परिवर्तनकारी सिकाइ र व्यवहारिक शिक्षा, सरकारी–निजी समन्वय कति प्रभावकारी ? 

प्रकृति थापा
काठमाण्डौं
१३असार, २०७९, सोमबार / Jun 27, 2022 13:04:pm

चार वर्षको उमेरमा स्कुलकी गुरुआमाले 'ए फर एप्पल, बी फर बल' भन्दै बोलेको र त्यही सुन्दै, त्यसलाई बारबार उच्चारण गर्दै आर्जन गरेको शिक्षा । 

'ए फर बल', अथवा 'बी फर एप्पल' किन भएन भनेर प्रश्न गर्ने आँट स्कुल पढ्दा सायद कसैलाई भएन । अरुलाई के भयो खै, तर मलाई भने भएन । मैले त्यसरी नै ठूलो ठूलो स्वरमा ए फर एप्पल भन्दै पढेँ र त्यसरी नै मेरो जीवनको औपचारिक शिक्षा सुरु भयो । 

हुर्किँदै–बढ्दै जाँदा कैयौँ विषयमा कैयौँ कौतुहलता जन्मिए तर बाघलाई सिकार गरेर आएको जस्तो देखिने गुरुआमाको अगाडि ती कौतुहलता विलीन भएर गए ।

सबैको अगाडि उभिएर आफ्ना तर्क र विचार स्पष्ट गरी प्रस्तुत गर्ने आँट कहिल्यै पनि आएन । मैले त्यही मात्रै पढेँ, जुन मेरा गुरुहरूले ‘पढ्, यसले धेरै अकं आउँछ र पछि गएर तिम्रो जीवन सफल हुन्छ’ भन्दै पढ्न लगाउनु भयो । त्यही पढेकै भरमा स्कुलमा राम्रो अङ्क पनि आयो । त्यसले घरका पनि खुशी, स्कुलमा पढाउने गुरुहरू पनि खुशी । 'रटन्ते' विद्याका कारण जीवनमा सानै देखि मह्त्वाकांक्षी बन्दै गइयो । 

अहिले फर्केर हेर्दा 'रटन्ते' विद्याले 'बाहिर बाक्लो बोक्रो तर भित्र खोक्रो'  भएको अनुभूति गराउँछ । सफलता त आफूलाई अनि आफ्ना भावनालाई बुझ्नुलाई मानिँदो रहेछ । जसले आफूलाई र आफ्ना इच्छाहरूलाई बुझेर भावी योजना बनाउँदै ती योजनालाई साकार रूप दिन सक्छ, आज उही सफल व्यक्ति कहलिएको छ । 

अहिलेसम्म पनि हाम्रो शिक्षा प्रणालीमा खासै परिवर्तन आएको छैन । एउटा नाबालक ३ वर्षको हुन नपाई विद्यालय जान थाल्छ, आफू भन्दा गहुङ्गो झोला बोकेर । त्यसरी नै 'रट्टा' मारेर पढ्छ र सबैको प्यारो बन्छ । सबै उसँग आशावादी बन्छन् । त्यसमा सबै बालक एकै खालका हुँदैनन् । फलतः ती आशा पूरा गर्न नसकी त्यो नाबालक एक्लिँदै आफ्नो जीवनका तीता भोगाइ झेल्न पुग्छ जुन उसलाई उसको विद्यालयमा कहिल्यै पनि सिकाइएन ।   

समयले फड्को मारेको छ । पहिलेको समयको माग र अहिलेको माग भिन्न हुँदैछ । अहिलेको समय सिर्जनशील योजना बनाएर त्यसलाई व्यवहारमा लागू गर्नेमा केन्द्रत छ । तर हामी अझै पनि सैद्धान्तिक शिक्षा मै अल्झिरहेका छौँ । पुरानै शिक्षा प्रणाली अपनाउँदा हामी आफ्नै प्रवृत्तिका कारण पछि परिरहेका छौँ र नयाँ पुस्तालाई पनि त्यस्तै बनाउन लागिरहेका छौं । आजको यथार्थ औपचारिक शिक्षा केवल लाज छोप्ने एक सरो कपडाको रुपमा सिमीत भएको छ भने व्यवहारिक शिक्षा जीवनयापन गर्न सिकाउने मूल मन्त्र बनेको छ । 

सैद्धान्तिक शिक्षा र व्यवहारिक शिक्षालाई एकबद्ध बनाइ व्यक्तिको सोच, विचार, धारणामा सकरात्मक परिवर्तन ल्याउनु र बौद्धिक विकास मात्रै नभई सर्वाङ्गीण विकास स्वस्थ रुपमा गर्नु नै यो युगले खोजेको शिक्षा प्रणाली हो । यसलाई नै परिवर्तनकारी सिकाइ मान्न सकिन्छ । अबको पढाइ ए फर एप्पल हुन्छ भन्ने जानकारी पाउनुका साथसाथै एप्पलका के कस्ता विशेषता छन् र एप्पलले कसरी फाइदा गर्छ भन्ने बुझाउने किसिमको हुनुपर्छ । जीवनमा आउने समस्यालाई निराश नभई कसरी समाधान गर्न सकिन्छ भन्ने शिक्षा नै आजका बालबालिकाले बुझ्नु पर्ने शिक्षा हो । 

नेपालको सन्दर्भमा व्यवहारिक शिक्षालाई सैद्धान्तिक शिक्षासँग जोडेर अघि बढाउन धेरै कठिनाइहरु छन् । सरकारी विद्यालयमा हुने पठनपाठन र निजी विद्यालयमा हुने पठनपाठनबीच ठूलो भिन्नता भएकै कारण निजी विद्यालयप्रतिको आकर्षण अधिक छ । 

शिक्षामा समावेशीता अझै कायम हुन सकेको छैन । यी विविध समस्याहरुको समाधान गर्न निजी–सरकारी क्षेत्रले समन्वय गरी अगाडि बढ्न जरुरी छ । विभिन्न क्षेत्रमा सार्वजनिक निजी साझेदारी भएका छन् । तर साझेदारी जलविद्युतका परियोजना, प्रसारणलाईन विस्तार, यातायातजस्ता क्षेत्रमा मात्रै सीमित भएका छन् ।

सन् २०१९ मा बनेको शिक्षा नीतिले परिवर्तनकारी शिक्षाको लागि शैक्षिक मोडलहरु तयार गरेको छ । ती मोडलहरु अन्तराष्ट्रिय स्तरमा सुहाउने भएता पनि नेपाली माटोमा सान्दर्भिक हुन नसकेको बुझाई अनुसन्धानकर्ताहरुको छ ।

काठमाडौँ विश्वविद्यालयमा स्कुल अफ एजुकेशन अन्तर्गत मास्टर अफ फिलोसोफी अध्ययन गरिरहेकी र परिवर्तनकारी शिक्षा, यसको महत्व र नेपालमा यसको प्रभावकारीता बारे अनुसन्धान गरिरहेकी ज्योति सिंहको बुझाईमा धरातलीय यथार्थतामा टेकेको मोडेल बन्नु पर्छ । उनी भन्छिन्, “सत्यता र वास्तविकतामा आधारित भएर शैक्षिक मोडलहरुको विकास गर्न नसक्दा र नेपाललाई सुहाउँदो मोडालिटी निर्माण नहुँदा हाम्रो शिक्षा प्रणाली पछि परेको छ । स्पष्ट नीति नियम बनाएर अघि बढ्न नसक्दा र निजी तथा सरकारी क्षेत्रमा विविध कारणले समन्वय नहुँदा भएको शिक्षा नीतिको पनि कार्यान्वयन हुन सकेको छैन । जुन आफैँमा दुखद पक्ष हो ।” 

शिक्षा प्रणालीका यस्तै विषय उजागर गर्दै नीतिगत रुपमा नै व्यवहारिक शिक्षाको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनका मास्टर अफ फिलोसोपीमा अध्ययन गरिरहेका विद्यार्थी र इम्पेरियल वल्र्ड स्कुलको समन्वयमा राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा निजी र सरकारी क्षेत्रको समन्वयका सम्बन्धमा भएको बहसमा सहभागी हुने अवसर मिल्यो । त्यहाँ उठान भएका विविध विषयमा आफुलाई चित्त बुझेको पीपीपी मोडलका आयामले आशावादी बनाएको छ । 

'गर्भमेन्ट एडेड स्कुल मोडल' वा 'स्कुल भउचर प्रोग्राम'

विश्वविद्यालयमा एमफिल अध्ययन गरिरहेका र नेपाली शिक्षा प्रणालीलाई लामो समयदेखि नजिकबाट अध्ययन गरिरहेका शिव अर्यालले परिवर्तनकारी शिक्षामा निजी र सरकारी क्षेत्रको समन्वयमा के–कस्ता मोडल अपनाउन सकिन्छ भन्ने बारेमा आफ्ना धारणा राखे । जहाँ उनले नेपालको सन्दर्भमा 'गर्भमेन्ट एडेड स्कुल मोडल' वा 'स्कुल भउचर प्रोग्राम' उचित हुने र यो मोडललाई कार्यान्वायन गर्न सकेमा परिवर्तनकारी शिक्षा सम्भव रहेको बताए ।

छिमेकी देश भारतमा 'गर्भमेन्ट एडेड स्कुल मोडल' प्रचलनमा छ भने चिलीमा स्कुल भाउचर प्रोग्रामलाई शैक्षिक मोडलको रुपमा प्रयोग गरिएको छ । 

'गर्भमेन्ट एडेड स्कुल मोडल' अन्तर्गत स्थानीय सरकारले भर्ना भएका विद्यार्थी, उनीहरुका आवश्यकताहरुको मापन गरी सरकारी बजेटमा आवश्यक परेका भौतिक संरचनाको विकास गरिदिन्छ र व्यवस्थापन तथा प्रशासनिक काम सरकारको निगरानीमा निजी क्षेत्रलाई जिम्मा लगाइन्छ ।

