धितोपत्र बोर्डको अनुगमन र सुपरिवेक्षणमा प्रश्न, बोर्डले नभेटेका कमजोरी अन्य निकायले औंल्याए

नोटबजार संवाददाता
काठमाण्डौं ।
१५असार, २०७९, बुधबार / Jun 29, 2022 18:00:pm

नेपाल धितोपत्र बोर्ड धितोपत्र दलाल कम्पनीहरुले धितोपत्रको मूल्य नै प्रभावित गर्ने गरी काम गरेको विषयमा बेखर छ । बोर्डले वार्षिक रुपमा सुपरिवेक्षण गर्दा समेत धितोपत्र दलाल कम्पनीहरुले गर्ने गलत अभ्यासको पहिचान गर्न नसकेको हो ।

पछिल्लो समयमा धितोपत्र दलाल कम्पनीले आफन्तको नाममा कारोबार गर्ने, ठूलो मात्रमा उधारो कारोबार गर्ने, लगानीकर्तालाई कमिशन फिर्ता दिने, बैंक वित्तीय संस्थाबाट लिएको कर्जालाइ धितोपत्रको मूल्य बढाउन र घटाउन प्रयोग गर्ने गरेको भेटिएको छ । तर, धितोपत्र बोर्डले गरेको सुपरिवेक्षण प्रतिवेदनमा त्यस्तो बेथितिको कुरा कुनै पनि आएको देखिँदैन ।

बोर्डले गत आर्थिक वर्षमा धितोपत्र बोर्डमा पेश गरेको प्रतिवेदन तथा विवरणहरुका आधारमा १० वटा धितोपत्र व्यवसायीको छनौट गरी पाँच वटामा स्थलगत सुपरिवेक्षण गरेको छ । बोर्डले १० ब्रोकरको छनोट गरेको भएपनि कोभिड-१९ को कारण देखाउँदै छनौटमा परेका अन्य धितोपत्र दलाल व्यवसायीको निरीक्षण गर्न नसकिएको जनाएको छ ।

सो निरिक्षणबाट बोर्डले कुनै पनि कैफियत भेटेको देखिँदैन । तर, धितोपत्र दलाल कम्पनीले समग्र बजार सूचक घटाउने बढाउने देखि कारोबार रकम बढाउन र धितोपत्रको मूल्यलाई घटाउने बढाउने गरेको बोर्ड तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कै अधिकारीहरु बताउने गरेका छन् ।

सरकारी निकायले नै धितोपत्र दलाल कम्पनीको विवरण अध्ययन तथा अनुगमन गर्दा आफन्तको नाममा आफैँले कारोबार गर्ने गरेको पत्ता लागेको हो । त्यतिमात्र नभई धितोपत्र दलालले कर्नरिङ गर्ने तथा सेयर मूल्य बढाउने र घटाउनका लागि बैंकको ऋण प्रयोग गरेको आरोप सेयर लगानीकर्ताहरुले लगाउने गरेका छन् ।

पछिल्लो समयमा धितोपत्र बजार सूचक २ हजार ६ सयको हाराहारीमा रहने भएपनि धितोपत्र दलाल कम्पनीका कारण ३२ सय सम्म पुगेको लगानीकर्ता बताउँछन् । सेयर बजारको पछिल्लो बुलमा धितोपत्र ब्रोकरको चलखेलका कारण नेपाल दुरसञ्चार कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी लगायतका कम्पनीको सेयर मूल्यमा अस्वभाविक सुधार आएको लगानीकर्ताहरु बताउँछन् ।

धितोपत्र दलाल कम्पनीमा व्यवसायीक समुह तथा ठुला लगानीकर्ताकै लगानी भएकाले पनि यस्तो खालको बेथिती देखिन थालेको हो । हाल सञ्चालनमा रहेका ५० धितोपत्र दलालहरु मध्ये केही व्यवसायीक घरानाको लगानी रहेको छ भने केहीमा ठुला भनेका लगानीकर्ताको प्रत्यक्ष अप्रत्यक्ष लगानी रहेको छ । ब्रोकर कम्पनीका लगानीकर्ताका कारणले पनि धितोपत्र बजारलाई चलाउनमा ब्रोकर कम्पनी प्रयोग हुँदै आएको स्पष्ट छ । यस सन्दर्भमा नेपाल धितोपत्र बोर्डको समेत वर्षिक रुपमा गर्ने अनुगमन र सुपरिवेक्षणमा समेत प्रश्न खडा गरेको छ ।

चालु आर्थिक वर्षका लागि धितोपत्र बोर्डले अहिले पनि सुपरिवेक्षण गरिरहेको छ । अहिले धितोपत्र दलाल कम्पनीको काम कारबाहीको इन्सपेक्सन चलिरहेको बताउँदै धितोपत्र बोर्डका एक अधिकारीले भने,“धितोपत्र दलाल कम्पनीले आफ्नो नाममा कारोबार गरेको लगानी फिर्ता गरेको वा धितोपत्र बजारलाई प्रभावित गर्ने गरी सेयरको किनबेच गर्ने गरेको विषयमा जानकारी छैन ।”

हाल चलिरहेको सुपरिवेक्षणले ब्रोकरले गलत अभ्यास गरेको भए आउने ती अधिकारीले बताए । धितोपत्र दलाल कम्पनीले आफन्तको नाममा कारोबार गरेको भनिए पनि कानुनी कागजात पूरा गरेको हुनाले कारबाही नै गर्नका लागि पनि कानुन अनुसार भएकाले समस्या रहेको समेत ती अधिकारीले जानकारी दिए ।

कारोबार रकम बढाउन ठूला आकारका कारोबार गर्ने विषयलाई धितोपत्र दलाल कम्पनीले पनि स्वीकार गरिसकेको अवस्था छ । कारोबार रकम बढाउनका लागि किनिएको सेयर खरिद गर्दा मूल्य घटाउने र बिक्री गर्दा बढाउने अभ्यास भएन भन्ने अनुमान पनि गर्न सकिँदैन । केही धितोपत्र दलाल कम्पनीले उधारोमा कारोबार गर्ने तथा आफन्तको नाममा सेयर कारोबार गर्ने गरेको विषयलाई ब्रोकरहरुको समेत स्वीकारोक्ती छ ।

धितोपत्र व्यवसायी नियमावली २०६४ अनुसार धितोपत्र दलालले आफ्नो सेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र निजहरुको एकाघर परिवारको सदस्यका लागि धितोपत्रको दलाली सेवा उपलव्ध गराउन सक्ने छैनन् । त्यसैगरी धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ पाँचौ संशोधन अनुसार पनि धितोपत्र बजारलाई असर गर्ने तथा लगानीकर्तालाई प्रभावमा पार्ने गरी धितोपत्र व्यवसायीले सेयर किनबेच गर्न हुँदैन ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्रोतका अनुसार ब्रोकरले आफन्तका नामबाट अर्बौंको कारोबार गर्ने र धितोपत्र बजारलाई आफू अनुकुल चलाउने जस्तो गम्भिर क्रियाकलापमा प्रत्यक्ष सहभागिता हुने गरेको जानकारी दियो । सरकारद्धारा संरक्षित व्यवसायले सेवा शुल्कमा विभेद नगरोस् भनेर नै शुल्क तोकिएको भएपनि सो धितोपत्र दलाल कम्पनीले काम गरेको देखिँदैन ।

“ब्रोकरको उठ्न बाँकी पैसा निकै ठूलो मात्रामा रहेको छ,” स्रोतले भन्यो,“ब्रोकरको अवस्था अनुसार कर्जा लिनुपर्ने देखिँदैन तर ब्रोकरले कर्जा लिएर व्यक्तिका नाममा सेयर कारोबार गर्ने गरेका छन् ।” ब्रोकरले आफन्तको नामबाट प्रति व्यक्ति ४ देखि ६ अर्बसम्मको कारोबार गरेको जानकारी दिँदै स्रोतले अधिकांश धितोपत्र दलाल कम्पनीले बजार खुलेदेखि बन्द नहुँदासम्म आफ्नै कारोबार गर्ने गरेको बताए ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments