कृषि औजार कारखाना ब्युँताउन अर्थमन्त्रीले खोजे महावीरको साथ

Note Bazar ३१श्रावण, २०७९, मंगलवार / Aug 16, 2022 11:15:am

करिव २ दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना पुन सञ्चालनमा ल्याउन अर्थमन्त्री  जनार्दन शर्माले राष्ट्रिय आविश्कार केन्द्रको सहयोग खोजेका छन् । केन्द्रका अध्यक्ष महावीर पुन  र अर्थमन्त्री जनार्दन शर्माबीच अर्थ मन्त्रालयलमा भएको भेटमा शर्माले पुनलाई केन्द्र सञ्चालनका लागि आवश्यक अध्ययन गर्न आग्रह गरेका हुन् ।

भेटमा अर्थमन्त्री शर्माले सरकारले सो कारखाना सञ्चालन गर्नुपर्ने आवश्यकता देखेको र यसलाई कृषि औजार आविश्कार केन्द्रका रूपमै विकास गर्न चाहेको बताएका थिए ।

आविश्कार केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरूको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरूको आविश्कार गर्ने सम्भावना रहेको बताएका थिए ।

कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविश्कार केन्द्र समेत बनाउने अर्थ मन्त्रीको योजनामा आविश्कार केन्द्रले आवश्यक समयोग गर्ने प्रतिवद्धता जनाएका छन् । “कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाई आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने औजारहरू समेत निर्माण गर्न सकिन्छ, उनले भने ।

कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत सञ्चालन हुने  गरि आधुनिकीकरण समेत गर्न सकिने पुनले बताए । अर्थ मन्त्री शर्माले राष्ट्रिय आविश्कार केन्द्रको अध्ययनको सुझाव अनुसार सरकारले छिट्टै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताए ।  

कृषि कार्यमा प्रयोग हुने मानव, पशु र यान्त्रिक शक्तिबाट सञ्चालन हुने सस्तो, सरल, तथा सुलभ तरिकाबाट भूगोल सुहाउँदो कृषि यन्त्र र उपकरण उत्पादन गरी आयात प्रतिस्थापन गर्ने तथा कृषि कृषि क्षेत्रमा रोजगारी सृजना गरेर आय आर्जन क्षमता बढाउने उद्देश्यका साथ नेपाल सरकार र तत्कालीन सोभियत संघको संयुक्त लगानीमा २०२१ सालमा  कृषि औजार कारखाना वीरगञ्जमा स्थापना भएको थियो ।

२०४८ सालमा निजीकरण भएको कृषि औजार कारखानालाई २०५१ फागुनमा निजिकरण फुकुवा गरी सञ्चालनमा ल्याइएकोमा २०५३ आषाढसम्ममा उद्योग न्यून क्षमतामा सञ्चालनमा  थियो । सो कारखाना २०५९ सालदेखि भने पूर्ण रुपमा बन्द भएको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।



Share on:


Comments