दर्जन बढी धितोपत्र ब्रोकरमा बेथिति, आफन्तको नाममा अर्बौं उधारो

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
१३असार, २०७९, सोमबार / Jun 27, 2022 19:46:pm

धितोपत्रको दोस्रो बजार स्थीर नहुनुमा धितोपत्र ब्रोकरको कमजोरी मुख्य देखिएको छ । धितोपत्र दलाल कम्पनीले सेयर मूल्य तलमाथि गराउनेदेखि आफन्तको नाममा आफैँले कारोबार गरी बजार चलाउने अभ्यासले धितोपत्र बजार सधैँ अस्थीर हुने गरेको हो ।

पछिल्लो समयमा धितोपत्र बजारमा देखिएको उतार-चढावमा धितोपत्र दलाल कम्पनीहरु नै प्रत्यक्ष रुपमा संलग्न हुँदै आएको देखिन्छ । ब्रोकरले बैंक वित्तीय संस्थाबाट कर्जा लिएको पैसा मार्फत सेयर तथा घरजग्गामा लगानी गर्ने गरेको देखिन्छ । त्यतिमात्र नभई कर्जाको रकमले सेयर खरिद बिक्रीको राफसाफ गर्ने र लगानीकर्ताबाट उठ्न बाँकी देखाउने गरेको भेटिएको हो । 

धितोपत्र दलाल कम्पनीले ग्राहकको भन्दा पनि आफ्नै कारोबार धेरै गर्ने गरेको एक लगानीकर्ता बताउँछन् । “ब्रोकरले सेयर मूल्य घटाउने बढाउने देखि आफन्तका नामबाट अर्बौंको कारोबार गर्ने गरेका छन्,” ती लगानीकर्ताले भने,“धितोपत्र दलाल कम्पनीको आम्दानी स्रोत सेवा प्रवाह भन्दा पनि धितोपत्रको किनबेच नै मुख्य हो ।” पछिल्लो समयमा धितोपत्र दलाल कम्पनीको चलखेलका कारण नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च १ हजार ७८० रुपैयाँसम्म पुर्याएका थिए ।

नेपाल टेलिकमको सन्दर्भमा बाहिर आएको भएपनि धितोपत्र दलाल कम्पनीले समुह बनाएर धितोपत्रको कर्नरिङ गरेर मूल्य घटाउने बढाउने कामका लागि बैंकबाट लिएको कर्जालाई प्रयोग गर्ने गरेको भेटिएको हो । त्यसका साथै कारोबार रकम बढाउनका लागि समेत ठूलो मात्रमा सेयरको खरिद बिक्री गर्नका लागि समेत ब्रोकरहरुले कर्जाको प्रयोग गर्दै आएका छन् । कारोबार रकम बढाएर कमिसन आम्दानी बढाउने भन्दै लगानीकर्तालाई दुविधामा पार्ने काममा समेत केही धितोपत्र दलाल कम्पनी सक्रिय रहँदै आएका छन् ।

धितोपत्र दलाल कम्पनीमा व्यवसायीक समुह तथा ठूला लगानीकर्ताकै लगानी भएकाले पनि यस्तो खालको बेथिति देखिन थालेको हो । हाल सञ्चालनमा रहेका ५० धितोपत्र दलालहरु मध्ये केही व्यवसायीक घरानाको लगानी रहेको छ भने केहीमा ठूला भनेका लगानीकर्ताको प्रत्यक्ष अप्रत्यक्ष लगानी रहेको छ । ब्रोकर कम्पनीका लगानीकर्ताले पनि धितोपत्र बजारलाई चलाउनमा ब्रोकर कम्पनी प्रयोग हुँदै आएको स्पष्ट छ । यस सन्दर्भमा नेपाल धितोपत्र बोर्डले समेत वार्षिक रुपमा गर्ने अनुगमन र सुपरिवेक्षणमा समेत प्रश्न खडा गरेको छ ।

हाल धितोपत्र बोर्डको अनुगमन जारी रहेको बताउँदै एक धितोपत्र दलालले कारोबार रकम बढाउन ठूला आकारका कारोबार गर्ने गरेको बताए । धितोपत्र दलाल कम्पनीले कारोबार गरेर सेयर मूल्यमा चलखेल गरे-गरेनन् भन्ने सहज रुपमा हेर्नका लागि आफ्नै ब्रोकरबाट कारोबार गर्ने बाटो खुल्ला गरे यस्ता समस्या नहुने उनको भनाई छ । केही धितोपत्र दलाल कम्पनीले उधारोमा कारोबार गर्ने तथा आफन्तको नाममा सेयर कारोबार गर्ने गरेको विषयलाई स्वीकार गर्दै ती ब्रोकरले भने,“केही धितोपत्र दलाल कम्पनीले गरेका गलत अभ्यासले सबैलाई एउटै बास्केटमा राख्न मिल्दैन ।”

धितोपत्र व्यवसायी नियमावली २०६४ अनुसार धितोपत्र दलालले आफ्नो सेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र निजहरुको एकाघर परिवारको सदस्यका लागि धितोपत्रको दलाली सेवा उपलव्ध गराउन सक्ने छैनन् । धितोपत्र दलाल कम्पनीले समग्र बजारको हितका लागि काम गर्नुपर्नेमा अनावश्यक चलखेलमा प्रत्यक्ष संलग्न हुने गरेको भेटिएको हो ।

धितोपत्र दलाली सरकारले संरक्षण गरेको व्यवसाय हो । यसमा पनि उनीहरुले ठूला लगानीकर्तासँग सेवा शुल्क नलिने तथा उल्टै कमिशन दिने गरेका छन् । धितोपत्रको खरिद र बिक्रीको मात्र काम गर्ने धितोपत्र दलाल कम्पनीले सेयर मूल्य समेत तलमाथि गराउने गरी कारोबार गर्ने गरेको स्रोतले जानकारी दिएको छ । “आफन्तका नामबाट अर्बौंको कारोबार गर्ने र धितोपत्र बजारलाई आफू अनुकुल चलाउने जस्तो गम्भिर क्रियाकलापमा प्रत्यक्ष सहभागिता हुने गरेको पाइएको हो” स्रोतले भन्यो,“त्यति मात्र नभई धितोपत्र दलाल कम्पनीले बैंक वित्तीय संस्थाबाट लिएको कर्जाको दुरुपयोग समेत गरेको भेटिएको हो । बैंक वित्तीय संस्थाबाट लिएको कर्जा जग्गामा लगानी गर्ने र धितोपत्रको कारोबार उधारोमा गराउने गरेको देखिन्छ ।”

गत आर्थिक वर्षमा ५० ब्रोकरको कुल आम्दानी ७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । हाल धितोपत्र दलालको सेवा शुल्क औसत ८० प्रतिशत भन्दा माथि नाफा रहने गरी कायम गरिएको स्रोतको भनाई छ । त्यसमा पनि ब्रोकरहरुले ठूला तथा संस्थागत लगानीकर्तालाई कारोबार कमिसन फिर्ता गर्ने गरेका छन् । सरकारद्धारा संरक्षित व्यवसायले सेवा शुल्कमा विभेद नगरोस भनेर नै शुल्क तोकिएको भएपनि केही धितोपत्र दलाल कम्पनीले काम गरेको देखिँदैन । गत आर्थिक वर्षमा सनि सेक्यूरिटीजले मात्र करिब ८ करोड रुपैयाँ कमिसन फिर्ता गरेको स्रोतको दाबी छ ।

“ब्रोकरको उठ्न बाँकी पैसा निकै ठूलो मात्रामा रहेको छ,” स्रोतले भन्यो,“ब्रोकर अवस्था अनुसार कर्जा लिनुपर्ने देखिँदैन तर ब्रोकरले कर्जा लिएर व्यक्तिका नाममा सेयर कारोबार गर्ने गरेका छन् ।” एउटा धितोपत्र दलाल कम्पनीको एक अर्ब रुपैयाँ सम्म उठ्न बाँकी रहेको जानकारी समेत स्रोतले दिएको छ ।

धितोपत्र दलाल कम्पनीको पछिल्लो अवस्थामा उठ्न पर्ने रकम धेरै र तीर्न बाँकी रकम थोरै भएको अवस्था छ । उठ्न बाँकी रहेको पैसा पनि अधिकांश धितोपत्र दलालले आफन्तहरुको नामको रहेको स्रोतको दाबी छ । “आफन्तका नाममा उधारो कारोबार गर्ने अनि कम्पनीका नाममा उठ्न बाँकी भनेर देखाइराख्ने गरेका छन्,”स्रोत भन्यो, “ब्रोकरले आफन्तको नामबाट प्रति व्यक्ति ४ देखि ६ अर्बसम्मको कारोबार गरेको अवस्था छ । धितोपत्र ब्रोकरले नै धेरै कारोबार गर्ने भएपनि किन्नका लागि मूल्य घटाउने र बिक्री गर्नका लागि बढाउने खेलमा धितोपत्र दलाल कम्पनीहरु सक्रिय रहेको स्रोतको निष्कर्ष छ ।

कर्जा लिएर दुरुपयोग गरेको सन्दर्भमा धितोपत्र बोर्ड र नेप्से समेत जानकार भएपनि मौन रहेकाले पनि यस्ता गतिविधि बढ्ने गरेको देखिन्छ । पछिल्लो समयमा करिब ८ धितोपत्र ब्रोकरको अध्ययन हुँदा दलाल व्यवसायीले उधारो र बैंकको कर्जा बजारलाई प्रभावित पार्नका लागि प्रयोग भएको छ । अध्ययन अनुसार भिजन सेक्युरिटिजले ३ देखि ४ जनाको नाममा २ देखि ६ अर्बसम्मको कारोबार गरेको देखिन्छ । यो कारोबार पनि भिजन सेक्यूरिटजिका सञ्चालकका आफन्त रहेको स्रोतको दाबी छ । धितोपत्र दलाल नम्बर ५८ अर्थात नासा सेक्यूरिटिजबाट हुने अधिकांश कारोबार सञ्चालककै हुने गरेको समेत स्रोतको ठहर छ ।

धितोपत्र बोर्डले यस्तो अभ्यास तथा धितोपत्र ब्रोकरमा बाँकी रहेको रकमको छानबीन तथा एक व्यक्तिका नाममा भएको ठूलो कारोबारको सम्बन्धित निकायले स्रोत खोज्नुपर्ने देखिन्छ । धितोपत्र बजारमा भएका यस्ता अभ्यास बढ्नु भनेको धितोपत्र बोर्डको कमजोरीले हो । बजारको स्थीरताका लागि धितोपत्र बोर्डले तत्काल धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षणलाई सबल र प्रभावकारी बनाउन आवश्यक देखिन्छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments