दोहोरो नियामक र चुक्ता पूँजीको व्यवस्था हटाउन ब्रोकरको माग

नोटबजार संवाददाता
काठमाण्डौं ।
२०श्रावण, २०७९, शुक्रबार / Aug 05, 2022 16:18:pm

धितोपत्र दलाल कम्पनीहरुले दोहोरो नियामकीय व्यवस्थालाई हटाउन आवश्यक रहेको औंल्याएका छन । हाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ब्रोकर कम्पनीको नियामक हुँदा कार्यगत समस्याहरु देखिएपछि एक मात्र नियामक हुनुपर्ने उनीहरुको माग हो ।

धितोपत्र दलाल कम्पनीलाई धितोपत्र बोर्ड र नेप्सेले नियमन गर्ने भएकाले कुनै पनि काम समयमा हुन सकेको छैन । ब्रोकरले धितोपत्र सम्बन्धी स-सानोे कामका लागि पनि बोर्ड र नेप्सेको चक्कर काट्नु पर्ने अवस्था छ । धितोपत्र बोर्ड र नेप्सेको दोहोरो नियमनका कारण वर्षौदेखि निवेदन दिएका दलाल कम्पनीका शाखा कार्यालय सञ्चालनको अनुमती समेत रोकिएको एक ब्रोकरले बताए ।

धितोपत्र दलाल कम्पनीले शाखा खोल्न तयार भएपनि नियामकहरुका कारण अहिले सम्म रोकिएको बताउँदै एक ब्रोकरले भने,“धितोपत्र बोर्डले अनुमती दिने अधिकार नेप्सेबाट लगेको ४ वर्ष भन्दा धेरै वितीसक्दा पनि कुल ब्रोकरले १२ वटा मात्र शाखा सञ्चालनको अनुमती पाइएको छ ।”

धितोपत्र दलाल कम्पनीलाई शाखा मात्र नभई सव ब्रोकर तथा एजेन्ट मार्फत पनि काम गर्न पाउनु पर्ने माग उनीहरुले गरेका छन। ब्रोकरहरुले ७७ वटै जिल्लामा शाखा विस्तार गर्न चाहेको भएपनि नियामकका कारण नै रोकिएको गुनासो छ । ५० धितोपत्र दलाल कम्पनीले ३ सय भन्दा धेरै शाखा खोल्नका लागि २०७५ मै आवेदन दिएको भएपनि धितोपत्र बोर्डले त्यसलाई अघि बढाएको छैन ।

प्रक्रियामा रहेका धितोपत्र दलाल कम्पनीका शाखालाई अड्काएर धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुको चुक्ता पूँजी २० करोड देखि १५० करोडसम्म कायम गरेको छ । तर, धितोपत्र दलाल कम्पनीले चुक्ता पूँजीको भन्दा पनि नेटवर्थ हेर्न सुझाएका छन । त्यसका साथै उनीहरुले नयाँ कार्यक्षेत्रका लागि नेटवर्थ अनुसार जोखिममा आधारीत पुँजीको व्यवस्था गर्न आफुहरु तयार रहेको बताउँदै आएका पनि छन् ।

हाल देशभरीमा ५० धितोपत्र दलाल कम्पनीका ५६ शाखा सञ्चालनमा छन् । थप १५ शाखा सञ्चालनका लागि अन्तिम स्वीकृतीको पर्खाइमा छन् । हाल धितोपत्र दलाल कम्पनीले १२१ स्थानबाट धितोपत्र किनबेचको सेवा दिँदै आएका छन भने ७ प्रदेशका ३१ जिल्लामा रहेका ४० मूख्य सहरमा धितोपत्र दलाल कम्पनी पुगेका छन् ।

हाल सञ्चालनमा रहेका ५० धितोपत्र दलाल कम्पनी मध्ये २ करोड चुक्ता पूँजी र ५ करोड भन्दा थोरै नेटवर्थ भएकाको संख्या ३ रहेको छ । त्यसैगरी २ करोड रुपैयाँ भन्दा धेरै चुक्ता पूँजी र ५ करोड भन्दा धेरै नेटवर्थ भएका दलाल कम्पनीको संख्या ४७ छ ।

हाल सञ्चालनमा रहेका ब्रोकर मध्ये २३ कम्पनीको चुक्ता पूँजी ५ करोड भन्दा माथि र नेटवर्थ १० करोड भन्दा धेरै रहेको छ । त्यसैगरी ३ धितोपत्र दलाल कम्पनीको चुक्ता पूँजी १० करोड भन्दा माथि तथा नेटवर्थ २० करोड भन्दा धेरै रहेको छ भने एक कम्पनीको चुक्ता पूँजी १५ करोड र नेटवर्थ ३० करोड भन्दा धेरै छ ।

📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 


Share on:


Comments