क्रिप्टो कारोबारीको भेटियो विदेशी बैंकमा शंकास्पद लाखौं डलर

नोटबजार संवाददाता
काठमाण्डौं ।
२५श्रावण, २०७९, बुधबार / Aug 10, 2022 15:05:pm

क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा मंगलबार कारागार चलान भएका व्यवसायी अमित श्रेष्ठले विभिन्न विदेशी बैंकमा खाता सञ्चालन गरी शंकास्पद कारोबार गरेको पाइएको छ ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार विशाल सिमेन्टका पूर्वसञ्चालक रहेका व्यवसायी श्रेष्ठले क्यानडाको रोयल बैंकमा १८ लाख ७४ हजार अमेरिकी डलर, अष्ट्रेलियाको कमन वेल्थ बैंकमा १ लाख ९४ हजार डलर जम्मा गरेको देखिएको छ । त्यस्तै रोयल बैंक अफ क्यानडाबाट शेयर कारोबार समेत गरेको भेटिएको छ ।

त्यस्तै नेपालकै एभरेष्ट बैंकमा खोलिएको खाताबाट उनले २ करोड र एनआईसी एसिया बैंकको खाताबाट ६५ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको समेत खुलेको छ । सो रकमलाई समेत संकास्पद मानिएको छ । श्रेष्ठको अर्को एक क्यानडिएन बैंकमा ६७ हजार अमेरिकी डलर र नबिल बैंकमा ६५ लाख रुपैयाँ समेत रहेको पाइएको हो ।

नेपाल प्रहरीका प्रवक्ता दिनेशराज मैनालीका अनुसार श्रेष्ठको स्वामित्वमा कलंकी र लाजिम्पाटमा जग्गा र पानी पोखरीमा एक अपार्टमेन्ट गरी ४ लाख ४९ हजार डलरको सम्पती पनि फेला परेको छ ।

नुवाकोटका स्थायी बासिन्दा श्रेष्ठ मंगलबार काठमाण्डौं जिल्ला अदालतको आदेश अनुसार कारागार चलान भएका छन् ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments