढी नै आयो । तत्कालीन गभर्नर डा. तिलक रावलले आर्थिक वर्ष २०५९/६० को मौद्रिक नीति मार्फत नयाँ बैंक वित्तीय संस्थाको इजाजत अनुमति खुला गरे । पुर्व गभर्नर डा. युवराज खतिवडाले आफ्नो पहिलो मौद्रिक नीति अर्थात आर्थिक वर्ष २०६७/६८ को नीति मार्फत वाणिज्य बैंकको नयाँ इजाजत रोकिदिए । त्यसपछि उनले आर्थिक वर्ष २०६८÷६९ को मौद्रिक नीति मार्फत नयाँ बैंक तथा वित्तीय संस्थाको अनुमति प्रदान गर्ने कार्य स्थगित गरेर संख्यात्मक वृद्धि भन्दा पनि गुणात्मक वृद्धिमा ध्यान दिनुपर्ने उल्लेख गरेका थिए । पछि नयाँ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ आयो । यसले पनि गाभ्ने।गाभिने सम्बबन्धी व्यवस्थालाई थप सहज र व्यवस्थित गरेपछि मर्जरको प्रक्रिया थप सरल र सहज भएको हो ।

बैंक वित्तीय संस्थामा मर्जरको लहर चलेपछि बीमा समितिले पनि जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई पनि मर्जरमा जानसक्ने व्यवस्था गर्यो । त्यसका लागि आवश्यक नीतिगत व्यवस्था पनि गरियो । समितिले विसं २०७६ सालमा बीमक गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका ल्यायो । समितिले निर्देशिका ल्याएको २ वर्ष बितिसक्दा पनि कुनै पनि बीमा कम्पनीले मर्जरमा जाने निर्णय गर्न सकेनन् । यो बीमा निर्देशकाको पहिलो संशोधन पनि भयो तर बीमा कम्पनीहरु मर्जरमा जाने प्रक्रियाको सुरुवात हुन सकेन ।

एभरेष्ट र हिमालयन इन्स्योरेन्सबीच मर्जर प्रक्रियामा हस्ताक्षरपछि सम्बन्धीत कम्पनीका अधिकारीहरू

नीतिगत व्यवस्था भइसक्दा पनि अन्य बीमा कम्पनीका लगानीकर्ताले निर्णय गर्न नसकेको विषयलाई खेतान समुहले नै अग्रसरता देखाएको छ । खेतान समुहकै अग्रसरतामा बैशाख २२ गते बिहीबार एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एभरेष्ट र हिमालयन इन्स्योरेन्सको मर्जर प्रक्रियालाई बीमा समितिले सैद्धान्तिक सहमति समेत दिइसकेको छ । बीमा क्षेत्रको लागि यो नै पहिलो मर्जर प्रक्रियाको सुरुवात हो ।

त्यतिमात्र नभई खेतान समुहकै अग्रसरतामा बैशाख २९ गते जीवन बीमाको त्रिपक्षीय मर्जरको प्रक्रिया समेत सुरु भएको छ । जीवन बीमा क्षेत्रमा पहिलो र बीमा क्षेत्रको दोस्रो मर्जरको रुपमा प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सबीच राजेन्द्र खेतानकै पहलमा प्रारम्भिक सम्झौता भएको छ । यो मर्जर प्रक्रियालाई पनि बीमा समितिले जेठ ३ गते मंगलबार सैद्धान्तिक सहमति प्रदान गरी आवश्यक प्रक्रिया अघि बढाउन अनुमति दिइसकेको अवस्था छ ।

प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स बीचमर्जर प्रक्रियामा हस्ताक्षरपछि सम्बन्धीत कम्पनीका अधिकारीहरू

खेतान समुहले हिमालयन बैंक, लक्ष्मी बैंक, प्राइम लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरन्ससँगै अन्य उत्पादन तथा सेवामुलक उद्योगहरुमा लगानी गर्दै आएको छ । पछिल्लो समयमा बैंक तथा बीमा क्षेत्रका लगानी राजेन्द्र खेतानको नेतृत्वको ‘द ग्रुप अफ राज’ ले हेर्दै आएको छ ।
‘द ग्रुप अफ राज’ का अध्यक्ष राजेन्द्र खेतानले कम्पनीको व्यवसाय बढाउन र सञ्चालन खर्च कम गर्ने उद्देश्यले मर्जरमा गएको बताए । “पहिलो र उदाहरणीय हुन्छांै भन्दा पनि व्यवसाय गर्ने क्रममा आवश्यकता महशुस भएर मर्जरमा गएका हौं,” उनले भने, “मर्जर प्रक्रियामा हुने मुख्य समस्या भनेको बोर्डमा को को व्यक्ति रहने ? अध्यक्ष को हुने ? र प्रमुख कार्यकारी अधिकृत कसलाई बनाउने भन्ने कुराले विवाद आउने हो ।” खेतान सहभागी भएका मर्जरमा तिनै विषयलाई धेरै महत्व नदिएको हुनाले पनि बीमा क्षेत्रको मर्जर पनि सफल हुनेमा उनी विश्वस्त छन् ।

आजभन्दा करिब १८ वर्ष अघि हाइसेफ फाइनान्सलाई व्यवसाय गर्न गाह्रो भएपछि लक्ष्मी बैंकमा मर्जर गराएको खेतानले बताए । अहिले बीमा क्षेत्रमा पहिलो मर्जरको सम्झौता गर्दै गर्दा धेरै नीतिगत व्यवस्था भएको बताउँदै खेतानले भने, “कुनै पनि नीतिगत व्यवस्था नहुँदा पनि सफल मर्जर गराएका थियौं ।” एउटै समुहको लगानी भएको संस्था भएकाले पनि थप सहज भएको उनको भनाइ छ ।

त्यो समयमा फाइनान्स कम्पनीलाई टिक्ने गाह्रो अवस्था थियो । फाइनान्स कम्पनीले रिटेल बैंकिङको कारोबार गर्न नपाउने व्यवस्था थियो । फाइनान्स कम्पनीको काम निक्षेप लिने र कर्जा दिने मात्र थियो । “बैंकिङ्ग कारोबार नै गर्नुपर्छ भनेर लक्ष्मी बैंकमा हाइसेफ फाइनान्सलाई गाभेको हो” खेतानले भने, “मर्जरमा अन्य भन्दा अघि हुन्छौं भन्दा पनि काम गर्दै जाँदा पहिलो बन्न पुग्यौं ।” त्यसले समग्र बैंकिङ तथा बीमा बजारलाई पनि सफल मर्जर सम्भव रहेछ भनेर प्रेरणा पनि दिएको उनले बताए ।

बैंक तथा बीमा क्षेत्रको पहिलो मर्जर गराउने खेतान समुहले आफ्नो व्यवसाय एकीकृत मात्र गरेको छैन । खेतान समुहले गरेका मर्जरलाई आधार बनाएर सरकारले समेत नीति तर्जुमा समेत गरेको छ । त्यति मात्र नभई मर्जरको लहर नै चलाउन समेत खेतानको सुरुवाती कदमले अन्य संस्था तथा लगानीकर्तालाई पनि मर्जर प्रति सकारात्मक बनायो । त्यसका साथै धेरै संस्था भन्दा पनि सुरक्षित र गुणस्तरीय सेवा दिने बैंकिङ्ग तथा बीमा क्षेत्रको विकास खेतान समुहले गरेको मर्जरको निर्णय कोसढुङ्गा नै सबित भएको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 


Share on:


Comments