चिलीमा प्रचलनमा रहेको 'स्कुल भउचर प्रोग्राम' भने 'गर्भमेन्ट एडेड स्कुल मोडल' मा केही प्रावधान थप गरिएको मोडल हो । जसमा 'गर्भमेन्ट एडेड स्कुल मोडल' सँगै विद्यार्थीका लागि आवश्यक पर्ने वस्तु तथा उपकरणको उपलब्धताका लागि सरकारले भउचरहरु उपलब्ध गराउँछ । जसको सहयोगमा विद्यार्थीले आफ्नो अध्ययनलाई थप व्यवहारिक बनाउन सक्छन् ।

यसरी नै नेपालमा पनि काम गर्न सकियो भने सबै विद्यार्थीको लागि शिक्षाको पहुँच बढ्ने, शिक्षामा समावेशीता कायम हुने र अहिलेको समयमा आवश्यक रहेको शिक्षा परिपूर्ति हुनेमा दुईमत देखिँदैन । 

समाधान केन्द्रित सिकाई

परिवर्तनकारी शिक्षा प्राप्त गर्न शैक्षिक प्रणालीमा सुधार गर्नु पर्ने र जबसम्म शैक्षिक प्रणालीमा सुधार हुँदैन तबसम्म जस्तो सुकै मोडल बनाए पनि नतिजा नदेखिने रातो बङ्गला स्कुलकी संस्थापक तथा निर्देशक डा. शान्ता दिक्षित बताउँछिन् ।

परिवर्तनकारी शिक्षाको लक्ष्य नै विद्यार्थीको मनोवैज्ञानिक तथा सामाजिक विकास गरी, समाजका समस्या बुझ्ने गराइनु पर्छ । ती समस्याहरुलाई आफूले आर्जन गरेको शिक्षाले कसरी निराकरण गर्न सकिन्छ र समाजमा कसरी सकरात्मक परिवर्तन ल्याउन सकिन्छ भन्नेमा केन्द्रीत हुनु पर्छ ।

परिवर्तनकारी शिक्षा प्राप्तिका लागि परिवर्तन गर्न इच्छुक विद्यालय प्रशासन, शिक्षक शिक्षिका, अभिभावक र साँच्चिकै परिवर्तन ल्याउन चाहने स्थानीय तहको भूमिका हुन्छ । विद्यालय प्रशासनले विद्यार्थीको बौद्धिक विकाससँगै उसको सर्वाङ्गीण विकासमा ध्यान दिनु पर्ने, शिक्षक शिक्षिकाले अध्यापन गराउँदा विद्यार्थीको विश्लेषणात्मक क्षमता, सिर्जनशीलता, तार्किक क्षमता, भावुकता विकास भएको छ कि छैन भन्ने विषयमा ध्यान पुर्याउने हो भने अहिलेको शिक्षा प्रणालीमा व्यापक सुधार आउँछ ।

यसैगरी स्थानीय निकायले बालबालिकालाई खेल्नको लागि प्राकृतिक वातावरण र नेपाली माटोसँग परिचित गराउन प्रशस्त मात्रामा पार्क तथा खुल्ला स्थलको विकास गर्नुपर्ने हुन्छ । पपरिवर्तनकारी शिक्षाको प्रस्थानविन्दु बालबच्चाले भविष्यमा आफ्ना आवश्यकताको वकालत गर्नसक्ने बनाउनुपर्छ । हामीले उनीहरुका आवश्यकता बुझ्नु पर्ने हुन्छ,’ दिक्षितले भनिन् ।

अब हरेक स्थानीय निकायले शिक्षण संस्थामा गई बालबालिकाले पोषणयुक्त खाजा तथा खाना पाएका छन् या छैनन्, अपाङ्गता भएका तथा अल्पसङ्ख्यक विद्यार्थीलाई के-कस्ता व्यवस्थाहरु गर्न सकिन्छ भन्ने बारेमा बुझेर काम गर्नुपर्ने हुन्छ । शिक्षकहरुलाई आवश्यक पर्ने तालिमहरु दिनुका साथै अभिभावकहरुलाई पनि असल अभिभावक कसरी बन्न सकिन्छ भन्ने तालिम दिन सकेमा परिवर्तनकारी शिक्षाको लक्ष्य हासिल गर्न सकिन्छ । 

परिवर्तनकारी शिक्षा प्रणाली, शिक्षाको सर्वोपरी पहुँच र समावेशीता नहुँदा आज नेपाल खाडी तथा समृद्ध मुलुकहरुका लागि श्रमिक उत्पादन गर्ने 'कारखाना' जस्तै बनेको छ । यो अवस्थाबाट माथि उठ्न शिक्षा प्रणालीमा सुधार हुन आवश्यक छ । शिक्षा प्रणालीमा सुधार ल्याई, एक विद्यार्थीलाई सफल बनाउन आवश्यक पर्ने व्यवहारिक शिक्षाका लागि निजी सरकारी समन्वय त चाहिन्छ नै सर्वपक्षीय सचेतता पनि अत्यावश्यक हुन जान्छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments