जिफन्टले चारवर्षमा २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने 

नोटबजार संवाददाता
काठमाण्डौं ।
१०श्रावण, २०७९, मंगलवार / Jul 26, 2022 18:42:pm

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले आगामी चार वर्षभित्रमा २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्ष्य सहित देश व्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । 

वैदेशिक रोजगारीमा रहेका, सबै प्रकृतिको ज्याला रोजगारी र स्वरोजगारीमा रहेका गरी २० लाख श्रमिकलाई कोषमा जोड्न सकिने जिफन्टको ठहर छ । यसका लागि लक्ष्य २० लाख अभियान सञ्चालन गर्ने जिफन्टको योजना छ । 

जिफन्टको आठौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको आगामी चार वर्षको कार्यक्रम प्रस्तुत गर्दै नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले स्वास्थ्य बीमाको प्रचार गर्ने, उपचारमा सहयोग गर्ने र प्रिमियम सङ्कलनमा हस्तक्षेप गर्ने योजना पनि बनाएको जानकारी दिए । 

जिफन्टले विभिन्न कलेजका विद्यार्थीलाई होटल, चेन रेस्टुराँमार्टमा तालिमे (इन्र्टन) का नाममा शुल्क लिएर इन्र्टनशीप गराइने गरेको भन्दै यो अन्यायपूर्ण काम भएकाले त्यसरी काम गर्नेहरुलाई तलब दिलाउने अभियान पनि चलाउने निर्णय गरेको छ । ‘तालिमेलाई तलब’नामको सो अभियान सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताए । 

ज्याला रोजगारीलाई मर्यादित बनाउने, श्रम अडिट कार्यान्वयन गर्न दबाब सिर्जना गर्ने लगायत अभियान पनि सञ्चालन गर्ने जिफन्टले जनाएको छ । यसैगरी पालिका तहमा श्रमिक पञ्जिकरणका लागि पनि तीव्रता दिने कार्यक्रम जिफन्टले  पारित गरेको छ । 

वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई अन्यायमा पर्न नदिन सीमा पारीको समस्या: सङ्गठन र सफलता भन्ने कार्यक्रम पनि जिफन्टले सञ्चालन गर्नेछ । युवा र महिलालाई ट्रेड युनियन आन्दोलनमा जोड्न पनि अभियान नै सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसैबीच जिफन्टको काठमाडौँमा सम्पन्न भएको आठौं राष्ट्रिय महाआधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ राष्ट्रिय कमिटी चयन गरेको छ । अधिवेशनले उपाध्यक्षहरुमा विदुर कार्की, जनक चौधरी, जितेन्द्र श्रेष्ठ, कमल गौतम, मञ्जु कुमारी थापा मगर र सीता लामालाई चयन गरेको छ ।

महासचिवमा लक्ष्मण शर्मा चयन हुनु भएको छ । उप महासचिवमा नरनाथ लुईंटेल र पदेन उपमहासचिवमा कमला तामाङ, सचिवहरुमा हरिबहादुर कार्की, कृष्णबहादुर केसी, स्मृति लामा, महेन्द्रलाल श्रेष्ठ, बेली  माया घले, तारा निधि पन्त र पदेन सचिवमा विजया खड्का चयन भएकी छन् । यही साउन ७ देखि १० गतेसम्म आयोजना भएको महाधिवेशनमा देशभरका झण्डै ५०० प्रतिनिधि सहभागी थिए ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments